काठमाडौं । जसप्रित बुमराहले ६ विकेट लिनुका साथै ओपनर रोहित शर्मा र शिखर धवनले ११४ रनको अविजित साझेदारी गरेपछि भारतले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेटको शानदार विजय हासिल गरेको छ ।
लन्डनको केनिङ्टन ओभलमा भारतका कप्तान रोहित शर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । तिब्र गतिका बलर बुमराहले १९ रन दिएर ६ विकेट लिएर कप्तानको निर्णयलाई सही सावित गरिदिएका थिए । इङ्ल्यान्डले २५.२ ओभरमा ११० रन जोड्दा सबै विकेट गुमाएको थियो । १११ रनको लक्ष्य भारतले १८.४ ओभरमा विना विकेट क्षति पूरा गरेको थियो ।
घरेलु टोली इङ्ल्यान्डका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । कप्तान जोस बट्लरले ३० रन बनाउँदा डेबिड विलेले २१, ब्रेडन कार्सले १५ र मोइन अलीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका बुमराहले ७.२ ओभरमा ३ मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । बुमराहलाई मोहम्मद शामीले तीन र प्रसिद कृष्णले एक विकेट लिएर साथ दिएका थए ।
१११ रनको लक्ष्य पूरा गर्ने क्रममा ओपनर रोहित शर्माले अविजित ७६ रन बनाए । उनले ५८ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । धवनले अविजित ३१ रन बनाए । धवनले ५४ बलमा ४ चौका प्रहार गरे ।
यसअघि भारतले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको थियो ।