site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
दल खोल्ने मौसमी खेतीमा विषाक्त विचार 

झरीको मौसम छ । खेतीको चटारो छ । राजनीतिमा पनि दल खोल्ने खेती जारी छ । झरी सुरु हुनुअघि प्वाँख झर्ने छिचिमिराको हुल बाटो छेकेरै उडेका देखिन्थे । केही बेरपछि प्वाँख झरेर मोटा कमिलाजस्ता लाग्ने ती छिचिमिरा मौसमी फेरबदलसँगै जहाँ देखिएका थिए, ती त्यतै कतै बिलाएका हुन्थे । 

झरीमात्र होइन नजिकिएको चुनावी मौसम पनि त हो अहिले । त्यसैले अनेक भावभङ्गीमामा कच्चा विचारको राजनीतिक हाटे पसलमा कुतर्की विज्ञापन हुरीसमान छन् । भन्छन् – प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, कसैको राष्ट्रपति र कसैको प्रधानमन्त्री ‘च्वाइस’ सुनिन्छ । 

धेरैको आफैँ हुने लालसाका ‘च्वाइस’ सपना हुन् यी । यस्ता ‘च्वाइस’ नेपाली राजनीतिमा अबुझ हुनुको कारण हो कि संविधान सभाबाट स्थापित व्यवस्थाविरुद्ध षड्यन्त्र ? नियत खराब कि विचार ? वा कुतर्की कि राजनीतिक अनाडी ? अथवा लालसाका धृतराष्ट्र ? यीमध्ये एक त हो नै — यस्तो ‘च्वाइस को ख्वाइस’ । 

KFC Island Ad
NIC Asia

‘व्यवस्था होइन अवस्था फेर्न’ आएको एकालाप दाबा पनि सुनिन्छ । सुन्दा ठीकै लाग्छ । गम्दा सम्बलहीनहरुको आलापले कसरी फल देला भन्ने जिज्ञासा जाग्छ । लोकतन्त्र हो भन्न पाइन्छ । दल खोल्न पनि पाइन्छ र स्वतन्त्र दाबा गर्ने छुट पनि लोकतन्त्रमै सम्भव छ । लोकतन्त्रको मजा कपडा नउतार्दासम्म हजार दाउ नाच्ने मनग्य अवसर छ ।  

राजनीतिमा पनि यस्तै भइरहन्छ कि के ? खासगरी हाम्रो नेपाली राजनीतिमा ? यस्ता ‘च्वाइस’को चर्चा अलि तल गरौँला । धेरै दल दर्ता भएका छन् । सयभन्दा बढी संख्यामा दलहरु रहेको अभिलेख निर्वाचन आयोगको छ । दलहरुको यतिका संख्या के नेपाली राजनीति, जनता र देशको आवश्यकता  हो ? वा खाँचो पूर्ति ? 

Royal Enfield Island Ad

यस्तै ‘कथित’ स्वतन्त्रहरुको जमर्को पनि जारी छ । दलीय राजनीतिक उम्मेदवारीमा स्वतन्त्र भनेको के हो ? सधैँको निर्वाचनमा केही न केही स्वतन्त्र नामका उम्मेदवार खडा भएकै देखिन्छन् । केहीले जितेका पनि हुन्छन् । यसैपटकको स्थानीय तहको विभिन्न पदमा तीन सयभन्दा धेरै स्वतन्त्र उम्मेदवारले जितेका छन् रे । 

विगतदेखिका ‘कथित’ स्वतन्त्रले जितेको लेखा र तिनीहरुबाट दुनियाँले के परिणाम  पायो होला ? आफ्नै अनुभव त बिलाइहाल्यो, के खोज्नु ? हुनसक्छ भने अनुसन्धानले देखाउने  तस्बिर चाहिँ कस्तो होला ? यस्तो अध्ययन अन्तर्राष्ट्रिय स्तरमा पनि हुनसक्ला ? 
स्वतन्त्र भनेको के हो, कस्तो हो ? विचारले स्वतन्त्र कि, विचारहीन ? संगठनरहित कि दलको आबद्धताहीन ? भित्रिया स्वतन्त्र कि वाह्य स्वतन्त्र पनि ? कस्तालाई भन्ने स्वतन्त्र ? एक्लैएक्लै हो स्वतन्त्र  कि ? सहायक अरु कोही छ ? 

राजनीतिको पद प्राप्तिको लागि स्वतन्त्रको पकड न सिद्धान्तमा, न संगठनमा, न दृष्टिकोण (भिजन)को सामूहिकतामा न योजना कार्यान्वयन गर्ने संघको शक्ति आर्जन र आबद्धतामा ? राजनीतिका आवश्यक तत्त्वहीन वा उल्लिखित राजनीतिक औजारहीन यस्तैलाई भन्ने हो स्वतन्त्र वा स्वतन्त्र उम्मेदवार ? 

प्रश्न स्वाभाविक छ – यिनको भरोसाको आधार के ? स्वतन्त्र भन्नेहरु कोप्रति उत्तरदायी वा यिनको नियन्त्रण सूत्र के ? यिनको कामको दायित्व लिन्छ कसले, भोलि (समयलाई) उत्तर दिन्छ कसले ? भुल्का आउँछन्, बिलाउँछन् जसरी त्यसरी नै जान्छन् । पहिलेदेखि भइरहेछ यस्तै ।  

यतिका धेरै दल । दलहरु खोल्ने बाढी । यही भेलमा पुनः देखिएका छन् कट्टर कम्युनिस्टपन्थी वामदेव गौतम । अति महत्त्वाकांक्षी र अराजक राजनीतिकर्मीको पहिचान बनाएका वामदेव, विचारले वाम त भनिन्छन् कामले पनि सधैँ वाम रहे । ‘उल्टी खुर्पा पल्टी धार, पल्टी खुर्पा तिध्रै मार’ भने जस्ता । अति महत्त्वाकांक्षाले वामदेव गौतमलाई यहाँसम्म उचाल्यो र खती पनि गर्यो । 

राजनीतिको खेतबारीमा उभ्याइन खोजिएका छरपस्ट नयाँ कलेबर आकृतिहरुको अधुरा र अमूर्त अवधारणा नेपाली  समस्याहरुको तारणहार हुने परिणामदायी कल्पना सम्भव छ र ? फर्कौँ व्यवस्थाको चर्चातिर । 

कम्युनिस्ट एकताको नाममा पार्टी बनाएका गौतम माले, एमाले र पुनः माले, नेकपा, एमाले हुँदै केही समय मौन थिए । खासगरी नेकपा (एमाले) विभाजन र नेकपा (एस)को गठनपछि । नेकपा एकता राष्ट्रिय अभियानको ‘तीन महिने’ आवरणमा उनले श्रीमती तुलसा थापा(गौतम)लाई आफूपछिको दोस्रो स्थानमा पदभूषित गरेका छन् ।

उनको एकता अभियानलाई धारे हात लगाउनु जरुरी छैन । शुभकामनै दिए पनि त्यो पूरा हुन सम्भव देखिँदैन । यो तथ्य सात दशक लामो उमेर नाघिसकेका गौतमले नबुझेका होइनन् । उनले बुझेको सत्य ‘मौसम आएको छ चुनावी’ हो । त्यसैले प्रस्टै भन्दिए हुने चुनावी तयारी हो, किन खास्टो ओढिरहनु ? 

नेपाली राजनीतिकर्मीमा छलकपट ज्यादै छ । सीमा बाहिर छ । गौतमले भनेछन् – प्रत्यक्ष निर्वाचित कार्यकारी र संसदीय प्रतिनिधित्वमा पूर्णसमानुपातिक निर्वाचन । यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जसपाका डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पनि छन् ।

यही लहरमा राप्रपाका राजेन्द्र लिङ्देन र राप्रपा नेपालका कमल थापा पनि उभिन पुगेका छन् । यीमध्ये कोही राष्ट्रपति र कोही प्रधानमन्त्री भन्ने छन् । खासगरी राप्रपा प्रधानमन्त्री भन्छ किनभने ऊ राजतन्त्रको धङधङीमा छ । यिनका आआफ्नै स्वार्थ छन् र पनि यिनीहरुबीच एकता लोकतान्त्रिक प्रणालीप्रति प्रहार गर्न केन्द्रित छ । 

जननिर्वाचित संविधान सभाबाट बनाइएको वर्तमान संविधानले संघीय, समावेशी, संसदीय, लोकतान्त्रिक प्रणालीलाई अंगीकार गरेको छ । स्थापित संसदीय शासन प्रणाली राजनीतिक, सांस्कृतिक र सामाजिकरुपले समावेशी हो भने हक, अधिकार र स्रोत, शक्तिको बाँडफाँटमा विकेन्द्रित पद्धति पनि हो । संविधानका अन्य विशेषता पनि छन् तिनलाई बृहत् अर्थमा समावेशी भने पुग्छ । संघीयदेखि स्थानीय संरचनासम्म वा अन्य तहमा पनि ।  

प्रत्यक्ष निर्वाचित कार्यकारी भने विकेन्द्रित प्रणालीविपरीत केन्द्रीकृत, असमावेशी र एकाधिकारवादी हो । माथि भनिएका दलका नेताले प्रत्यक्ष निर्वाचित कार्यकारीको आग्रह गर्नुमा वर्तमान संविधानमाथि घुमाउरो प्रहार केन्द्रित छ । देशको राजनीति र व्यवस्थालाई पुनः अथवा सधैँ अस्थिर बनाइराख्ने यिनीहरुको परम्परागत षड्यन्त्रकै निरन्तरता पनि हो । 

देशले प्रणालीमा स्थिरता पाएको महसुस गर्नै खोज्दा आएका यस्ता दुराग्रह संविधान स्थापित प्रणालीप्रति घात त हुँदै हो, देशघाती र जनविरोधी पनि हो । देशलाई सधैँ राजनीतिक अस्थिरता, विवाद र अन्योलमा धकेल्ने र विकास अवरुद्ध गर्ने दुष्प्रयत्न समेत हो । यस्तो प्रयत्न राष्ट्र हितमा हुँदैन । 

यस विषयमा चार वर्षअघिसम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आग्रह गर्ने नेकपा (एमाले) र वर्ष दिन टेक्न लागेको नवजात नेकपा (एस) भने हाल मौन छन् । नेपाली कांग्रेस चाहिँ प्रणालीको मान्यताप्रति स्थापनादेखि नै यथावत् छ । 

लाग्छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आग्रहभित्र कतै विदेशी इसारासमेत छ । संसदीय प्रणालीमा सबै दल र सबै नेता वा सांसदलाई एकमुष्ठ प्रयोग (दुरुपयोग) गर्न सम्भव छैन । छिमेकीलगायत अन्य शक्ति सम्पन्न देशलाई कुनै एक सर्वशक्तिमान कार्यकारीलाई नचाउन सहज हुन्छ । यही कारण प्रत्यक्ष निर्वाचित एकाधिकारवादी कार्यकारी चाहिएको हो ? 

कार्यकारीमा निर्वाचित हुन चाहने कसैप्रति अविश्वास होइन तर नेपालको संवेदनशील भूराजनीतिक, सांस्कृतिक र आर्थिक अवस्थितिमा शक्तिराष्ट्रले गरेका अनावश्यक वा अनपेक्षित चलखेल सार्वजनिक भएकै छन् ।

शक्तिसम्पन्न कार्यकारी प्रमुख चुनिन सक्यो भने कुनै दल र सांसद्को घुर्की चलखेल गर्न चाहने बाहिरी देश र यहाँको सत्ताले पनि सुन्न जरुरी हुँदैन । कराउनेहरुको वैधानिक हैसियत रहँदैन, एकजनाको पदीय हैसियतमा सर्वशक्ति केन्द्रित हुन्छ । 

आआफ्नो भूसामरिक स्वार्थ पूरा गर्न शक्तिराष्ट्रको छनोटमा यहाँ आआफ्नै एकएक ‘कार्यकारी प्रमुख’ उम्मेदवार हुनेछन् । ती नेपाली नै हुन् तर राजनीतिक दृष्टिकोणले फरक फरक देशका समर्थक हुनेछन् । अहिले नै देखिएकै छ । 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा आआफ्नो ‘लबी’का वा समर्थक जिताउन शक्तिराष्ट्रबीच यहाँ छद्म स्पर्धा तीव्र हुनेछ ।

चुनावी स्पर्धामा बाह्य देशको रणभूमि नेपाल बन्नेछ । नेपालका यिनै मान्छेहरु हुन् फिजी, माल्दिभ्स, बंगलादेश, भुटान र श्रीलंकालगायत मुलुकको विगत चुनावी प्रतिस्पर्धामा विदेशको चासो र जय पराजयको उदाहरण दिने ।  

प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेहरुले यसबाहेक यस विषयमा अन्य व्याख्या वा व्यवस्थापनको खाका प्रस्तुत गर्न सकेका छैनन् ।

त्यो कस्तो हुने ? प्रत्यक्ष निर्वाचित प्रमुखको अधिकार कति वा उसको नियन्त्रण कसरी ? साथै निर्वाचित अन्य प्रतिनिधिको राष्ट्रिय हैसियत के कति ? 

नेपाल अमेरिका र फ्रान्स होइन । त्यहाँको उदाहरण नेपालको अवस्थितिमा काम लाग्दैन । राजनीति धमिल्याउन वा नागरिकमा भ्रम सिर्जना गर्न र देशको मर्मविपरीत अन्टसन्ट जसलाई लालसा केन्द्रित अमूर्त वा अधुरा छेडखानी भन्न सकिन्छ  त्यस्ता भनाइ सबै नेताले छोड्नुपर्छ । त्यसैलाई दोहोर्याइ, तेहेर्याइ भन्नु राजनीतिलाई पहिलेजस्तै विषाक्त बनाउने संस्कार सुनाउनु हो । 

भूराजनीतिक, सामरिक र सांस्कृतिक रुपले उत्तर, दक्षिणका दुई प्रतिस्पर्धि ठूलाठालु मुलुकबीच नेपालको राष्ट्रिय राजनीतिक प्रणालीभन्दा फरक वैदेशिक कूटनीति सम्भव छैन । अर्थात्, भूअवस्थितिले पनि हाम्रो प्रणालीलाई निर्धारण गर्छ । संसदीय लोकतान्त्रिक प्रणाली नै नेपालको लागि उपयुक्त स्थायी विकल्प हो । 

किन ? संसद्मा एकैपटक धेरै दल, नेता र सांसद् रहन्छन् । तिनको अधिकार र आवाजको वैधानिक वजन हुन्छ । शक्ति राष्ट्रहरुले चाहँदैमा तिनको सामरिक स्वार्थ पूरा हुन यो प्रणालीमा सहज हुँदैन । 

उदाहरण एमसीसी र एसपीपी हुन् । एमसीसीमा छिमेकी चीनको अनपेक्षित मनसाय पूरा भएन भने एसपीपीमा अमेरिकाको ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख कुनै देशको ‘लबी’ अन्तर्गत हुन्थ्यो भने ? कल्पना गरौँ त । विवेकको बिर्को बन्द नगरौँ ।   
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro