काठमाडौं । ओपनर आसिफ शेखले ७१ रन बनाउनुका साथै बलहरूले कसिलो बलिङ प्रदर्शन गरेपछि नेपालले बुधबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि ५ विकेटको विजय हासिल गरेको छ ।
स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेर कप्तानको निर्णयलाई सही सावित गरिदिए । स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि ओपनर आसिफले ६२ बलमा ७१ रन बनाएका थिए । उनले १० चौका र एक छक्का प्रहार गरे । आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । कुशल २७ रन बनाएर आउट भएपछि आसिफले देब खनालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । देब ४ रन बनाएर पवेलियन फर्किए । त्यसपछि आसिफले उपकप्तान रोहितकुमार पौडेलसँग ४८ रनको साझेदारी गरे ।
२०.४ ओभरमा आसिफ आउट हुँदा नेपाल १२५–३ को स्थितिमा थियो । लगत्तै दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रन बनाएर आउट भए । त्यसपछि रोहितकुमार र आदिल अन्सारीले नेपालको इनिङ्स सकेका थिए ।
जितसँगै नेपाल एक स्थान माथि उक्लिएको छ । १८ खेलबाट १७ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । २२ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १६ खेलबाट १६ अंकका साथ नामिबिया छैटौँ स्थानमा छ ।
त्यसअघि नेपालका बलरहरूले कसिलो बलिङ गरेपछि स्कटल्यान्डका ब्याट्सम्यान खुलेर खेल्न सकेका थिएनन् । नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर तीन विकेट लिए । करण केसीले ९ ओभरमा ३१ रन दिएर विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।
स्कटल्यानडका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सबैभन्दा धेरै अविजित ६४ रन बनाए । मैनले ५९ बलमा ७ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मैनको यो पहिलो अर्धशतक हो । मैनबाहेक मार्क वाटले १७ सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान रिची बेरिङटन ३ रन बनाएर पवेलियन फर्किदा घरेलु टोली स्कटल्यान्ड ३३–५ को स्थितिमा थियो । लगत्तै मिचेल लेसक पनि चार विकेट गुमाएर पवेलियन फर्किएपछि स्कटल्यान्ड ४६–६ को स्थितिमा थियो । तर, तल्लोक्रममका ब्याट्सम्यान मैनले इनिङ्स उकासेपछि स्टकल्यान्डले सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।