site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वर्षाले भिजाउन थाल्यो, ‌ओत लाग्ने घर छैन

जनकपुरधाम । मधेश प्रदेशमा तीन दिन यता नियमित झरी परिरहेको छ । मंगलबार बिहानैदेखि भइरहेको वर्षा रोकिएको छैन । अकासे पानीको भरमा रहेका किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याइ छ । 

तर, धनुषाका गरिब, विपन्न र दलितलाई भने ओत खोज्नै हम्मे–हम्मे परेको छ । कारण मधेस प्रदेश सरकारले महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत नयाँ घर बनाउन उनीहरूको घर भत्काएको छ । ६ महिना बित्दासमेत नयाँ घर बन्न सकेका छैनन् ।

सोमबार बेलुका वर्षा रोकिएपछि नगराईन नगरपालिका रामबागकी शिलादेवी सदा पानीबाट बच्न जोहो गर्दै थिइन् । छाप्रोलाई माटोले उनी लिपपोत गर्दै थिइन् । नयाँ घरमा बस्ने आशमा उनले पुसमै पुरानो घर भत्काइन् । तर, अहिले सम्म नयाँ घरको काम २० प्रतिशत मात्रै सकिएको छ । “धेरै समस्या भइरहेको छ । सरकारले गरिब, दलितको घर भत्काएर कानमा तेल हालेर सुतेको छ,” उनले आक्रोश मिश्रित गुनासो गरिन्, “हामी पानीमा भिजिरहेका छौँ । कसैलाई मतलब छैन ।”

शिलादेवी जस्तै सोही ठाउँकी सरिता सदाको पीडा पनि उस्तै छ । घर नबन्दा उनलाई बालबच्चा जोगाउनै मुस्किल भइरहेको छ । पाँच धुर घडेरीमा उनले तीन कोठे घर बनाएकी थिइन् । नयाँ घर बन्ने आश्वासनपछि तीनै कोठा भत्काइन् । अब सरितासँग ओत लाग्न न पुरानो घर छ, न नयाँ घर बनेको छ । “थोरै जग्गा छ, अरूको घरमा बस्दै छु । धेरै समस्या छ,” उनले पीडा पोखिन्, “पानी परेपछि बालबालिकालाई जोगाउन सबैभन्दा बढी समस्या भइरहेको छ ।”

मुख्यापट्टी मुसरनिया गाउँपालिका–३ तुलसियाहीमा पनि यस्तै समस्या देखिएको छ । तुलसियाहीका ज्ञानचन्द सदाले घर–जग्गा अभावमा खाद्य संकट सामना गरिरहको बताउँछन् । उनले पनि पुरानो घर भत्काएर छिमेकी राम जीवन सदाको घरमा ओत लागेका छन् । उनको घरको आँगनमा बासको भाटा गाडेर रात गुजारिरहेका छन् । 

“वर्षाले जीवन कष्टकर मात्रै भएको छैन, खाद्य संकटसमेत ल्याइदिएको छ,” उनले आफ्नो बाध्यता बताए, “सामान राख्ने ठाउँ अभाव भएपछि मजदुरी गरी ल्याएको धान, चामल वर्षाले भिजेको छ ।” उनी दैनिक मजदुरी गरी घरव्यवहार चलाइरहेका छन् । तर, वर्षामा मजदुरीको काम पनि नपाएको उनले सुनाए ।

रामबाग र तुलसीयाही गरी ३५ घरपरिवारको समस्या उस्तै छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा मात्रै ७० वटा घर बनाउने सरकारको योजना रहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीपक कुमार रायले जानकारी दिए । यीमध्ये अधिकांश घर अधुरा छन् भने कतै सुरु पनि नभएको सचिव यादवको स्वीकारोक्ती छ । उनले स्थानीय निर्वाचनमा प्रदेशका सांसदहरू व्यस्त भएकाले ढिलाइ भएको बताए । “सांसदहरू व्यस्त हुँदा घर बनाउने व्यक्तिको नामावली ढिलो प्राप्त भयो,” उनले भने, “त्यही भएर काम सकिएको छैन ।”

उनकाअनुसार काम सुरु भएको ठाउँमा पहिलो किस्ता प्रदेश सरकारले दिइसकेको छ । तर, उपभोक्ता समितिलाई व्यापारीले उधारोमा सामान नदिएकाले समस्या देखिएको छ । व्यापारीले उपभोक्त समितिलाई नपत्याएको कारण काम अगाडि बढ्न सकेको छैन । उपभोक्ता समिति दलित समुदायबाटै बनाइएको छ । तर, उनीहरुलाई साहुले उधारो दिन मानेका छैनन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro