काठमाडौंमा हैजा फैलियो भने जनजीवन निकै भयावह हुनसक्छ । परन्तु, सरकार, समुदाय, परिवार तथा व्यक्तिहरू भने हैजा फैलने जोखिम र त्यसबाट आइपर्नसक्ने सङ्कटप्रति खासै गम्भीर नदेखिनु भने चिन्ताको विषय हो ।
काठमाडौं उपत्यकामा प्रदूषित खानेपानीकै कारण पनि हैजाजस्तो सङ्क्रामक रोग फैलने जोखिम बढी छ । धन्न फोहोर तह लगाउन सुरु भएको छ । नत्र, सडक तथा घरघरमा थुप्रिएको फोहोरले हैजाको सङ्क्रमण झन् तीव्र हुनसक्थ्यो ।
सार्वजनिक वितरण वितरित अपर्याप्त त छँदैछ प्रदूषित पनि छ । कतिपय परिवार ट्याङ्करमा बेचिने पानीमा निर्भर छन् । कतिले इनारको वा भूमिगत पानी प्रयोग गर्छन् । यी कुनै पनि स्रोतको पानी मानवीय उपभोगका दृष्टिबाट गुणस्तर मापदण्डअनुसार छैनन् ।
स्वच्छ खानेपानीको अभाव रहेकै बेला केही वर्षदेखि काठमाडौंमा बोतल र जारमा प्रशोधित ९रु० पानी बेच्ने व्यवसाय पनि मौलाएको छ । दुर्भाग्य, महँगो पैसा तिरेर किनिने यस्ता जार वा बोतलका पानी स्वच्छ भने रहेनछन् ।
हालै सार्वजनिक केही अनुसन्धानका निष्कर्षअनुसार जार र बोलतमा बेचिने खानेपानीमध्ये ८२ प्रतिशत प्रदूषित भेटिएका छन् । यस्तै इनार र कुवाका पानीको नमुना परीक्षण गर्दा ८५ प्रतिशत प्रदूषित देखिएको छ । अर्थात्, खानेपानी वितरणका लगभग सबै स्रोत प्रदूषित छन् ।
जार प्रदूषित पानीमध्ये ९२ प्रतिशतमा कोलिफर्म र ७५ प्रतिशतमा इकोली भेटिएको छ । यस्तै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले ३९ वटा कम्पनीले वितरण गर्ने पानी मानवीय उपभोगका लागि अयोग्य भएको जानकारी दिएको छ ।
स्वच्छ खानेपानीको लागि महँगो मूल्य तिरेर किनिने जार र बोतलको पानीमै इकोली र कोलिफर्मजस्ता हैजा फैलाउने जीवाणु पाइनु दण्डहीनताको चरम उदाहरण हो । बन्द बोतल वा जारमा बेचिने पानी त यति प्रदूषित छ भने ट्याङ्करमा बेचिने पानी कति प्रदूषित होला ?
खानेपानीकै कारण हैजा फैलियो भने स्वास्थ्य प्रणालीले मात्र होइन अर्थतन्त्र र समाजले पनि धान्न मुस्किल हुनेछ । अर्कातिर, खानेपानीमात्रै पनि स्वच्छ बनाउन सके हैजा फैलने जोखिमबाट मुक्त हुन सकिनेछ ।
यसैले हैजाको भयावह सङ्क्रमण रोक्ने हो भने सरकार, समुदाय, परिवार र व्यक्तिहरू सबै बेलैमा सजग हुनु जरुरी देखिन्छ । सरकारले हैजाका बिरामीको उपचारको प्रबन्धसँगै खानेपानीलाई प्रदूषणमुक्त बनाउन युद्धस्तरमा प्राथमिकता दिनुपर्छ ।
सबैभन्दा बढी चनाखो र सावधान त परिवार तथा व्यक्ति नै हुनुपर्छ । पानी उमालेरमात्र खाए पनि जोखिम कम गर्न सकिन्छ भने केही पनि काँचो नखाने हो भने धेरै हदसम्म हैजाको सङ्क्रमणबाट बच्न सकिन्छ । तरकारी र फलफूल बजारका साथै सडकमा बेचिने खानेकुरामा पनि नियामकहरूको ध्यान जानुपर्छ ।
सरकारी प्रणालीबाट वितरण गरिने पानी कम्तीमा मानवीय उपयोग योग्य बनाउन र जार, बोतल, तथा ट्याङ्करमा बेचिने पानीलाई प्रदूषणरहित बनाउन संघीय सरकारले तत्काल उपायहरू अपनाउनुपर्छ । यसैगरी कुवा वा इनारको पानी प्रदूषणरहित बनाउन तथा पानी उमालेरमात्र खान जनसाधारणलाई सिकाउने र सघाउने काम स्थानीय पालिकाहरूले गरून् ।