नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर, पन्ध्र दिनदेखि जम्मा भएका मेल (चिठ्ठीपत्र)हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्ध्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने छुट्ट्याउन र तिनलाई च्यात्न एक दिन नै लाग्न सक्छ । काम लाग्नेहरूलाई पढ्न अर्को थप समय लाग्ने त कुरै नगरौँ ।
होइन, मेलहरू पनि कति आउन सकेका ? अमेरिकामा दिनका दिन मेल न पढेर थुपार्ने हो, काम नलाग्ने मेल नच्यात्ने हो भने एक महिनाको मेलले एकजनालाई छोप्न पुग्नेजति कागज जम्मा हुनसक्छ । क्रेडिट कार्डका अफरहरूले त झनै धुरुक्कै पार्छन् । अनि, प्रचारका कागजहरूको त झन् के कुरा गर्नु र ?
मैले अहिले यहाँ उल्लेख गर्न खोजेको भने नित्यानन्द अंकलले पठाउनुभएको चिठ्ठीको बारेमा हो । चार–पाँच पानाको चिठ्ठी भएकोले तपाईंलाई पढ्न अल्छी लाग्ला, म नै पढिदिन्छु । हुँदैन ?
“प्रिय सुचित्र,
म सजिलै गरी अमेरिकाबाट नेपाल आइपुगेँ । इस्तान्बुलमा पाँच–छ घण्टा ट्रान्जिटमा बस्नु परेकोले यो चिठ्ठी इस्तान्बुल एयरपोर्टमा कुर्दा नै लेख्न भ्याएँ । अमेरिकाको ह्युस्टनबाट राति आठ बजेतिर उडेको प्लेन टर्कीको स्थानीय समयानुसार इस्तान्बुल दिउँसो चार बजेतिर पुगेको पुगेको थियो ।
ह्युस्टनबाट इस्तान्बुल पुग्न बाह्र घण्टा केही मिनेट लागेको थियो । इस्तान्बुलबाट त्यहाँको स्थानीय समयानुसार रातिको करिब दश बजेतिर उडेको प्लेन नेपालको स्थानीय समयानुसार बिहानको सवा सात बजे काठमाडौं पुगेको थियो ।
इस्तान्बुलबाट काठमाडौं पुग्न लगभग सात घण्टा लागेको थियो । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा कार्तिक महिना चलिरहेकोले न जाडो न गर्मी, अति सुन्दर मौसम थियो । नेपाल फर्केपछि, इस्तान्बुलमा लेख्दा–लेख्दै अपुरो रहेको चिठ्ठीमा दुई–चार पंक्ति थपेँ । अनि, त्यो चिठ्ठी स्टिलवाटर जाने कुशल शर्माको हात तिमीले त्यहाँ पाउने गरी अमेरिका पठाएँ ।
आफ्नो देशको भूमिमा टेक्नेबित्तिकै मेरो मन अति नै हर्षित भयो । तिमीलाई नढाँटी भन्ने हो भने मलाई विदेशको बसाइ कहिले पनि राम्रो लागेन । जतिसम्म म विदेश बसेँ, मन कल्पाएर बसेँ । विदेशका सुविधाहरूले मलाई कहिले पनि आकर्षित गर्न सकेनन् ।
आफ्नो जन्मस्थान जहाँ हुर्केँ, खेलेँ, छाडेर विदेशमा कसरी बस्न सक्छन्, मान्छेहरू ? यो प्रश्न मैले आप्रवासमा जहिले पनि सोधिरहेँ आफूलाई, तर चित्तबुझ्दो जवाफ भने कहिले पनि पाउन सकिनँ ।
कहिलेकाहीँ कस्तो लाग्थ्यो भने, विदेशमा सबै खुसी छन्, सुखी छन् । म मात्रै किन दुःखी भएको होला ! मलाई मात्रै, कुकुरलाई झँै घ्यू किन नपचेको होला ? मेरो स्थिति बोकोको मुखमा कुभिण्डो नअटाएको जस्तो किन भएको होला, हे दैव !
बुढेसकालमा काठमाडौंमा, सके दिनहुँ पशुपतिनाथको दर्शन गरेर बसौँ, र जीवनको अन्तिम समयमा प्राण त्याग्दा पनि, अनि खरानी बन्दा पनि, पशुपतिनाथको काखमा, ब्रह्मनालमा प्राण त्याग गरौँ, खरानी बनौँ भन्ने ठूलो धोको थियो मेरो । त्यो धोको अब पूरा होलाजस्तो लाग्दै छ मलाई ।
किनभने, म अब नेपालबाट फर्केर जानेवाला छैन विदेश । छोराछोरी, नातागोता, साथीसम्बन्धीहरूले जतिसुकै आग्रह गरेता पनि, करकापमा पार्न खोजेता पनि मैले अब स्वदेश छाड्दिनँ । यी चिनीका रस हुन्, झिँगालाई झैँ लटपट्याएर राख्छन् यिनले ।
तर, मैले भने कुनै झिँगाले खुट्टा झारेर भागेझैँ गरेँ, भागेँ, रस छाडेर । तर, स्वदेश फर्कन भने मैले सानोतिनो संघर्ष मात्र होइन, युद्ध नै गर्नुपर्यो । महाभारतभन्दा पनि ठूलो युद्ध । बूढीले मलाई घुर्काइन पनि, ‘तपाईंलाई केही भयो भने म छोराछोरी, नातिनातिना छाडेर काठमाडौं आउन सक्तिनँ । अनि बस्नु एक्लै, ओछ्यानमा खोँकेर ।’
छोराछोरीहरूले पनि हामी कोही पनि तपाईंसँग काठमाडौं बस्न आउँदैनौँ भनी तर्साए । सुक्खा जमिन छाडेर हिलोमा किन भास्सिन खोजेको भनी कराए । तर, के गर्नु म त्यहाँ ? विदेशमा, आफ्नो समाजविहीन, एक्लो र निरस जीवनबाट थाकिसकेको थिएँ । पिँजराको सुगा हुन पुगेको थिएँ ।
मेरो वाइफ नेपाल आउलिन् भन्ने मलाई न उहिले विश्वास थियो न त अहिले नै पनि छ । उनले मलाई त्याग्न सक्छिन्, तर विदेशको सुविधासम्पन्न बसाइ त्याग्न सक्दिनन् । यो उमेरमा पनि आइब्रो मिलाउन, नेल्स र पेडिकेयर गर्न मलतिर धाउँछिन् । घरको स्वस्थ्य खानाभन्दा स्ट्रीटको जंक फुड मन पर्छ उनलाई । बाहिर खान रमाउँछिन् ।
फेसबुक उनको चियाजस्तो अम्मल भएको छ । मोडर्न टेक्नोलोजीसँग जहिले पनि अपडेट रहन्छिन् । ल्यापपटप उनको लागि दोस्रो प्राथमिकता हो, पहिलो टेबलेट हो । फोन पनि साधारण होइन, स्मार्ट फोन राखेकी छिन् । एप्पलको लेटेस्ट मोडेल, भरखर बजारमा आएको एक महिना पनि भएको छैन । हो, त्यो फोन छ उनको साथमा ।
कार पनि साधारण होइन, लेक्सस छ उनीसँग । समाजप्रतिको दायित्व हामीले पूरा गर्नुपर्दछ भन्दा मलाई झम्टिन खोज्छिन् । उनलाई चिन्ता छ भने केवल आफ्नो मात्र, बाँकी मानिस जाऊन् भाँडमा, सोच्ने प्रवृत्ति कि छिन् मेरो वाइफ ।
मेरो वाइफले उचालेर नै मलाई अमेरिका पुर्याएको हो, आफ्नो मनले म त्यहाँ पुगेको भने होइन । अरूको प्रगति र धनसम्पत्ति देखेर कहिले ईष्र्या भएन मलाई, मेरो वाइफलाई जस्तो । आफ्नो पनि अति नै धनसम्पत्ति होस् भनी कहिले पनि मलाई डाहा र छटपटी भएन । मलाई त दुःखसुख जस्तो आओस्, आफ्नै माटो मन परेको थियो । आफ्नै हावा र आकाश मन परेको थियो । ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’, मन परेको थियो ।
जसरी भए पनि नेपाल फर्किने भन्ने निर्णय गर्न मलाई बीस वर्ष लाग्यो । र, गएको त्यो बीस वर्षमा ठूलो मनोवैज्ञानिक दर्दको स्थितिमा निरन्तर म रहेँ । उकुसमुकुसमा रहेँ । पीडामा रहेँ ।
सुचित्र, अब म प्रसंग परिवर्तन गर्छु है । तिमीलाई एउटा कुरा सुनाउनु छ र त्यो सुनाउन म आतुर छु । त्यो कुरा मलाई अमेरिकाको, ओक्लहोमा स्टेटको, ओक्लहोमा सिटीमा बस्दा सधैँभरि अचम्म लागिरह्यो ।
त्यो अचम्म के थियो भने सागरमणि दाइको अलि फरक किसिमको व्यवहार । र, त्यो व्यवहार भनेको विदेशमा पनि रमाएर बस्न सक्ने उहाँको लालसा, चाहना, धैर्य, इच्छा वा यी सबै कुराको सम्मिश्रण । साठी–पैँसट्ठी वर्षको उमेरमा पनि सागरमणि दाइ विदेशमा रमाएर बस्नुभएको छ, विनाकुनै गुनासो । विनाकुनै छटपट, विनाकुनै बेचैनी, विनाकुनै पश्चाताप, पच्चिस वर्षदेखि ।
सागरमणि दाइको बसाइ पनि म बस्ने सहर, ओक्लाहोमा सिटीमा नै भएकोले उहाँसँग भेट भइनै रहन्थ्यो, मेरो । म र सागरमणि दाइ नेपालीले आयोजना गरेका प्रायः सबै पार्टीमा हुन्थ्याैँ, बोलाउनेहरूले जसको घरमा पार्टी होस्, हामी दुवैजनाको परिवारलाई नछुटाइ बोलाउँथे ।
पार्टीहरूमा जान मलाई निकै रमाइलो लाग्थ्यो, यस हुनाले पनि, किनभनेँ त्यहाँ समय बिताउन सजिलो हुन्थ्यो, मलाई । छोटो समयका लागि नै भएता पनि एक्लो र निरस जीवनबाट मुक्ति पाइन्थ्यो । धेरैजनासँग भेटघाट, गफगाफ गरेर, सजिलै समय कट्थ्यो । पार्टीहरूमा धेरैजनालाई भेटेर गफ गर्दा नेपाल पुगेझैँ मलाई लाग्थ्यो ।
त्यसैले, कसैले मलाई पार्टीमा बोलायो कि पुगिहाल्थेँ । छेउछाउका सहरहरू– नोरमेन, मोर, एडमन्ड, स्टिलवाटर मात्र होइन, केही परका लटन, मस्कोगी, टल्सासम्म पुगेको छु, पार्टीहरूमा सरिक हुन । त्यति मात्र हो र, एडमोर, ग्यान्सभिल, फोर्टवर्थ, डालससम्म पुगेको छु, पार्टीहरूमा सरिक हुन । दुई–चारपटक त ह्युस्टन, अस्टिन, सान आन्टोनियोजस्ता केही पर रहेका सहरहरूसम्म पनि पुगेँ । तर, आफू कार चलाउन नजान्ने भएकोले जहिले पनि अरूलाई भन्नुपर्थ्यो, कतै जान पर्यो भने ।
जे होस्, धेरै भद्र व्यक्तिहरूले मलाई राइड दिए, झर्को नमानेर । सबैभन्दा बढी राइड भने मुकेशले दिए । मलाई वाल मार्ट पुर्याउने त एक किसिमले भन्ने हो भने उनले जिम्मा नै लिएका थिए । वाल मार्ट पनि म समय बिताउन जान्थेँ । सामान किन्न ज्यादै नै कम जान्थेँ । कहिलेकाहीँ ग्रेहाउन्डको बस पनि चढेँ, परपरका सहरहरूमा जान । आफू हप्तामा दुई दिन मात्र काम गर्ने भएको हुनाले मलाई यताउता हिँड्न सजिलो थियो ।
ओक्लहोमा सिटी र यस वरपरका सहरहरूमा हुने पार्टीहरूमा जहिले पनि सागरमणि दाइसँग मेरो भेटघाट हुन्थ्यो । उहाँलाई देखेर मलाई आफूमाथि कहिले रिस उठ्थ्यो भने कहिले ग्लानि हुन्थ्यो । सागरमणि दाइजस्तो आनन्द मानेर परदेशमा, अमेरिकामा म किन बस्न नसकेको होला भन्ने लाग्थ्यो ।
तर, सागरमणि दाइसँग भने कुरा गर्न मन लाग्दैनथ्यो । किनभने, प्रत्येकपटक मसँगको भेटमा उहाँले मलाई सोध्ने प्रश्न एउटै थियो, ‘नेपाल फर्किने विचार कायम छ कि बदलिनुभयो, नित्यानन्दजी ?’
मेरो उत्तर पनि एउटै हुन्थ्यो सधैँभरि, ‘म त फर्किने निधोमा पुग्नपुग्न आँटेको छु, सागर दाइ । कहिले फर्किने हो, आउँदो एक, दुई वा दश वर्ष पछि, त्यो भने टुंगो हुन सकेको छैन ।’
अनि, मेरो उत्तरमा उहाँका प्रतिक्रिया पनि एउटै हुन्थ्यो, ‘किन जानुहुन्छ अमेरिका छाडेर नेपाल ? यहाँको सजिलो जीवन छाडेर दुःख खान, धुवाँ र धुलो खान । नेपालमा चारैतिर अस्तव्यस्त, बन्द, हडताल, नारा–जुलुस, दाउपेचले भरिएको ठाउँमा, दिन दहाडै हत्या हुने ठाउँमा, खानेपानी, बिजुली, सवारी, सडक आदिको सुविधा नभएको ठाउँमा ।’
उहाँसँग कुरा गर्यो कि नेपालको अस्तव्यस्तताको, नेपाली अस्थिर राजनीतिको अनि नेताहरूको आलोचनमा भरमार शब्दहरूको वर्षा सुरु हुन्थ्यो, उहाँको मुखबाट । एकपटक असह्य भएर मैले भनेँ पनि, ‘आफ्नै देशको आलोचना कति गर्नुभएको, सागर दाइ ! नगर्नुहोस् त्यस्तो ।’
सागरमणि दाइसँग नौलो कुरा केही हुन्थेन । विदेशको सुविधासम्पन्न अमेरिकाको बसाइ र उहाँका छोराछोरीहरूले अमेरिकामा आएर गरेका अति प्रगतिबाहेक । उहाँले भन्ने गर्नुहुन्थ्यो, ‘नित्यानन्दजी, अमेरिकामा सबैभन्दा कम आम्दानी गर्नेले पनि एक महिनाको तलबले चार–पाँचजनाका लागि खान–बस्न लाग्ने खर्च काटेर केही जोगाउन पनि सक्छ । अमेरिकामा कसरी छाक टारौँ र कसरी चाडबाड मनाऊँ भन्ने पीर रहँदैन, कसैलाई । एक अति गरिब परिवारले पनि सवारीका लागि नयाँ कार खरिद गर्न सक्छ ।
अमेरिकमा न कहिले बन्द छ न हडताल नै । यहाँ हिँड्नका लागि चौडाचौडा सडकहरू छन् । अति चौडा र अति लामालामा हाइवेहरू छन् ।
अमेरिकी समाजमा एउटाले अर्कोको चियोचर्चाे गर्दैन, नेपालमा झैँ । कुनै पनि किसिमको काम होस्, काम सानो वा ठूलो भन्ने छैन यहाँ । जस्तोसुकै काम गरे पनि त्यस कामलाई इज्जत दिने गरिन्छ । अमेरिकामा अनेक किसिमका सामाजिक बन्धन छैन । न त कसैले के भन्ला भन्ने पीर नै । अमेरिकाजस्तो सजिलो परिवेशमा बस्न तपार्इंलाई मन नलाग्नु त अचम्म नै हो ।
हेर्नुस् म त अमेरिकामा अति नै रमाएर बसेको छु । तपाईंलाई जस्तो बिनासित्तिको मानसिक पीडा छैन मलाई । सर्वाधिक आनन्द छ, मलाई । दिनभरि घरमा बस्छु । टीभी हेर्छु । इन्टरनेटमा नेपाली दोहोरीगीतहरू सुन्छु । हिन्दी, नेपाली र अंग्रेजी फिल्महरू हेर्छु । आफ्ना जमानाका, खासगरी हिन्दी फिल्महरू बढी हेर्छु । मन लागे अर्को सहरमा घुम्न जान्छु । हप्तामा एक–दुईचोटि मल जान्छु । का साम खासै गर्नुपरेको छैन । छोराबुहारी, छोरीज्वाइँ सबैले बेलाबेलामा पैसा दिन्छन् । त्यसैले मनग्य पुग्छ मलाई ।
त्यसो त हामी दुईजना हस्बेन्ड–वाइफलाई खान–बस्न मेरो रिटाएरमेन्टको पैसाले नै पुग्छ । घरको मोडगेज तिर्नु पर्दैन । सबै भुक्तान गरिसकेको छु । जे होस्, अमेरिकामा मेरो बडो आनन्दमा जीवन कटिरहेको छ । मलाई अमेरिकामा आनन्द नै आनन्द छ । अमेरिकी जीवन मेरो लागि सुन्दर छ । सुविधासम्पन्न छ । अभावविहीन छ । स्वर्गझैँ छ ।’
हुन त अमेरिकामा मेरो स्थिति पनि सागरमणि दाइको जस्तो नै थियो लगभग । मेरो त झन् वाइफको पनि जागिर थियो, मलको एउटा ज्वेलरी पसलमा । अहिले पनि उनी त्यहीँ काम गर्छिन् । मलाई पनि खान–बस्न केही पीर थिएन । लुगाफाटो, फर्निचर, फोन, ल्यापटप छोराछोरीले नै किनिदिन्थे । आफूले कहिल्यै केही किन्नु परेन । लुगाहरू यति बढी हुन्थे कि गुडविललाई डोनेसन दिनुपर्थ्यो, घरमा राख्ने ठाउँ नभएर । छोराछोरीले बेलाबेलामा एयर टिकट पनि पठाइदिन्थे । न्युयोर्क, सिकागो, सन फ्रान्सिसको, लस एन्जलस, लस भेगास सबैतिर पुगेर घुमफिर गरिसकेको छु । रोम, पेरिस, लन्डनजस्ता विश्व प्रसिद्ध सहरहरू पनि मेरा लागि बाँकी छैनन् घुम्नका लागि । विश्वका अनेक सहरहरू घुमेको छु ।
अब म अहिले चलिरहेको यो प्रसंग परिवर्तन गर्न चाहन्छु । सुचित्र, अब म तिमीलाई एउटा महाअचम्म लाग्ने कुरा सुनाउँदै छु । मलाई त निकै अचम्म लाग्यो । तिमीलाई पनि अचम्म लाग्नेछ । यो कुरामा मलाई पक्का विश्वास छ । त्यो अचम्म के हो भने, जब म अस्ति नेपाल फर्किंदा काठमाडांै एयरपोर्ट आइपुगेँ, बिहानको समय थियो । एयरपोर्टमा भिडभाड नहोला भनेको त झन् ज्यादै भिडभाडको सामना गर्नुपर्यो ।
अनि, अर्को समस्या पनि पर्यो मलाई । मेरो ब्यागेज हराएर मैले धेरै समयसम्म खोज्नुपर्यो । धन्न हराएन, ब्यागेज, भेटियो । तर, खोज्न धेरै समस्या भयो । धेरै समय लाग्यो पनि ।
त्यही हराएको ब्यागेज खोज्ने धुनमा मैले अमेरिकाबाट फर्केका एकजना नेपालीलाई भेटेँ । ती व्यक्ति पनि मजस्तै अब नेपालमा नै सधैँ बस्ने गरी अमेरिकाबाट फर्केका रहेछन्, कुराकानीको क्रममा उनले भने । पछि थाहा भयो, अब उनी पनि सम्पूर्ण परिवारलाई उतै छाडेर, एक्लै नेपालमै बस्ने रे ! अमेरिका कहिले पनि नजाने रे ! मैले एक्लै बस्न सक्नुहुन्छ त नेपालमा ? भनी सोद्धा उनले भने– एक्लै बस्छु भन्ने निर्णय गरेर आएको छु । बस्नु त पर्यो नि । बस्छु पनि ।
थाहा छ सुचित्र, मैले एयरपोर्टमा भेटेको ती व्यक्ति पनि ओक्लहोमा सिटीमा नै बसेका व्यक्ति हुन् । अनि, उनको नाम थाहा पाउन तिमी उत्सुक होलाऊ । हैन त ? मैले काठमाडाैँ एयरपोर्टमा भेटेको ती व्यक्ति हुन्, सागरमणि दाइ ।
साँच्चै, सागरमणि दाइ सधैँ नेपाल बस्ने गरी अमेरिकाबाट फर्केका हुन् । उनले खुद मलाई भनेका हुन्, यो कुरा । उनको त्यो नेपाल फिर्तीप्रति निकै आश्चर्य लागेर नै मैले तिमीलाई यो पत्र लेखेको हुँ । आश्चर्य लागेन त तिमीलाई ?
अहिले अमेरिकामा अरू सबै कुरा राम्रो नै होला । नेपाल आएको बेला भने मलाई अवश्य पनि भेट्नु । अहिलेलाई यति ।
नित्यानन्द भट्टराई
बुद्धनगर, काठमाडौं ।
(कथाकार अधिकारीको हालै प्रकाशित कथासंग्रह ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’बाट ।)