काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाको उपसभामुख पदमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गर्ने तयारी छ ।
करिब तीन वर्षदेखि रिक्त उपसभामुख पदका लागि आज प्रतिनिधिसभामा मतदान हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट सांसद विद्या भट्टराईले उमेदवारी दर्ता गराएका छन् ।
प्रतिपक्ष दल लोसपाले उमेदवारी दर्ता गराएको छैन । १३ सांसद भएको लोसपाले कसलाई मत हाल्छ भन्ने जिज्ञासा छ । पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने तयारी छ । यद्यपि, अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए ।
“नागरिकता विधेयक हाम्रो मागानुसार सरकारले अघि बढाएको छ । हाम्रा माग–मुद्दा सम्बोधनमा पनि सरकारले काम गरिरहेको छ । त्यसकारण हामीले गठबन्धनको विपक्षमा मत हाल्न मिल्दैन,” ती नेताले बाह्रखरीसित भने ।
हाल्नैपरे गठबन्धनका उमेदवारलाई मत हाल्ने नत्र मत नहाली चुनावी प्रक्रियामा भाग नलिने गरी निर्णय हुन सक्ने पनि ती नेताले बताए ।
लोसपाका सांसद लक्ष्मणलाल कर्णले भने पार्टीबाट कसलाई मत हाल्ने भन्ने निर्णय भइनसकेको जानकारी दिए । “हाम्रो संसदीय दलको बैठक आज २ बजे बस्छ । सोही बैठकले कसलाई सहयोग गर्ने निर्णय गर्छौँ,” उनले भने ।