आजको नेपाली राजनीतिकमा लाज,घीन र नैतिकता सम्भवतः समाप्त भइसक्यो । केही अपवाद त चामलमा पाइने बियाँमात्रै हुन् । अर्थ मन्त्रालयको सीसीटीभीको अभिलेख मेटाइएको घटनाले त डर पनि बाँकी नरहेको प्रमाणित हुन्छ ।
बजेट निर्माणको अन्तिम चरणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको गम्भीर आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । परन्तु, अर्थमन्त्री शर्मा र प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले दुवैले त्यस आरोपलाई गम्भीरतापूर्वक लिएनन् ।
संसद् र सञ्चार माध्यमलगायत नेपाली समाजले भने यसलाई सरकारको गम्भीर नैतिक विचलनका रूपमा लियो । अर्थ मन्त्रालयले घटनाको खण्डन गरेपछि आरोपको सत्यता पुष्टि गर्न त्यस दिनको अर्थमन्त्रालयको सीसीटीभीको फुटेन माग गरियो ।
सूचना मागेको केही दिन आलटाल गरेर अन्ततः अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै मेटिएको जानकारी दियो । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार त्यहाँको सीसीटीभी अभिलेख तेह्र दिनपछि आफैँ मेटिन्छ । त्यसो त हुनु नपर्ने हो ।
प्रचलित कानुनमा तीन महिनासम्म सीसीटीभीमा खिचिएका दृश्य सुरक्षित राख्नुपर्ने प्रावधान छ । अर्थ मन्त्रालयका पदाधिकारीलाई पनि कानुनको यो प्रावधानको जानकारी पक्कै थियो । यसैले क्षमताको अभावमा मेटिएकै भए पनि त्यो कानुनको उल्लङ्घन हो ।
अर्थ मन्त्रालयका प्रवक्ताले भनेजस्तो सीसीटीभीको अभिलेख मेटिएको स्वीकार गर्न कोही पनि तयार देखिँदैनन् । मेटिएको नभएर मेटाइएको हुनसक्ने सन्देह प्रायः सबैले व्यक्त गरेका छन् । मेटाइएको हो भने बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गएको र प्रमाण नष्ट गरेको दुईवटा अपराध भयो ।
प्रमुख विपक्षी नेताको टिप्पणीलाई राजनीतिक पूर्वाग्रह मानेर पन्छाए पनि नागरिक समाजका अगुवादेखि सांसद्, सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्याप्त आलोचनालाई पन्छाउन मिल्दैन । यसैले बजेट विचलन र प्रमाण नष्ट गरेको अभियोगमा अब स्वतन्त्र छानबिन हुनुपर्छ ।
घटना सार्वजनिक हुनेबित्तिकै शर्मालाई पदबाट हटाएर छानबिन गरेको भए प्रधानमन्त्री देउवामाथि औँला उठ्ने थिएन । अब त प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयबाट मन्त्री शर्मा र संलग्न सचिवहरूलाई तत्काल हटाएर आफूलाई पनि छानबिनको घेरामा राख्नुपर्छ ।
अभियुक्तले प्रमाण नष्ट गर्न नपाओस् भनेर नै अभियोग लाग्नेबित्तिकै व्यक्तिलाई पदबाट हटाउने हो । सीसीटीभी फुटेज मेटिएकै हो कि मेटेको हो भन्ने छानबिनका लागि पनि अर्थमन्त्री शर्मा र सम्बद्ध सचिवहरूलाई अर्थबाट हटाउन जरुरी देखियो ।
सत्तामा हुनेले जे गरे पनि हुन्छ भनेर बलमिच्याइँ गरिरहने हो भने जनताले चुनावमा बदला लिनेछन् । त्यसपछि पनि जीवनभर कलङ्क त लाग्ने नै छ चुनावपछि छानबिन र कारबाही पनि हुनेछ । दलकै भविष्य समाप्त हुनसक्छ भन्ने हेक्का रहोस् !
यसैले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले पनि आगामी चुनावमा ‘अपराधी’को मतियार भएर जनतासामु जाने कि आफूलाई आरोपमुक्त बनाउने हो भन्ने निधो गरुन् । नेपाली जनताले अपराधीका मतियारलाई पक्कै मत दिनेछैनन् ।
प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई यसरी नै काँध थापिरहे भने बजेट विचलनको कलङ्क र जनताको आक्रोशबाट उनी पनि जोगिन सक्नेछैनन् । जन्मेजयको ‘सर्पध्वंश’ यज्ञमा तक्षक नाग इन्द्रासनमा बेरिएर लुकेछन् । ऋषिले मन्त्रोच्चारण गर्दा इन्द्रासनसहितै तक्षक यज्ञकुण्डमा आइपुगेका थिए रे !