काठमाडौं । साविक विजेता नेदरल्यान्ड्सकी स्टार खेलाडी भिभिएना मिडेमा कोभिड–१९ बाट संक्रमित भएकी छिन् । त्यसकारण उनले समूह ‘सी’ मा बुधबार राति हुने पोर्चुगलविरुद्धको खेल गुमाउने भएकी हुन् । मिडेमाले महिला सुपर लिगमा उपविजेता आर्सनलका लागि २२ खेलमा १४ गोल गरेका थिए । उनीभन्दा धेरै गोल गर्नेमा चेल्सीकी साम केर मात्र छिन् । केरले २० गोल गरेकी थिइन् ।
२५ वर्षीया मिडेमालाई महिला फुटबलमा उत्कृष्ट खेलाडीमध्येको एक मानिन्छ । उनले ११२ अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरिसकेकी छिन् । उनी नेदरल्यान्ड्सबाट सबैभन्दा धेरै गोल गर्ने महिला खेलाडी पनि हुन् । नेदरल्यान्ड्सले प्रतियोगिताको पहिलो खेलमा स्विडेनसँग १–१ को बराबरी खेलेको थियो । समूह ‘सी’मा नेदरल्यान्ड्ससहित स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स र स्विडेनको समान एक अंक छ ।
नेदरल्यान्ड्सले मिडेमा अबको केही दिन आइसोलेसनमा बस्ने जनाएको छ । प्रशिक्षक मार्क पर्सनले गत वर्ष प्रशिक्षण सम्हालेपछि मिडेमाले ११ गोल गरिसकेकी छिन् । नेदरल्यान्डले गत संस्करणमा पहिलोपटक उपाधि जित्न सफल भएको थियो ।