शीर्षक हेर्नासाथ नै ट्वाँटवाज पाठक भए कुन अचम्म गरिस् र ? भन्नु हुनेछ र अ–ट्वाँटवाज पाठक भए ‘बाबु–बाजेको बिँडो राम्रै थामिस्, पतित !’ भनी अवश्य नै भन्नुहुनेछ ।
यहाँ, मेरो ध्येय रक्सी खान सिकेर पोख्त भएँ भनी धक्कु लाउनु होइन, अपितु यसरी पनि सिकिँदो रहेछ भनी दुवै थरीलाई अर्थात् सिक्न खोज्नेलाई सजिलो तुल्याइदिनु र त्यसबाट जोगिन खोज्नेहरूलाई सचेत गराउनु हो ।
प्रत्येक अम्मलमा एउटा विशेष विलक्षणता हुन्छ । मानिस अम्मलको दास होइन, अपितुु त्यसमा विद्यमान विशेषताको स्वाद चाखी मजबुर भएको स्वादे हो । उदाहरणको लागि हेर्नुहोस्, गँजडीले चुरोट खाने बानी भएको मानिसभन्दा आफूलाई उच्चस्तरको ठान्दछ, भँगडची रक्सीको गन्ध मन पराउँदैन ।
बियर खान भर्खरै सिकेका बाहुन बाजेले रक्सी खानु पाप ठान्दछन्, स्थानीय जाँडको आफ्नै विशेषता छ । त्यसको अगाडि जानीवाकरको घुट्को चिराइतोको झोलझैँ हुन्छ ।
‘भैरहवा’ र ‘जाउलाखेल’ डिस्टीलरीमा कुनचाहिँ राम्रो भनेर ‘मत’ लिने हो भने पक्ष–विपक्षमा बराबर मत भई ‘गोला’ हाली निर्णय गर्नुपर्ला भन्नु अत्युक्ति होवैन ।
‘मेरो गोरुको बाह्र टक्का’ भनेझैँ आ–आफ्नो अम्मलको पक्षपाती र त्यसको समर्थनमा सान–तिनो भाषण गर्न सक्ने एउटा विशेष प्रतिभा सबै अम्मलीमा हुन्छ ।
अब अम्मलीकै कुरा लिऊँ, बिहान ओछयानैमा एक कप चिया र एक खिल्ली आसा चुरोट पान नगरी शौचालय प्रस्थान गर्ने प्रेरणा नआउने बन्धुहरू यही कान्तिपुरीमा पनि गनिसाध्य छैनन् ।
भात खानेबित्तिकै एक कुड्को सुपारी मर्काउँदा हुने आनन्दको वर्णन कुन कविले के गर्न सक्ला ? पेट ढ्वास्स भएको बखत रत्नपार्कको गुच्चेसिसीवाल सोडाको महत्त्व वायु–विकार भएका भुँडीवालसँग सोध्नुहोस् ।
साँझपख नयाँसडक घुम्ने अम्मल भएको घुमक्कडलाई, कारणवश कुनै साँझ घुम्न नपाउँदा हुने खल्लोपन कस्तो हुन्छ ? बानी भए आफै विचार गर्नुहोस् ।
राति निद्रा ब्युँझी सिरानमुनिको चुरोट सकिएर नपाउँदा आस–ट्रेका ठटाठुटी बटुली त्यसलाई सल्काई निद्रा बोलाउने चुरोटबाजसँग चुरोटको महत्त्व सोध्नुहोस् ।
औषधिस्वरूप साँझपख आधा गिलास (आदर्श मात्रा) ‘ड्राइजिन’ मटन–भुटनका साथ खान पल्केका ‘गोतामे’ बाजेसँग एकादशी र औँसीको दिन उपयुक्त आहार नपाउँदा हुने छटपटीबारे सोध्नुहोस्, कति निन्याउरो मुख लगाई त्यो विरहको वर्णन गर्दछन् ।
अम्मलीहरूमा यो रोगको साथै आफ्नो अम्मलबाहेक अरू अम्मलको कडा आलोचना गर्ने बानी (लाचारी) ठिकै त्यसै गरी पाइन्छ जसरी पद गुमेका नेताले पदमा बहाल रहेकाहरूको विरोधमा तर्क दिने बानी लगाएको हुन्छ ।
उदाहरणको लागि भँगडचीको भाषण सुन्नुहोस्– हरे ! रक्सी पनि पिउनु ? न होश रहोस्, न इज्जत रहोस्, एक घुट्को खायो र लाग्यो जथाभावी बोल्न, कुकुरले म्वाई खाएको समेत थाहा नहुनु मानिसको ‘हेल्थ’ र ‘प्रपर्टी’को नाश ! न रोग हरोस्, न पेट भरोस् आदि...आदि....
“मिष्टर ! के थाहा छ तपाईंलाई ? पिउनु नै छ त जिउलाग्ने चीज पिउनुस् । मन सधै प्रसन्न ! रुचि बढ्छ ! सधैँ मस्त रहनुहोस्, न जथाभावी बोल्न आउँछ न कुकुरले नै ‘किस’ गर्छ । बम शंकर...आदि... आदि...”
रक्सी खानेले ‘बियर’ खानेलाई त्यत्तिकै मूर्ख बनाउँछ जति ‘थर्डइयर’को विद्यार्थीले ‘फस्टइयर’ को विद्यार्थीलाई । ...“अरे ! यो पनि खानु ? यो त चुरा लगाउनेहरूले खाने ‘लेडिज ड्रिंक’ हो । बर्खुरदार ! खानु छ त चीज खाऊ ! हेर (हातको मांशपेशी फुलाएर) हेर्छौ, मेरो हेल्थ ? कुनै रोग मकहाँ आउनै सक्दैन, रुघा–खोकी त पुच्छर लुकाएर भाग्दछन् । बरु, मात्रामा ख्याल राख्नुपर्दछ ‘एज फार इक्जाम्पल’ : “ड्रिन्क–डे–फ्राइ–डे’, ‘आइडियल डोज’–‘हाफग्लास वन्ली ।’ आदि... आदि...
आफूमा पिउने गुणमा आसा चुरोट, चिया र कफीबाहेक अरू थिएन, तर समकालीनहरूचाहिँ गँजेडी, भँगेडी, जँड्याहा, रक्सीवाज, चरसवाजलगायत विभिन्न ‘वाज’हरू थिए ।
आफूचाहिँ शुद्ध गोतामे त्यसमा पनि ‘जिउनपुरे’, घरमा माछामासु त के गोलभेँडा, प्याज समेत हुल्न नहुने, तर लसुनचाहिँ ‘अपवाद’ थियो (यसलाई रुघालागेको बखत ज्वानोको झोलमा कुटेर हाल्ने स्वीकृतिसम्म मान्यजनहरूबाट गोप्य रूपमा प्राप्त थियो) । महाअष्टमीको दिन भगवतीलाई बलि दिन त सालवसाली कुभिण्डोको दरबन्दी थियो ।
यी त भए उहिलेका कुरा जो खुइलिसके । अचेल त ममा पनि जागृति आइसक्यो, अब त आफू पनि सोसाइटी मेन्टेन गर्न सक्ने, स्मार्ट र फ्रैंक भइयो । र, छोटकरीमा मेरो परिचय थाहा पाउनुहोस्– विभिन्न वाजहरूमध्येको ‘पपुलर ट्वाँटवाज’ !
विभिन्न वाजहरूले आफ्नो अम्मलको पक्षमा दिएका तर्कहरूले मेरो मनमा तथाकथित ‘ड्रिन्क कन्सस्नेस’ ल्याउन थालेको थियो । साथीभाइको सधैँको दुरदुर, ‘अनसोसल’, ‘अर्थोडक्स’, ‘पुअर’ आदि विभिन्न उपाधिहरू सुन्दा–सुन्दा आफूमा ‘इन्फेरियरिटी कंप्लेक्स’ आउन थाल्यो ।
‘मनुष्य सामाजिक प्राणी हो’ भन्ने १२ वर्ष पहिले पढेको नागरिकशास्त्रको पुस्तकको सार त आखिर केही बाँकी नै थियो । ‘त्यज दुर्जन संसर्ग, भज साधु समागम’ भन्ने भनाइले प्रेरित भई भगवान् शंकरको बुटी पिउने साधुहरूको संगत नै राम्रो ठानेँ ।
विभिन्न वाजहरूमध्ये भँगडची हुनु नै श्रेय ठानी त्यही बाटो लागेँ । बाहुनको जात त्यसमाथि शुद्ध अग्निहोत्री जिउनपुरे गोतामे, (हुन त माछामासु घरमा वर्जित भए पनि सोसाइटीमा खसी, कुखुराचाहिँ चलेको थियो) चीज त (जातीय गुणले गर्दा) गुलियो नै मनपर्ने हुँदा ‘सोसाइटी मेन्टिनान्स’को प्रगति पथमा प्रथमपाइला भाँगको गिलासले सारेँ !
अहा ! कति मीठो । दूध, काजु, कागजी बदाम, चिनी इत्यादिको गुलियो मिश्रण नै मेरो लागि बढी महत्त्वपूर्ण थियो, त्यसबाट आउने मस्ती त मेरो निम्ति गौण थियो, उखान पनि छः ‘चियामा दूध र चिनी नहाले को खान्छ ?’
केही दिनमा नै म पनि भाँगको विषयमा (नवोदित नेताले कनिकुथी भाषण गरेजस्तो) व्याख्यान दिन सक्ने भएँ । जे पिए पनि, एक थोक त पिउँछु ? भन्ने घमण्डै हुन थाल्यो । यतिञ्जेलसम्ममा मैले मेरो भाँग–पार्टीको सहायकमा श्री शर्माजीलाई मनोनीत गरिसकेको थिएँ ।
चल्तापुर्जा भएकोले भाँग–पार्टीको नेता म भएँ, र परम्परागत रूपमा मनाइने ‘पिकनिक’मा एउटा नयाँ आइटम’ भाँग हाम्रो लागि (रक्सी नपिउने भएकोले) थपियो ।
एक दिन बिहानको कुरो हो, ‘शर्माजी’ तरकारी बजारमा टप्लुक्क देखापर्नुभयो । सधैँ नै हाँसीखुसी कुरा गर्ने शर्माजीको अनुहार त्यो दिन अपेक्षाकृत बढी उज्यालो थियो । पेटमा कुरा नपच्ने उहाँको बानी थियो । दुई मिनेटको वार्तालापमा नै उहाँले कुरा खुस्काउनुभयो । उहाँ भाँगबाट प्रगति गरी बियरमा पुग्नुभएछ ।
आफू भँगडची पार्टीको संस्थापक भई शर्माजीजस्तो प्रतिभाशाली व्यक्तिलाई सहायक बनाई एकछत्र नेतृत्व गर्ने सुयोग प्राप्त भएकोमा गौरवान्वित भएको बखत शर्माजी बियर–पार्टीको प्रवर्तक भएर नेतृत्व हडप्न थाल्नुभएकोमा म बडो चिन्तित थिएँ ।
फेरि त्यतिञ्जेलको अनुभवले सामाजिक अध्ययन पनि त बढिसकेको थियो । समाजले पनि त भाँगभन्दा बियरलाई नै बढी मर्यादा प्रदान गरेको छ !
तसर्थ, शर्माजीले उपनेताको पदमा बस्न राजी गराई बियरको नेपालीकरण गरी (आखिर राष्ट्रभाषाप्रति पनि त मेरो केही कर्तव्य थियो) ‘बियेर’ पार्टीको अभ्युदय गराएँ र त्यसको नेता म नै भएँ ।
आफू नेपाली भएकोले भरसक नेपाली शुद्ध लेख्ने अठोट थियो । माथि अनेकौँ अंग्रेजी लवज परेका त हाम्रो भाषामा उपयुक्त शब्द नपाइएर पो त । फेरि अनुवादमा मौलिकता पनि त हुँदैन नि ?
तसर्थ, नेपालीकरणको नाउँमा अंग्रेजी ‘बियर’ को ‘ब’लाई यथावत् राख्नै पर्यो, हिन्दी ‘बियर’को ‘व’को पेटको अप्रेसन गरी, दुवैको ‘य’लाई एकलख दिएर शुद्ध नेपाली ‘बियेर’ गर्नुभन्दा बढी बुज्रुक्याइँ अरू के हुन सक्दथ्यो र ?
आखिर भाषाको भाइसेक्टोमी गर्न नसके त पत्रपत्रिका खल्लो भइहाल्छ भन्ने धारणाबाट जबर्जस्ती अपरेसन गर्ने प्रचलन पनि त समाजले नै ल्याएको हो । खैर ! भाषा विवाद मेरो विषय होइन ।
एक दिनको कुरा हो, रक्सीवाज दलका नेता सापकोटाजीलाई पीपलको पपुलर बोटमुनि चिबहालमा टुक्रुक्क बसी आसा चुरोट खरानी पार्न लाग्नुभएको देखेँ ।
उहाँले भन्नुभयो, “बधाई छ गुरू ! बुद्धिमानले एक न एक दिन बाटो पैल्याइहाल्छन्, पछि कुन दूध र कुन पानी भन्ने थाहा भइहाल्छ । तपाईंहरूले यस क्षेत्रमा गर्नुभएको उपलब्धिको म प्रशंसा नगरी रहन सक्तिनँ । कान्ग्रेचुलेसन्स !”
उहाँले गर्नुभएको व्यंगले मेरो मुटु छेड्यो (आखिर बियरको सेवनले मेरो मुटु ‘ओभर सेन्सिटिभ’ हुन आँटेकै थियो) । एक्कासि मनमा विचार उब्ज्यो, पिउनै परेपछि के बियर के रक्सी ? दल नै बनाउने हो भने ठूलो दल नै रोजौँ । यसमा ‘बेटर प्रोस्पेक्टस’ पनि अवश्य नै होलान् ।
अन्ततोगत्वा रक्सी–पार्टीको नेता आफू भइयो । साँपकोटाजीको असामयिक निधन (यो मेरो लवज होइन, खबर–कागतमा अक्षरशः यही भाषा थियो । उहाँ कुनै रोग नै नलागेर भगवान्को धाम पुग्नुभएको थियो) भएको एक महिनापछि नै सो पदको आखिरी हकदार मबाहेक अर्को को थियो र ?
आखिर मैले पनि पार्टीलगायत समाजको सेवा गरेकै हुँ । मह काढ्नेले हात चाट्नु र ‘सेवा’ गर्नेले ‘मेवा’ पनि त पाउनुपर्यो ।
साँपकोटाजीको मृत्युको कारण के थियो आफूलाई थाहा भएन । परम्पराअनुसार ‘भँडारखाल’ को चौरमा ‘शोक समारोह’ मनाइयो । रक्सी–पार्टीका शोकविह्वल यावत् क्रियाशील सदस्यहरूमध्ये ‘बुद्धिबाजे’ले प्रस्ताउ राख्नुभयो, “आज हामीले कमसेकम साँपकोटाजीको स्मृतिमा विदेशी ‘पेय’ नलिऊँ !”
करतलध्वनिका बीच प्रस्ताउ स्वीकृत भयो । यस अवस्थामा सभापति भएको छँदो म पनि आफ्नो योग्यता प्रदर्शित गर्न किन चुक्दथँे र ! मैले भनेँ, “साथी हो ! राष्ट्रिय उद्योगलाई टेवा दिन र अचेलको उर्लँदो महँगीमथि विचार राखी यस सभामा आएको प्रस्ताउ प्रशंसनीय छ । यस कारण आजको ‘पेय’को निम्ति म स्थानीय जाँडलाई नै उपयुक्त ठानियोस् भन्ने अनुरोध गर्दछु ।”
मौका छोपी तयारी मुताबिकको प्रस्ताउ पेश गर्ने बुद्धिबाजे आफ्नो कार्यकुशलताको परिचय दिनका लागि प्रस्ताउ राख्नुअघिदेखि नै उहाँले श्रमदान गरी बौद्धदेखि बोकेर ल्याउनुभएको जाँडको घ्याम्पो तेर्स्याउन चुक्नु भएन । सबैले ‘गिलाँस’ भरे ।
‘टोस्ट’ प्रस्ताउ मैले गरेँ । “हाम्रा महान् रक्सीवाज नेता साँपकोटाजीको आत्माको शान्तिको लागि”– चियर्स, चियर्सको आवाजको साथ गिलाँस र समारोहस्थल रित्तियो । शोक सभा विसर्जित भयो ।
आफू भने सबै ‘पेय’को आनन्द लुटे तापनि यो ‘पेय भने ‘पैलो पञ्चामृत’ नै थियो ।
जेनतेन ढुन्मुनिँदै घर पुग्न आँटेको थिएँ । सत्यालबाजेको चोक अगाडिको नालमा लड्न पुगेछु । लुगा निथ्रुक्क र नालको दुर्गन्धले नाक थुन्नपर्ने अवस्था पर्यो ।
चारैतिर चियाई हेरेँ, सत्यालबाजेको आँखा पर्यो, टाउको निहुराउँदै भागेँ ।
जाडो याम, नुहाइधुहाइ ओछ्यानमा पल्टेँ । श्रीमती रुँदै र सिँगान सुर्कंदै (उनलाई सधैँ नै रुघा लागेको हुन्छ) फलाक्न थालिन्, “आफ्नो कर्मै खोटो ! ती साथी मोराहरू आजै आर्जेघाटमा पोलिऊन् !”
अनि मेरो पाउ समात्दै भनिन्, “बिन्ती छ, अब पिउनुभए मेरो रगत खाएकै होस् !” सहानुभूति जनाउँदै मैले भनेँ, “अफकोर्स, आज अलि ओभर नै भएछ ।”
बिहान सबेरै चोकमा सत्यालबाजेको भाषण हुँदै थियो । उनी कराइकराइ भन्दै थिए, “अस्ति भर्खर साँपकोटा भनाउँदो बजिया जाँडको झोकमा झ्यालबाट हाम्फाली मर्यो, यो बाहुनको पनि गति त्यही नै हो ।”
“हरे शिव ! कस्तो काल आयो ! रामः रामः रामः ।
(गोरखापत्र, २६ माघ, २०२५)
(प्रसिद्ध व्यंग्यकार श्याम गोतामेकी पत्नी पद्मादेवी गौतमको स्वीकृतिमा प्रकाशित गोतामेको ‘मपाईं’ व्यंग्यसंग्रहको अर्को व्यंग्य । यस संग्रहका सम्पूर्ण व्यंग्यहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)