काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले उपसभामुख पद प्रतिपक्षको हकको कुरा भएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा जारी उपसभामुख चयन प्रक्रियाको छलफलका क्रममा उनले सत्तापक्षले उपसभामुख राख्न नहुने बताए । उनले सभामुख सत्तापक्षको भए उपसभामुख अर्को दलको हुनुपर्नेमा जोड दिए ।
“सत्तापक्षले जानेर सल्लाह गरेर प्रतिपक्षलाई लिनुस् भन्नुपर्ने कुरा हो,” उनले भने, “सैद्धान्तिक रूपमा उपसभामुख प्रतिपक्षको हकको कुरा भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तापक्षको उमेदवारलाई समर्थन गर्न नसक्ने व्यहोरा जानकारी गराउँछु ।”
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पृुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट सांसद विद्या भट्टराई उपसभामुखका उमेदवार छन् ।