चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू नेपाल भ्रमणमा बाक्लै आउने गरेका छन् । अरू मुलुकबाट सामान्यतः सरकारका प्रतिनिधिहरू आए पनि चीनबाट पार्टीका नेता बढी नेपाल आएको देखिन्छ ।
केही दिन यता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआनचाओ नेपाल भ्रमणमा छन् । यस क्रममा उनले प्रधानमन्त्री र राष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका नेता सँग भेट्ने कार्यक्रम छ ।
प्रकाशित समाचारहरूअनुसार सबैजसो भेटमा प्रमुख लिउले नेपालको भूमिमा चीनविरुद्धको गतिविधि हुन नदिन आग्रह गरेका छन् । यसैगरी उनले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने वचन पनि दोहोर््याएका छन् ।
नेपाली भूमिबाट चीन वा भारत विरोधी गतिविधि हुनसक्छ भन्ने चिन्ता दुवै छिमेकीले बारम्बार प्रकट गर्दै आएका छन् । नेपाल भूमि आफ्नो विरुद्ध प्रयोग हुनसक्ने भारतीय र चिनियाँ चिन्ता भने उति स्वाभाविक देखिँदैन ।
नेपालले पनि सधैँ नै चीन वा भारतलाई आश्वस्त पार्ने प्रयास गरिआएको छ । राजनीतिक व्यवस्थामा ठूला ठूला परिवर्तन हुँदासमेत चीन वा भारतप्रति नेपालको नीति र व्यवहारमा तात्त्विक अन्तर देखिएको पनि छैन ।
नेपालले चाहेर पनि चीन र भारतविरुद्ध आफ्नो भूमि प्रयोग गर्न वा गर्न दिन सक्तैन । कारण त्यसो गर्नु आफ्नै हितविपरीत हुन्छ । भारत वा चीनले यति पनि नबुझेको त पक्कै नहुनुपर्ने हो ।
चीन वा भारतले नेपाल पश्चिमी जगतबाट अलग्गिएर बसोस् भन्ने चाहना प्रकट अप्रकटरूपमा व्यक्त गर्ने गरेका छन् । केही यता भारत अपेक्षाकृत शालिन देखिए पनि चीन बढी नै मुखर सुनिएको छ ।
विशेषगरी केही वर्ष यता चीन आक्रामकरूपमा अगाडि आएको देखिएको छ । “मिलेनियम च्यालेन्ज कर्पोरेसन’ वा ‘स्टेट पार्टनरसिप प्रोग्राम’का सम्बन्धमा अस्वाभाविक र अनुचित चिनियाँ टिप्पणी यसैको उदाहरण हो ।
यसैगरी नेपालको राजनीतिमा पनि चिनको अनपेक्षित सक्रियता बढेको छ । यसैपटकको भ्रमणलाई पनि नेपालका कम्युनिस्ट नेताहरूलाई मिलाउने चिनियाँ प्रयासको अङ्गका रूपमा हेरिएको छ । नेकपा (नेकपा) गठनमा त चिनियाँ संलग्नता प्रत्यक्षै देखिएको थियो ।
भारतका तुलनामा विगतमा नेपालको आन्तरिक राजनीतिमा मुछिनबाट पन्छेका कारण नेपाली जनतामा चीनप्रति सद्भाव रहेको हो । पछिल्ला दिनमा देखिएका व्यवहारले भने चीनको नियतप्रति पनि जनमानसमा सन्देह बढ्दै गएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेपालका कम्युनिस्टहरू एक होउन् वा एकछत्र राज गरून् भन्ने चाहना राख्नु त अनुचित नमानिएला । परन्तु, पार्टीहरूबीच एकता गराउन हुने दौडधुप र लगानी भने पक्कै पनि नेपालको आन्तरिक मामिलामा गरिएको हस्तक्षेप हो ।
यस्तै भारत वा चीनले नेपालभित्रबाट आआफ्नो अहित हुन नदिने प्रत्याभूति खोज्नु उचित हो । तर नेपाललाई पश्चिमसँग सम्बन्ध बढाउनबाटै रोक्न खोज्नु भने हस्तक्षेप नै हो । हस्तक्षेपकारी गतिविधिबाट विश्वास र मित्रता बढ्दैन ।
नेपाल चीन वा भारतको अधीनमा कहिल्यै रहेन । अब पनि कसैको ‘उपग्रह’ बन्न सक्तैन । चिनियाँ र भारतीय पक्षले यो तथ्य आत्मसात गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्रताकै लागि पनि नेपालले युरोप र अमेरिकासँग टाढा हुन सक्तैन ।
नेपालस्थित चिनियाँ दूतावासको केही समयसम्मको अनपेक्षित सक्रियताले पुष्टि नगरे पनि भनिन्छ चिनियाँ कूटनयिकहरू अपेक्षाकृत शान्त र चतुर हुन्छन् । यसपटकको भ्रमणपछि देखिने क्रिया र प्रतिक्रिया तथा कूटनीतिक शालीनतामा मात्र यसको उत्तर पाइनेछ ।
आशा गरौँ, प्रमुख लिउको नेपाल भ्रमण सुखद र सफल भएको होला र नेपालको आन्तरिक राजनीतिमा चासो र लगानी बढाए चीनकै पनि हानि हुने वास्तविकता अझ राम्ररी आत्मसात हुनेछ ।