हाम्रा राजनीतिक दलहरु आलोचित छन् । स्वाभाविक हो, अहिले प्रायः सबैतिर राजनीतिक दलहरु आलोचित छन् । त्यसमा पनि सरकारको नेतृत्वमा रहने दल बढी आलोचित हुन्छ । कारण ऊसँग जनअपेक्षा गाँसिएको हुन्छ । अपेक्षाको अंश पनि प्राप्ति नभएको अनुभूति गर्दा बढ्ने त आलोचना नै हो ।
दलहरुलाई एउटै डालोमा राखेर समान आलोचनाको तारो बनाइनु उचित हुन्छ कि दलहरुबीचमै पनि भिन्नता र भेदसमेत छ ? भन्ने प्रश्न चाहिं पारखको आधार बनाइनु ‘मूल्यांकन’ भनिनुको मर्म होला ? नेपाली सन्दर्भमा पनि यही भेद र भिन्नताको सूत्र सत्य हुन्छ ।
स्वाभाविकभन्दा नेपालका दलहरु ज्यादै र अस्वाभाविरुपमा आलोचित छन् । त्यतिमात्र रहेन दलहरु झन्डै घृणाका पात्र भइसकेको सुनिन्छ । दल भन्नु अमूर्त हो । मूर्त दलमा आबद्ध नेता, कार्यकर्ता, शुभेच्छुकहरु हुन् । दलको नाममा भए पनि आलोचना खासमा तिनीहरुकै प्रवृत्ति, चरित्र र व्यवहारको हो ।
यस्ता संगठनमा आबद्ध नेता वा सबैलाई सम्बद्ध दलको किन आलोचना बढेको हो भन्ने जानकारी नभएको पक्कै होइन ।
सुधारको अपेक्षा हामीसँगै राखिएको छ भन्ने पनि दल सम्बद्धहरुले बुझेकै हुनुपर्छ । प्रमाण भाषणमा सुनिने उत्कृष्ट बुझाइ र व्यवहारमा देखिने निकृष्ट प्रस्तुतिले दिन्छ । भिन्नता उद्घाटित हुन्छ । यस कारण प्रस्तुति र व्यवहारमा तालमेल नदेख्दा आलोचनाको पारो बढ्दै गएको हो ।
दलहरु धेरै छन् । तिनहरुको मूल्यांकनको आधार के ? मूख्यतः सिद्धान्त, नेताहरूको चरित्र र व्यवहार नै हो । सदन, सरकार र सडक जतासुकै रहेका नेपालका दर्जनौ दलहरुको मूल्यांकन एउटै सिद्धान्त, एउटै चरित्र र एउटै व्यवहारको कसीमा राखेर गर्न मिल्छ वा सकिन्छ ? के यिनीहरुबीच यस्ता मान्यतामा भिन्नता छैन ? छ । यही कारण पारखको कसी एउटै रंगको मसीले समान धर्काे तानेर सम्भव छैन र सत्य हुँदैन ।
यति भनिसकेपछि दलहरुको नामैतिर जाऊँ । सरकार, प्रतिपक्ष र सडकमा सक्रिय दलहरुको फेहरिस्त नेपाली दल संख्यामा महाभारत जस्तै छ । त्यतातिर नजाऊँ तर केही प्रभावशालीमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी । यिनमा मूलतः दुईधार छन् – राजावादी र राजतन्त्र विरोधी ।
अरु दलको उपेक्षा गरेको हैन । त्यसो त तराई केन्द्रित जनमत पार्टी पनि मूलधारको राजनीतिमा सक्रिय छ र अरु पनि छन् । फेहरिस्त सम्भव छैन । उल्लिखित दस दलहरुबीचको सिद्धान्त, चरित्र र व्यवहार समान छ त ? लाग्दैन समान छ । लाग्छ, विभिन्न यिनको धरातलसमेत फरकफरक छ ।
यस्ता फरक यथार्थबीच मूल्यांकनकर्ताले समाउने पनि भिन्नभिन्न आधार नै हो । एउटै डालो लिएर मूल्यांकन गर्छु भन्नु अविवेकी तर्क हो । नेपाली राजनीतिमा हाल यही अविकेकी खेतीको फसल उठाउन राजनीतिक फाँटका छद्म किसानको बिगबिगी छ ।
प्रस्टै भन्नुपर्छ – राजनीतिक दलका नेता, कार्यकता बेथितिका छन् । सबै होइन तर प्रभाव बेथितिकै छ । यसको विरोध हुनै पर्छ, अझ सशक्त विरोधको खाँचो छ । यसको अर्थ दोष जहाँ छ त्यहीँ दिनुपर्छ भन्ने हो ।
व्यबहारले विगार गरेको दोष प्रणाली वा लोकतन्त्रलाई दिनु त लोकतन्त्रमा हुने कमजोरीको सुधार लोकतन्त्रमै सम्भव छ अरु प्रणालीमा असम्भव भन्ने प्रमाणित सत्य बोधमाथि सांघातिक प्रहार हो । लोकतन्त्र प्रणाली र प्रयोगकर्ताबीचको भिन्नतालाई छ्यासमिस पार्ने ज्यादती छद्म समूहको एउटा हिस्साको अहर्निश प्रयत्न प्रत्यक्ष छ । तर, त्यस्ताको संरक्षण कसले गरिरहेको छ ? विचार, चरित्र वा व्यवहारले हो त ? होइन ।
अहिले नेपाली राजनीतिमा देखिएका यस्ता छद्म चुनौतीप्रति नेपाली लोकतान्त्रिक समाज गम्भीर हुनुपर्छ । सबैभन्दा पहिले र धेरै प्रजातान्त्रिक वातावरण बिगार्ने राजनीतकि दलका नेताहरु नै बढी गम्भीर हुनु र सुधारिनु जरुरी छ । तिनले अहिलेसम्म गरेका कुकर्मप्रति आत्मआलोचना मात्रै होइन नागरिक समक्ष क्षमा प्रार्थना गर्नुपर्छ । अनिमात्र लोकतन्त्र विरोधी छद्मभेषीहरुलाई पराजित गर्ने मार्ग खुल्छ ।
यस्तो भन्दै गर्दा लोकतन्त्र विरोधी तत्त्वलाई कुन दल र कसले कति मलजल पुर्यायो भन्ने मूल्यांकन पनि आवश्यक देखिन्छ । सबै समान बसेर लहरमा मुठ्ठी समाएर क्षमा माग भन्नु पनि अन्याय हुन्छ । दोष जसको जति छ क्षमा माग्ने हिस्सा पनि उसले उति नै लिनुपर्छ ।
माथि लेखिएका राजनीतिक दलहरुमा मुख्यतः तीन प्रवृत्ति, प्रकार छन् । एउटा कम्युनिस्ट प्रवृत्ति र प्रकार । अर्को लोकतान्त्रिक । राप्रपाको धार चाहिं धार्मिक राजावादी हो । यस्ता मूलभूत मान्यता राख्नेबीच अरु कुनै फरकपन छैन र यी समान हुन् भन्न मिल्दैन । अर्थात्, कम्युनिस्टहरुबीच पनि फरक सीमा निर्मित छन् । त्यस्तै अरुमा पनि ।
प्रभावको हैसियतमा अरु परै छन् । खासमा सिद्धान्ततः नेपाली कांग्रेसले लोकतान्त्रिक धारको नेतृत्व गर्छ भने कम्युनिस्ट (एमाले, माओवादी केन्द्र )ले एकदलीय अधिनायकवादी कम्युनिस्ट सत्ताको वैचारिक पोषण गर्छन् । नेपाली राजनीतिका खास यी दुई प्रवृत्ति, पात्र र प्रणालीवीचको भिन्नता र यिनको व्यवहारको परख जरुरी छ । मूल्यांकनको कसी सिद्धान्त र व्यवहार नै हो ।
अमेरिकी विद्वान् फ्रान्सिस फुकुयामाले राजनीतिमा सिद्धान्त सकिएको भने पनि त्यो सकिएन । व्यवहारले सिद्धान्तलाई ढाकेको (ओभरल्याप गरेको) मात्रै हो । सिद्धान्त मरिसकेको हुन्थ्यो भने अहिले पनि किन अधिनायकवादी, प्रजातन्त्रवादी र तानाशाही विचार बाँची रहन्थे ? वा यस्तै धरातलका प्रणाली विश्वमा किन चलिरहन्थे ?
प्रश्न कति निष्ठापूर्वक सिद्धान्तलाई प्रयोग र व्यावहारिक बनाइयो भन्नेमात्र हो । यसको अर्थ सिद्धान्तरहित भइयो भन्ने होइन । दलहरुले सिद्धान्तलाई भजाइ खाने व्यवहार बनाए होलान् तर राजनीतिक चेतको सिँगो नागरिक समाज सिद्धान्तहीन भइसक्यो भन्न मिल्छ र ? अवस्था यही हो त ? होइन ।
नेपालका राजनीतिक दलको मूल्यांकन गर्ने समीक्षकले पनि टिप्ने आधार सिद्धान्त र व्यवहार नै हो । नेपाली राजनीतिमा कांग्रेस, कम्युनिस्ट कसको सिद्धान्त के र त्यस अनुकूल कसको व्यवहार जारी छ ? हेरौँ त । सिद्धान्त एकातिर कर्म अर्कैतिर कसको छ ?
यति भनिसके पछि वा हलेदो भन्ने चिनेपछि चिन्नकै लागि फेरि हलेदो कोट्याउनु पर्छ र ? थप, बोली, व्यवहार र घोचपेचमा कम्युनिस्टहरु नै जति पनि रसातल झर्न सक्दा रहेछन् त्यति त राप्रपा पनि बिरलै झर्ला ?
नेपाली कांग्रेसले सुकृतिमात्र गर्यो, विकृति गरेन भन्ने आधार, प्रमाण छैन । तर, कम्युनिस्ट जति स्खलित कुनै पनि सन्दर्भमा कांगे्रस चाहिं छैन, स्पष्ट भन्न सकिन्छ । फरक छुट्याऊँ । हिस्सा लाग्ला । सबै समान छैनन् । नेताका कारण दलहरुले बदनामी कमाए तर यसैलाई प्रणाली भत्काउन उद्यत छद्महरुलाई उकास्ने नादानी समीक्षकले गर्नु हुँदैन ।
नेपाली राजनीतिले सही मूल्यांकन खोजिरहेको छ । राजनीति सधैँ मूल्यांकनको कसीमा घोटिनै पर्छ, घोटिन्छ तर त्यसको आधार यथार्थपरक चाहिँ बनाइनुपर्छ ।