काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्ने केन्द्रीय स्तरको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १२औँ संस्करण मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले राष्ट्रपति रनिङ सिल्ड महत्वपूर्ण भएको बताए ।
रनिङ सिल्ड प्रतियोगितामा ६ खेल समावेश गरिएको छ । प्रतियोगितामा प्रदेश–१ र मधेस प्रदेशबाहेक ५ प्रदेशको सहभागिता छ ।
भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा समान ६, भलिबल र कबड्डीमा समान २ गरी ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
उद्घाटन समारोहमा पाँच प्रदेशका खेलाडीले मार्च पास गरेका थिए । साथै कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । साथै अन्य सास्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
जुडोकी ओलम्पियन सोनिया भट्टले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएकी थिइन् । राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलोपटक हो ।
निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको बताए । घिसिङले कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्नसके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेस्रोपटक हो ।
एथलेटिक्स : एक सय मिटर दौडमा निशालाई स्वर्ण
एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए ।
छात्रा १ हजार ५०० मिटर दौडमा गण्डकीका जानकी खराल पहिलो भइन् । जानकीले ५ मिनेट २१.० सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर जम्प गरेका थिए ।
कराँते : रेहान र सन्जुलाई स्वर्ण
कराँतेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सन्जु देशारले स्वर्ण पदक जिते ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजीत बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कांस्य पदक जिते ।
महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ रजत तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली काश्य पदक जिते ।