काठमाडौं । इतिहास रच्न सफल ओन्स जाबेउर र एलेना रुबाकिनाले विम्बल्डन टेनिसको अन्तिम चारमा प्रभावशाली जित हासिल गर्दै उपाधि भिडन्त पक्का गरेका छन् ।
तेस्रो वरीयताप्राप्त ट्युनिसियाकी जाबेउरले ताजाना मारियालाई ६–२, ३–६, ६–१ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । ग्रान्डस्लाम एकल स्पर्धाको फाइनलमा स्थान बनाउने जाबेउर अरबको पहिलो खेलाडी बनेकी छिन् ।
त्यस्तै रुबाकिना पूर्व च्याम्पियन सिमोना हालेपलाई ६–३, ६–३ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् । रुबाकिना पनि ग्राण्डस्लामको फाइनलमा पुग्ने काजकिस्तानकी पहिलो खेलाडी बनेकी छिन् ।
जाबेउर र रुबाकिनाले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जबेउरलाई विम्बल्डनमा उपाधिका लागि प्रमुख दाबेदार मानिएको थियाे । जाबेउर र उनकी प्रिय साथी मारियाले दर्शकलाई रोमाञ्चित बनाएका थिए । खेलपछि उनीहरू नेटमा लामो समयसम्म स्नेहपूर्वक अँगालोमा बाधिएका थिए ।
मारियाले गत वर्ष मात्रै आफ्नो दोस्रो सन्तान सेसिलियालाई जन्म दिएकी थिइन् । विम्बल्डनमा सेमिफाइनलसम्मको उल्लेखनीय दौडमा मारियाले सबै बाधाहरूलाई पन्छाएकी थिइन् ।
सन् १९६० मा दक्षिण अफ्रिकाकी सान्ड्रा रेनोल्ड्सले विम्बल्डनको फाइनलमा स्थान बनाएपछि २७ वर्षीया जाबेउर ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो अफ्रिकी महिला पनि हुन् ।
“यो वर्षौँ वर्षसम्मको मिहिनेत र त्यागपछि साकार भएको सपना हो । म साँच्चै खुसी छु कि त्यो मिहिनेत र त्यागको प्रतिफल मिलिरहेको छ । म यो उपाधि जितेर धेरै नयाँ पुस्ताहरूलाई प्रेरित गर्न चाहन्छु । ट्युनिसिया अरब संसारसँग जोडिएको छ । अफ्रिकी महादेशसँग जोडिएको छ । यस क्षेत्रमा थप खेलाडीहरू जन्मिएको हेर्न चाहन्छु,’’ जाबेउर भन्छिन्, ‘‘यो युरोप वा अन्य देशहरू जस्तो होइन । म मेरो देश, मध्य पूर्व, अफ्रिकाबाट धेरै खेलाडीहरू जन्मिएको हेर्न चाहन्छु । एकसमय मलाई यो सफलता हासिल गर्न सक्छु भन्ने विश्वास लागेको थिएन । आज त्यो प्रयास गर्दैछु । आशा छ यसबाट मानिसहरू प्रेरित हुन्छन् ।’’
रुसमा जन्मिएकी रुबाकिनाले २०१८ बाट काजकिस्तानबाट खेल्न थालेकी हुन् । अहिले उनी ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो काजकिस्तानको खेलाडी बन्न सफल भएकी छिन् । युक्रेनमा आक्रमण गरेका कारण रुसका खेलाडीलाई विम्बल्डनका खेल्न प्रतिबन्ध लगाइएको थियो ।
मस्कोमा जन्मिएकी रुबाकिनालाई यसबारे सोधिएको प्रश्नमा भनिन्, ‘‘मैले लामो समयदेखि काजकिस्तानबाट खेल्दै आएको छु । काजकिस्तानको प्रतिनिधित्व गर्न पाउँदा म साँच्चिकै खुशी छु । देशले मलाई विश्वास गरेको छ । त्यसकारण मैले कस्तो महसुस गर्छु भन्ने विषयमा धेरै प्रश्न नगरौँ ।’’
१७औँ वरीयाताप्राप्त रुबाकिनाले ग्राण्डस्लाम उपाधिबाट एक जितमात्र टाढा छिन् । उनी भन्छिन्, ‘‘यहाँसम्म आईपुग्छु भनेर म आफैँले सोचेको थिइनँ । पक्कै पनि मलाई विश्वास थियो कि एक दिन ग्राण्डस्लाम उपाधि जित्नेछु । तर, यहाँ खेल्नुअघि म घाइते भएकी थिए । तयारी राम्रो थिएन ।’’