कोलम्बो । अर्थतन्त्रको चरम संकट भोगिरहेको श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले अर्थतन्त्रलाई फर्काउन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर, स्थिरता आउन १८ महिना लाग्ने उनको भनाइ छ ।
“सन् २०२३ कठिन हुनेछ । तर, २०२४ सम्ममा केही परिवर्तन आउनेछ,” विक्रमासिङ्गेले गतसाता बिहीबार अलजजिरालाई विस्तृत अन्तर्वार्ता दिँदै भनेका छन् ।
मे महिनामा छैटौं पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय नेताले असाधारण परिस्थितिमा आफूले पदभार ग्रहण गरेको स्पष्ट पारे । “हामीले सरकारबिना झण्डै दुई दिन बितायौं । धेरै कुरा हातबाट बाहिर गइरहेका छन्,” इन्धन र बिजुलीको अभावमा भएको जनविरोधको स्मरण गर्दै उनले भने । उक्त घटनाले महिन्दा राजापाक्षे, उनका पूर्ववर्ती र राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइलाई राजीनामा दिन बाध्य बनाएको थियो ।
२२ मिलियन जनसंख्या भएको टापु राष्ट्रले वर्षको सुरुमा नै खाद्यान्न र औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव झेलेको थियो । इन्धन र वस्तुको अभावका कारण सरकारसँग वस्तु आयात गर्नको लागि विदेशी मुद्रा सञ्चिति सकिएपछि पूर्णरुपमा अहिले अलपत्र परेको अलजजिराले जनाएको छ ।
श्रीलंकाले अप्रिलमा आफ्नो बाह्य ऋण चुक्ता गर्न सकेन । यता, विदेशी सञ्चिति न्यून भएकाले उसले अन्तर्राष्ट्रिय बजारबाट आफ्ना आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहनस परेको छ ।
कोलम्बोका सडकहरू लगभग खाली छन् । केही पेट्रोल पम्पहरू नजिक लामो लाइनहरू देख्न सकिन्छ । तर, शैक्षिक संस्था, व्यापार र सरकारी कार्यालयहरू बन्द छन् । कुनै समय पर्यटकले भरिभराउ हुने राजधानीका होटलहरू पाहुनाको चरम अभावका कारण आर्थिक मन्दी झेलिरहेका छन् ।
सन् १९४८ मा स्वतन्त्रता पछिको सबैभन्दा खराब संकटबाट गुज्रिरहेको श्रीलंकामा कम्तीमा जुलाई २२ सम्म पेट्रोलको अभाव हुने देखिन्छ । अलजजिरा