निरन्तर कोसिस
म चिप्लिन्छु,
लड़छु अनि उठ्छु
म झर्छु,
छरिन्छु अनि समेटिन्छु
लड्दा लागेका चोटहरू
टुट्दा बसेका दागहरू
न मलमले घट्छ
न पुछेर हट्छ
त्यै पनि
म एक निरन्तर कोसिस
माकुराझैँ
एक त्यान्द्रो जालोमा झुन्डिँदै
फेरि झर्दै, फेरि चढ्दै,
आशाका अनगिन्ती लहराहरू समाउँदै
म निरन्तर कोसिस गरिरहन्छु ।
घोटी रहन्छु ती दागहरू
दली रहन्छु ती मलमहरू
थकानका हरेक निःश्वासहरूले
पसिनाका हरेक थोपाहरूले
उत्साह गुमाए पनि
म मेरा हरेक पाइलाहरूलाई,
हरेक निराशाहरूलाई
आशाको त्यान्द्रोमा झुन्ड्याउँदै हिँड्ने
एक निरन्तर कोसिस हुँ
एक निरन्तर कोसिस हुँ ।
० ० ०
यो बस्ती
यो सामन्तीहरूको बस्ती
यहाँ मदिरा र धुवाँको गन्ध ।
यो कोलाहलपूर्ण बस्ती
यहाँ गिद्दहरूको मेला ।
यहाँ सन्तको छाला ओढी
घुरिरहेछन् ब्वाँसाहरू ।
यो रवाफी नवाबीहरूको बस्ती ।
यो सामन्तीहरूको बस्ती ।
यहाँ बज्दैन वीणा शारदाको
न त मुर्चुंगा अनि झन्कार पायलको
नग्नताको निर्लज्ज नृत्य
ओहोरदोहोर जिउँदा लासहरूको ।
यहाँ मूल्य लाग्दै बिक्छन्
जिउँदा लासहरू
यो त लुट्ने र लुटाउनेको बस्ती
यहाँ नारा लाग्छ समानताको
तर हुन्छ पूजा दासत्वको !
यो मुकुन्डोधारीहरूको बस्ती ।
यो झुटा र फटाहाहरूको बस्ती
यहाँ जालझेलको खेती हुन्छ
रंगीचंगी बत्तीका किरणहरूमा
यहाँ जीवन सड्छ, गल्छ ।
फेरि पनि बन्छन् यहाँ
आशाका कैयौँ गल्लीहरू
खिइरहन्छन् यहाँ
सपनाका कैयौँ बस्तीहरू ।
तर,
हुँदैन अदलबदल सपनाको यहाँ
यो सामन्तीहरुको बस्ती ।
सन्तको छाला ओढी
घुरी रहेछन् ब्वाँसाहरू
यो रवाफी नवाबीहरूको बस्ती ।
यो सामन्तीहरूको बस्ती ।