१
असारको महिना थियो । दिउँसोको टन्टलापुर घामका मारे किसानहरू मेलो छोडेर चौतारामा बसेका थिए । कुलोमाथि चौतारो, कुलामुनि आसामरु साहूको हिउँदे पसल, त्यसमुनि ज्यामिरे बेंसीको फाँट । निकै रमाइलो ठाउँ थियो । किसानहरू कोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए ।
धर्मानन्द पाध्ये चौतारामा बसेर गफ चुट्दै थे । गुमाने घर्ती हत्केलामा मुन्टो अड्याएर ढुंगामा पल्टेको थियो । धनजिते भोटे पसलका डिलमा बसेर घुम बुन्न लागेको थियो ।
यी सरल किसानहरूलाई धनका निमित्त तँछाड र मछाड भन्दै घचेटाघचेट गरेर अरूलाई उछिनी दगुर्न खोज्ने यो सभ्यता भनूँ या अज्ञानता भनूँ, यस भयंकर रोगले तिलभर पनि छोएको थिएन । केवल बखत–बखतमा पानी परिदिए, खेतीकमाइबाट सरकारको तिरो, साहूको ब्याज, वर्ष दिनलाई अन्न, वस्त्र, नुन, तेल पुर्याउन सके पुगेको थियो ।
धर्मानन्द पाध्ये अलि ठट्टेउला किसिमका मानिस थिए, वीरसिक्का पढ्थे, गाउँको बुज्रुक हुँ भन्ने घमन्ड गर्थे, मानिसलाई लडाएर तमासा हेर्ने पनि स्वभाव थियो ।
एक छिनपछि गुमानेका गोरु धनजितेका बीउमा पसे । आजभोलि रोप्नुपर्ने बीउ, धनजिते आगो भो । घुम भैँमा मिल्काएर गोरुलाई लगारी–लगारीकन चुट्न लाग्यो ।
किसानहरू सबै कुरा सहन सक्छन्, परन्तु वस्तुलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन् । बीउबाट धपाइन्जेल त गुमाने केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रिसको सीमा रहेन । असार महिनाको दिनभर जोत्नुपर्ने गोरु, उसमाथि पसेका मात्र थिए, उति नोक्सान गरेका केही थिएनन् ।
जुरुक्क उठेर भन्यो, “बीउ नोक्सान गरेको छ भने अर्मल ले, असारका गोरु किन कुट्छस्, ए धनजिते !”
आजभोलि रोप्ने बीउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सही नसक्नुभो । पाखुरा सुर्कंदै भन्यो, “तेरा डाम्ना छाडा गरेर असारको बीउ चराउँछस्, अझ अर्मलको धाक लगाउँछस्, गुमाने चोर !”
धर्मानन्दलाई लडाउने मौका पर्यो । सुर्तीको लुँडो निमोठ्दै भने, “कस्तो मिचाहा भोटे रहेछ, बिहानभरि जोतेका भोका गोरुलाई आफैँ कुटछ, अझ उही चोर र सोर उड्कन्छ ।”
गुमानेका कनसिरी अघि नै तातिसकेका थिए, धर्मानन्दका कुराले झन् भुतुक्क भो । निर्धाको हात छिटो चल्छ भन्छन्, “किन मुख छोड्छस्, ए धनजिते डाँकू !” भनेर हात मिसिहाल्यो ।
धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक, किन हट्थ्यो ? दुवैजना लठारिँदै चौतारीमुनि पुगे । तमासा हेर्नेको ठट लाग्यो । धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो । गुमाने ढाक्रेहरूले चम्का लगाएको ढुंगो दुई हातले उचालेर आइलागेको थियो, धर्मानन्दले छेके ।
गुमाने दौराको फेर निचोर्दै पसलका डिलमा बसेर धनजितेसित अघोरसँग बाझ्न लाग्यो, “बाबुले धुलिखेलेको भारी चोर्यो र तीन दिनसम्म छिँडीमा जाकेथ्यो, ठूलो हुन्छस् !”
“काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाकर चोर्दा मानवीरे द्वारेले गोर्खेलौरी कसेर चउरमा लडाएको कसको बाबुलाई नि ? गम्कन्छस् !”
बाबुआमा, दिदीबैनी कसैको इज्जतहुर्मत बाँकी रहेन, साँझ परेपछि पनि बाझ्दै उकालो लागे ।
चौतारामा झगडा भएदेखि धनजिते र गुमानेको बोलचाल बन्द भो । बाटामा धनजितेलाई देख्यो भने गुमाने तर्केर हिँड्थ्यो ।
२
भदौका आधाआधीतिर गाउँमा आँठे पर्यो । पैले एक–दुई दिन रुगा लागेजस्तो हुन्थ्यो, त्यसपछि चौपट्टसँग भुङ्ग्रे जरो आउँथ्यो, चार–पाँच दिनपछि सन्निपातको लच्छिन देखिन्थ्यो । आठ दिनका दिन खत्तम ।
गुमानेका विचारमा यो सबै देउदेउताको दोष थियो । भन्थ्यो, “देउदेउताको मानभाउ नगरेपछि यस्तै हुन्छ । परार रगतमासीले गाँवै सोतर भो । गाउँका थानीको आजापूजा गरूँ भन्दा ‘सिमेभूमे पूजेर पनि रोग हराउँछ ?’ भनेर धर्मानन्दले मेरो कुुरा हाँसोमा उडाए । आखिर घाटकी देवी र गाउँका भूमेको पूजा गरेका पर्सिपल्ट रोग साम्य भो ।”
गुमानेले जान्ने बसायो । गाउँका सारा मानिस जम्मा भए, तर करेसो जोरिएको धनजिते आएन । जान्नेले पनि देवीको दोष देखायो । सबै जम्मा भएर धूमधामसँग पूजा गरे ।
पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी । बिचरी झन्नै खुस्की थी, बाँची । त्यसपछि धनजितेलाई समात्यो । तीन दिनपछि स्वास्नीचाहिँ लडी । एकातिर इन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिई, अर्कातिर जराका तोडले धनजिते बरबराउन लागेको थियो । पानीसम्म खान दिने मानिस कोही थिएन । सारा गाउँ सोतर छ, कसले हेरचाह गरोस् ? गाई, बाख्रा कीलाका कीलै टट्टिएर मर्न लागे । फोएर पाखातिर लाइदिने मानिस कोही भएन ।
पहिले त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता राखेन । परन्तु, जब स्वास्नी समेत थला परी अनि गुमानेको चित्त रहन सकेन, विचार गर्यो, “यस्तै दैव लाग्छ र पो छरछिमेकी खोज्नुपरेको, नत्र ओडारमा गएर बसे पनि त भो नि, जहाँ पनि बस्नै न हो । दिनदशा, आपत्विपत् कसलाई पर्दैन ? बलको तुजुक थियो, मलाई सधैं यत्तिकै पुग्छ भनेर घमन्ड गर्थ्यो, परमेश्वरले घमन्ड तोडे । बैगुनीलाई गुनले मार्नु भन्छन्, एउटै नगरमा बढेर यो उमेर भो, दौँतर हो, यस्तो आपत्मा पनि देखेको नदेख्यै गरे पाप लाग्दैन ?”
गुमाने धनजितेकहाँ पुग्यो, गाई, बाख्रा फोएर पाखातिर लाइदियो । धनजिते मूढो लडेझैँ उत्तानो परेर लडिरहेको थियो । दिसापिसाबको होस थिएन । ओढ्ने ओछ्याउने फेरिदियो, गुमानेले एक छिन छोडेन ।
३
मिर्मिर उज्यालो भएको थियो । गुमानेलाई खोज्दै आसामारु साहू आइपुग्यो । एकाबिहानै आसामरुलाई देखेर गुमानेले भन्यो, “कति कामलाई उकालो लाग्यौ, साहू ?”
“पसलमा बर्खे मालटाल छैन, डुबै डिनलाई सहर जाइडिन्ठिस् कि ?”
“छिमेकमा यो बिजोक भैरहेछ, क्यै काम नपाएर जान्छु भारी खेप्न !”
“रोज रुपियाँ डिन्छ लाता ।”
“के रुपियाँको लोभ देखाउँछौ साहू, गरिब छु, निमेकमजुरीले छाक टार्नुपर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यति सारो नीच भएको छैन । छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन् । यस्ता बेलामा चटक्क छोडेर भारी खेप्न हिँडे मर्दैन ? तिमी त ठमठमती छौ र रुपियाँको धाक देखाउँछौ, धनजितेका झैँ चार दिन अन्न न पानी भएर लड्नुपरे थाहा पाउने थियौ ।”
“इस्, छिमेकी ! अस्टि चौटारामा झन्नैले मारेठ्यो, ठा पाउलास् ।”
“यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो ? एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीँ गोडा लाग्छ नाइँ, झगडा भो भन्दैमा धर्म छाड्नु हुन्छ ? आफूले साँचो मनले उपकार गरेपछि उसका आत्माले पनि गर्न कर लाउँछ । अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ ? माटाको भर ढुंगो ढुंगाको भर माटो, संसार भरैभरमा अडेको छ । यो भरको ताँदो छिन्नेबित्तिकै सबै भताभुंग हुन्छ ।”
आसामरुको र गुमानेको खलबल सुनेर धनजितेले आँखा उघार्यो । धनजितेले हेरेको देखेर गुमानेले भन्यो, “कस्तो छ माहिला दाइ ?”
“मो मार्छ कि कान्जा, ताेँ कोइले आइस् !”
“पाँच दिन भो दाइ, तिमीहरू दुवै लोग्नेस्वास्नी लडिहाल्यौ । गाईबाख्रा भोकभोकै कराउन थाले, बिजोक हेर्न सकिनँ, दौडेर आएँ । तिम्रोजस्तो ढुंगाको मन म कहाँ पाऊँ !”
“पोलेको घाउमा नुन ना छार कान्जा, मो आधाम हो, क्षामा गर् ।”
धनजिते हिँड्डुल गर्न लाग्यो । गुमानेलाई एक छिन छोड्दैन । वन, मेलापात जहाँ गए पनि दुवैजना सँगै जान्छन् । आजकल कसैले गुमानेको बद्खोई गरेको सुन्यो भने धनजिते झगडा गर्न अघि सर्छ ।
(मैनालीको कथासंग्रह ‘नासो’बाट ।)