site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविता र गीतको कथामा रुमल्लिँदा

पुस्तक बिक्रीका दृष्टिकोणले नेपाली साहित्यको बजार सानो छ । यही सानो पुस्तक बजारमा पदार्पण गरेको एउटा किताब हो, ‘कविताको कथा गीतको कथा’ । लेखक हुन्, चर्चित कवि दिनेश अधिकारी ।

कृतिको नाम सुन्दा वा पढिरहँदा ‘कुन विधाको किताब होला !’ भन्ने अलमले खुलदुली पक्कै हुन्छ । विधाका बारेमा लागेको खुलदुली यथावतै रहन्छ, अन्त्यसम्म पनि ।

सायद यो नयाँ विधा हो, जसको न्वारान हुन बाँकी नै छ ! स्वाद भने जरुर नयाँ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दिनेश अधिकारी नेपाली कविता र गीतका पारखीहरूका लागि लोकप्रिय नाम हो । कर्णप्रिय नाम हो । अझ भनौँ, नेपाली कविता साहित्यको क्षेत्रमा पछिल्लो पुस्तामा धेरै पढिने, सुनिने र खोजिने नाम पनि हो ।

उनै कवि–गीतकार अधिकारीको ‘कविताको कथा गीतको कथा’ यस कृतिभित्र कविताको कथाखण्ड (किताबमा खण्ड वा भाग उल्लेख छैन)मा जम्मा एघार कविताको कथा समावेश छ ।

प्रसंग — एक

विशेषगरी कविता स्वैरकाल्पनिक मात्रै हुन्छन् । यिनको रचनाको कथा हुँदैन । रचनाको गर्भ हुँदैन भनेर भ्रम पाल्ने अनि कवितालाई अत्यन्तै सतही रूपमा लिने वर्गलाई यो किताब पुख्ता प्रमाणको दह्रो चाबुक हो ।

कविता कति शक्तिशाली छन्, कति प्रभावशाली छन् वा कुन अस्तित्व वा वादमा छन् भन्ने कुराको विश्लेषण संग्रह निक्लेकै समयमा कविताका जानकारहरूले धेरै कोणबाट विश्लेषण गरिसकेका छन् ।

विभिन्न कालखण्डमा प्रकाशित कवितासंग्रहबाट छानिएका वा प्रतिनिधि मानिएका वा कवि स्वयंलाई प्रिय लागेका एघार कविताको कथालाई यस पुस्तकको पहिलो भागमा समावेश गरिएको छ ।

४० को दशकमा रचिएका दुई, ५० को दशकमा रचिएका तीन, ६० को दशकमा रचिएका दुई र ७० को दशकमा रचिएका चार गरी जम्मा ११ कविताको कथा पढेपछि पाठकले के पाउने वा के बुझ्ने भन्ने कुरा खासै प्रष्ट रूपमा उल्लेख भएको पाइँदैन ।

तर, यहाँ कविताको रचनाको कथा/रचनाको गर्भ भने सानदार शैलीले प्रस्तुत गरिएको छ । ‘हर्कबहादुर’ जस्तो विद्रोही भावको कविता र त्यसको कथाले आजपर्यन्त अधिकांश नेपालीहरूको टिठलाग्दो दैनिकीलाई उजागर गर्दै गरिबी र असमानताका विरुद्घ जुर्मुराउन अनेकौँ हर्कबहादुरलाई प्रेरणा पक्कै मिल्छ ।

‘नीलो बह’ कविताको कथाले त धेरै व्यवस्था फेरिएर पनि उही नारकीय जीवन बाँच्न बाध्य पारिएका कर्णालीवासीको वास्तविकता र विरोधको स्वरलाई मजबुत तवरले शंखनाद गरेको पाइन्छ ।

कविता ‘खुसी’को कथाले पनि आम नेपालीको गरिबी र वैदेशिक रोजगारीमा विदेशिएका व्यक्ति, तिनको परिवारको चित्र कोरेर सुधारका मार्गहरू प्रशस्त गरिदिएको छ ।

‘सिपाही’ कविताको रचनागर्भले सिपाहीको प्रशंसा र युद्घको कारुणिकता दर्शाउँदै युद्घको अन्त्यका लागि आह्वानको सन्देश प्रवाह गरेको छ । आज पनि रुस र युक्रेनबीच भइरहेको युद्घबाट युद्घ कति भयंकर हुन्छ भन्ने युद्घमा मारिएका सिपाही र त्यहाँका सर्वसाधारणको दुःखबाट बुझ्न आग्रह गरिएको छ ।

‘हट् ! घोडा हट् !’ कविताको कथाले चाहिँ मानिस सम्बन्धभित्र कतिसम्म विवश हुनसक्छ भन्ने दर्शाएको छ ।

‘सेतो सिंह’ कविताको कथा आजका हरेक शासकले पढ्नुपर्ने कथा हो । होइन भने सत्ता, शक्ति र सम्पत्तिको राजबाट अवसानको बाटोमा हिँड्न तयार भए हुन्छ भन्ने सन्देश यसले बोकेको छ ।

‘घर’ कविताको कथाले सबैले आफ्नो घर घरजस्तो बनाउनका लागि त्याग, समर्पण, नेतृत्वजस्ता कुरामा ख्याल राख्न मार्गनिर्देश गर्दछ । यसरी केही कविता र तिनका कथा प्रगतिशील देखिन्छन्/भेटिन्छन् ।

रमरम बौद्विकताले भरिएको ‘आत्मस्वीकृति’ कविता बलशाली भए पनि त्यसको रचनागर्भ र कविताको प्रेरणा भने यथास्थितिवादी भएको पाइन्छ । अत्यन्तै मार्मिक रचनागर्भ बोकेको ‘निःशब्द अभिव्यक्ति’ कविताको रचनागर्भ पनि सन्देशका हिसाबले यथास्थितिवादी नै छ ।

‘युद्वविराम’ कविताको कथामा पनि युद्वको ‘ह्याङओभर’ भरिएको हुँदा पश्चगामी सन्देश बोकेको कविता बन्नु पुगेको छ । कवि दिनेश अधिकारीका सर्वाधिक पढिएका÷सुनिएका कवितामध्येकै पहिलो कविता हो, ‘बिहे : प्रसङ्ग एक’ र ‘बिहे : प्रसङ्ग दुई’ ।

यी कविता पढ्दा/सुन्दा जति आनन्द आए पनि, जति सरल लागे पनि एकान्तमा बसेर यी कविता सुन्ने/पढ्ने पाठकले वैवाहिक जीवनको असन्तुष्टि भाव बोकेको पाउँछन् ।

‘बिहे : प्रसङ्ग एक’ ले विवाहलाई सुरुमा सहयात्राको रूपमा देखाउने प्रयास गरे पनि ‘बिहे : प्रसङ्ग दुई’ ले मानिसलाई वैवाहिक जीवनको अन्त्यका लागि मानसिक रूपमा पार्ने सन्देश बोकेको हुनाले पश्चगामी भावयुक्त कविता र कविताको कथा बनेको छ ।

कविताको कथाभित्रको अर्काे पाटोलाई हेर्ने हो भने कवि सत्तरीको दशकभन्दा पछाडिको समाजसँग नजिक छैनन् कि भन्ने आशंका पैदा गरेको देखिन्छ । यसको प्रमाण लेखकले समावेश गरेका कविता र तिनका कथाको लेखन÷प्रकाशन मितिले आफैैँ बोल्दछ ।

अर्काे अर्थमा भन्ने हो भने कवि अधिकारीको कविता लेखनको दबदबा सत्तरीको दशकबाट कमजोर हुँदै गएकोतर्फ संकेत गर्दछ ।

जेसुकै होस्, कविता लेखेरै ‘मदन पुरस्कार’जस्तो गरिमामय पुरस्कार प्राप्त गरेका अधिकारीको कविता लेखनको यात्रा उनको सर्वाधिक सफल साहित्यिक यात्रा भएको यथार्थ किमार्थ भुल्न सकिँदैन ।

सुन जति नै सानो टुक्रा भए पनि त्यसमा सुनको गुण निहित हुन्छ नै । कुनै दशक कमजोर वा निष्क्रिय हुँदैमा अधिकारीले नेपाली कविता क्षेत्रमा पुर्याएको योगदान कम हुँदैन । सानो हुँदैन । हुनलाई त सूर्यको अवस्था पनि सधैँ समान हुँदैन नि त ।

प्रसंग– दुई

जसरी कथा, कविता, गजल, उपन्यास आदि विधाका आफ्नै सिद्वान्त र शैली हुन्छन्, त्यसैगरी गीतको पनि आफ्नो सिद्वान्त र शैली छ । यद्यपि, गीत लेखेरै जीविकोपार्जन गर्न सकिने अवस्था भने नेपालमा बनिसकेको छैन । केही अपवादबाहेक ।

गीत लेखेरै नाम र सम्मान प्रशस्तै पाइएको भने देखिएको हो । उदाहरण थुप्रै छन् । नेपाली गीत लेखनका क्षेत्रमा रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, दुर्गालाल श्रेष्ठ, नवराज लम्साल, आनन्द अधिकारी, कृष्णहरि बरालजस्ता अब्बल नामहरूको शृंखलामा जसरी जोडे पनि, जसरी गने पनि नछुट्ने अर्को नाम हो, दिनेश अधिकारी ।

स्वरसम्राट नारायण गोपाल, नातिकाजी, गोपाल योञ्जन, दिव्य खालिङ, भक्तराज आचार्य, शम्भुजित बास्कोटका, तारादेवी, शक्तिवल्लभ, रामकृष्ण ढकाललगायत सबैखाले संगीतकार र गायकका लागि शब्द कोरेका अधिकारीको गीतको कथामा दृष्टि दिऊँ ।

‘सोचे जस्तो हुन्न जीवन...’ नेपाली गीतसंगीतमा अजरअमर गीतको दर्जा बनाएको यो गीत नसुन्ने, नगुनगुनाउने स्रोता/व्यक्ति विरलै होलान् । सम्भवतः संसारका हरेकजसो व्यक्तिले जीवनको कुनै न कुनै समयमा यो गीतको भावसँग पक्कै जुध्नुपरेको छ होला !

यो गीतको रचनागर्भले पनि सोही कुरा संकेत गर्छ । यसो भनौँ, यो गीतको भाव र रचनागर्भको कथाले संसारका सबै मानिसलाई जीवनको वास्तविक धरातलमा ल्याएर जीवनकै पाठ पढाउने कथा बोकेको छ ।

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ...’ गीत मात्र हैन, यो सिंगो नेपाल र नेपाली समाजको चित्र हो । भाइचाराको नारा र व्यवहार हो । बन्धुत्वको महामृत्युञ्जय हो । एकताको बन्धन सूत्र, साधन र साध्य पनि हो, त्यो कुरा गीतको कथाले पनि भन्छ ।

बेरोजगारी पीडाको घोषणापत्र, सामाजिक बेथिति र असमानताको कठोर सत्य हो, अर्को गीत ‘रक्सी बेचेँ, आलु बेचेँ...’ । परसंस्कृतिकरणको होलिका दहनको आगोमा सल्किँदै गएको नेपाली समाजलाई आफ्नो मौलिक संस्कृतिको बाटोमा मोड्न सक्ने प्रभावशाली गीत हो, ‘निधारमा लर्काएर सप्तरंगी टीको...’ गीत । यसको कथा पनि संस्कृति संरक्षणमा समर्पित छ ।

युवालाई देश पुनर्निर्माण, देश विकासमा प्रेरित गर्ने अर्को प्रेरणादायी तथा जोसिलो गीत हो, ‘पहाड झुक्नुपर्छ...’ ।

‘कहिले छायासँग खसेँ...’ बोलको गीत र त्यसको कथाले सुन्दर भाव बोके पनि निराशाको उच्चताले गीत र कथा दुवैलाई पश्चगामी सन्देशतर्फ संकेत गरेको पाइन्छ । त्यसैगरी, ‘अघिअघि जिन्दगी...’ बोलको गीत यसको रचनाकथा भावमा सशक्त हुँदाहुँदै पनि सन्देश निराशायुक्त हुँदा जीवनलाई पछाडि फर्कन प्रेरित गरेको पाइन्छ ।

‘जीवन भनूँ त घात छ...’ बोलको गीतको भाव र रचनागर्भ जीवनको कालो पाटोसँग बढी माया गरेको भेटिन्छ । ‘तिमी यसै लजायौ....’ अर्को कालजयी गीत हो । यद्यपि, प्रेमिकाको बयान, प्रेमको सर्त र प्रेमका तुलनामा मात्रै केन्द्रित यथास्थितिको भावयुक्त छ, गीतको भाव र गीतको कथा पनि ।

‘लेक हेर कति राम्रो...’ गीत र यसको कथा प्रकृतिको सुन्दर बयानमा यथास्थितिको भाव बनेको पाइन्छ । प्रेमको खल्लोपना र गरिबीको चिसो अँगालोको वर्णन गरेको पाइन्छ, ‘तिमी जुन रहरले ममा फुल्न आयौ...’ गीतको बोलमा । र, यथास्थितिकै वरिपरि घुमेको पाइन्छ गीतको भाव र गीतको कथा पनि ।

‘लैजा चरी मेरो खबर...’, ‘कत्ति हो कत्ति मायाको बाटो...’, ‘पानी पानी भयो मेरै मन पनि...’ जस्ता बोलका गीत र तिनको कथा औसत प्रेमको कथा, गायक–गायिकाको नाम स्थापित गर्न सफल हुँदा, धेरथोर प्रकृतिप्रणयको कथा बोक्दाबोक्दै पनि गीतको कथाको सन्देशमा चाहिँ यथास्थितिको भाव भेटिन्छ ।

‘बोल बोल पाखाहरू...’ बोलको गीत आजपर्यन्त विभिन्न सांगीतिक, सांस्कृतिक तथा चलचित्रकै प्रयोजनका लागि पटक–पटकको प्रयोगले यो गीत कालजयी गीत हो भन्नेमा कुनै दुविधा छैन । बस्, छ त केवल गीतको माधुर्यता र संगीतको आनन्द र शब्दको महिमा ।

जाँदाजाँदै यति भनूँ, दिनेशले के मात्र गरेनन् नेपाली गीत र कविताका क्षेत्रमा । सरलता, शिष्टता, गम्भीरता, परिमार्जन र प्रयोगधर्मिताजस्ता विशेषतालाई जन्माइ, हुर्काइ परिपक्व बनाइदिए गीत र कविता विधालाई । गीतको कथा लेखन सुरु गरे । कविताको कथा लेखन सुरु गरे ।

कवितालाई अन्तर्राष्ट्रियस्तरमा समेत सशुल्क सुन्ने र सुनाउने अभियानमा जुटेर रचनामा श्रमसहित सम्मानको थिति बसाले । सस्तो लोकप्रियता र क्षणिक आनन्दका लागि गीत र कविताबाहेक अर्को विधा रोजेनन् । बस्, उनी गीत र कविता लेखनका लागि नदी बनिरहे । बगिरहे गीतका शब्द र कविताका भावमा । प्रयास गरिरहे शब्दको सागरमा मिल्न । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro