बाग्लुङ । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको वार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलावा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो ।
धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उनको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उनको बालीमा ठूलो क्षति गर्यो ।
केही वर्ष पहिलेसम्म उनको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उनले फसल लिन पाए । “दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो’, छन्त्यालले भने, “अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।”
तुसारो र असिनाका कारण आलुमा देखिने रोगको सङ्क्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायिक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्यांक वडा कार्यालयसँग छ ।
धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पुर्याउने गरेको छ । यस वर्ष मात्रै झन्डै रु ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्यांक वडा कार्यालयसित छ । “हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने कि भन्ने योजनामा छौँ”, वडाध्यक्ष तुलबहादुर विकले भने, “असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।”
वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ । रासस