काठमाडौं । बैंकिङ अपराधमा ६६ लाख रुपैयाँ जरिबाना तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उनको नामको बैंक खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र रु ६६ लाख जरिबानाको आदेश दिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो ।ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पे गरिएको छ । रासस