काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रतियोगिताको पहिलो संस्करण २४ सेप्टेम्बरदेखि २२ अक्टोबरसम्म काठमाडौंमा हुनेछ ।
क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ ।
“आईसीसीबाट मान्यता पाएसँगै क्यानले नेपाल टी–२० लिग अब शीर्ष अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट लिगको सूचीमा परेको छ,” क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल टी–२० लिग नेपाल क्रिकेट संघको ड्रिम प्रोजेक्ट हो । यसले प्रत्येक नेपाली क्रिकेट समर्थकको आकांक्षा पनि झल्काउँछ ।”
क्यानले नेपाल टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट खेलाडीलाई लाभ होस भन्ने रहेको जनाएको छ ।
क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यावसायिक र रणनीतिक साझेदारका रूपमा भित्र्याएको छ ।
क्यानले सेभेन थ्री स्पोर्ट्सलाई पूर्ण लगनशीलता र विस्तृत पृष्ठभूमि जाँच गरेर चयन गरिएको जनाएको छ ।
“यो क्यानले गरेको उत्कृष्ट कार्यको अर्को ठूलो कोसेढुङ्गा र उपलब्धि हो । गत महिनाको सुरुमा आईसीसीले नेपालबाट आर्थिक प्रतिबन्ध हटाएको छ । र नेपालमा क्रिकेट सञ्चालन र प्रवर्द्धनमा आईसीसीले क्यान शीर्ष नेतृत्वको प्रशंसा गरेको छ,” क्यानको विज्ञप्तिमा भनिएको छ ।