लस एन्जलस । अमेरिकाकी ७२ वर्षीया महिलाले साइकलबाट अमेरिकाको उत्तरदेखि दक्षिणसम्म यात्रा गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।
लिन्नी साल्भोलाई २ हजार ८३ माइल लामो यात्रा पूरा गर्न ४३ दिन लागेको थियो । पाको उमेरमा यो यात्रा पूरा गरेको कारण गिनिज उपाधि हासिल गरेकी उनले क्यालिफोर्नियाका सान सिट्रोमा यात्रा समापन गरेकी हुन् ।
प्रशान्त महासागरको किनारै किनारबाट भएको साल्भोको यो यात्राको प्रमुख उद्देश्य संयुक्त राज्य अमेरिका र क्यानडामा शान्तिको प्रतीकको जीपीएस तस्बिर सिर्जना गर्नु पनि हो ।
यी साइकल चालक वृद्धाले यसअघि सन् २०१६ मा पनि ६७ वर्षको उमेरमा क्यालिफोर्नियाको ओसनसाइडदेखि डेलावरको बेथानी समुद्री तटसम्म साइकल यात्रा गरी कीर्तिमान खडा गरेकी थिइन् ।
साथै, उनी सन् २०१८ मा ६८ वर्ष ३ सय ४० दिनको उमेरमा साइकलमा क्यानडा पार गर्ने पहिलो सबैभन्दा पाको उमेरकी महिला बन्न सफल भएकी थिइन् ।
साल्भोले गिनिज वल्र्ड रेकर्ड्सलाई भनेकी छन्, “मेरो कीर्तिमान गति भन्दा उमेरसँग सम्बन्धित भएकाले मैले छिटो छिटो साइकल कुदाउनु परेन । जसले गर्दा थकानको समस्या पनि झेल्नु परेन । मैले शान्ति प्रतीक परियोजना २८ वर्षको उमेरमा लाओसमा भएको एक विमान दुर्घटनामा ज्यान गुमाएका मेरा भाइ जोन थोमस वेस्टको नाममा समर्पित गरेकी छु । आशा छ, मेरो शान्ति प्रतीकले पनि साइकलबाट कोरिएको विश्वकै सबैभन्दा लामो जीपीएसको रूपमा किर्तिमान राख्ने छ ।”
यूपीआईबाट ।