कोलम्बो । आर्थिक संकट आएपछि श्रीलंकामा केही समयदेखि हिंसात्मक प्रदर्शन जारी छ । आज बिहानै गाले फेस ग्रिनमा गोटागोगामा विरोध प्रदर्शनमा झडप भएको छ । उक्त झडपमा परी घाइते भएका चारजनालाई अस्पताल भर्ना गरिएको छ ।
यता, मुलुकमा शान्ति कायम राख्न प्रधानमन्त्री रनिल विक्रमासिंघेले पश्चिमी प्रान्तमा तत्काल कर्फ्यु लगाउन र टापुभरि आपतकालीन कानुन लागू गर्न आदेश दिएका छन् । प्रधानमन्त्रीले हिंसात्मक गतिविधि गर्नेलाई पक्राउ गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएको श्रीलंकाको स्थानीय पत्रिका डेल्ली मिररले जनाएको छ ।
यस्तै, केही समयअघि फ्लावर रोड कोलम्बोस्थित प्रधानमन्त्रीको कार्यालयनजिकै प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्ने सूचना पाएसँगै विरोध प्रदर्शन भइरहेको बुझिएको छ ।
यसअघि, राष्ट्रपति गोटाबाय राजापाक्षेले आज (बुधबार) राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गरिदिने कुरा थियो । तर, राजापाक्षे बिहानै माल्दिभ्सका लागि आफ्नो श्रीमती र दुई सुरक्षा अधिकारीसहित देशबाट भागेको घटना सार्वजनिक भएसँगै उनीविरुद्ध व्यापक जनप्रदर्शन भएको छ ।
उक्त घटनालाई लिएर माल्दिभ्समा रहेका श्रीलंकाली आप्रवासीहरूले माल्दिभ्सको राष्ट्रपतिको घरनजिकै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले माल्दिभ्सका अधिकारीहरूलाई अपदस्थ राष्ट्रपतिलाई श्रीलंकामा फिर्ता पठाउन आग्रह गरेका छन् ।
राजापाक्षे बुधबार बिहान ३.०७ मा माल्दिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र माल्दिभ्सको राजधानी त्यतिबेला कडा सुरक्षामा रहेको थियो । गत शुक्रबारदेखि बेपत्ता भएका राष्ट्रपति राजापाक्षे अन्ततः माल्दिभ्स पुगेको समाचार सार्वजनिक भएको हो । उनका भाइ एवम् पूर्वअर्थमन्त्री मंगलबार देशबाट भाग्न खोज्दा एयरपोर्टले रोकेको थियो ।डेल्ली मिररबाट ।