जनसाधारणले काठमाडौंमा भोग्नुपर्ने समस्यामा सबैभन्दा बढी कष्टकर कुन हो भनेर खुट्याउन असाध्यै गाह्रो छ । खानेपानीको समस्या चर्को छ भनाै सडकको अवस्था झन् डरलाग्दो छ । शिक्षाको गुणस्तरको चिन्ता गर्दा स्वास्थ्य सेवाको अवस्था झन् दयनीय छ ।
खानेपानी, शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्ने इमानदार प्रयास गरिए नै पनि समय लाग्छ । पहिले शिक्षा र स्वास्थ्यमा सुधारका लागि त दीर्घकालीन नीति र योजना नै बनाउनुपर्छ । कसैको लहड र सनकमा शिक्षा एवं स्वास्थ्य सेवा खलबल्याइयो भने त्यसको प्रतिकूल प्रभाव निकै लामो समयसम्म भोग्नुपर्छ । यस्तै स्थानीय पालिकाहरूले केही गर्न त पक्कै सक्छन् तर धेरै परिवर्तन गर्न राष्ट्रिय प्रयास नै चाहिन्छ ।
सहरी सार्वजनिक यातायातमा सुधार भने इमानदार प्रयास गरे स्थानीय तहहरूले सजिलै गर्न सक्छन् । परन्तु, अहिलेसम्म ‘झिल्के विकास’का रथीहरूले भुइँमान्छेले भोग्ने सास्तीलाई कहिल्यै महत्त्व दिएनन् । काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन त्यसैको सबैभन्दा टड्कारो उदाहरण हो ।
काठमाडौं महानगरपालिकाको नयाँ नीति र कार्यक्रममा यहाँकाे सार्वजनिक यातायातलाई सुरक्षित र सुविधाजनक बनाउने पनि स्पष्ट नीति र कार्यक्रम छ भेटिएन । सायद जनसाधारणले पाउने सेवा र सुरक्षा महानगरपालिकाकाे प्राथमिकतामा परेन । “सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि संचालन हुने गरी व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ।” भन्ने वाक्य भने भेटियो ।
“उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि संचालन” गर्ने कल्पना निकट भविष्यमा सम्भव भने देखिँदैन । पालिकाहरू मिलेर सार्वजनिक यातायात सञ्चालन गर्नु सम्भव र उचित छ तर अहिले चलेका सार्वजनिक यातायातलाई ‘एउटै छातामुनि सञ्चालन हुने’ व्यवस्था गर्न सजिलो र सायद उपयुक्त पनि हुँदैन ।
अहिले भएकै साधनहरूलाई नियमन गरेर यातायातलाई सुविधाजनक र सुरक्षित भने पालिकाहरूले सामान्य प्रयासमै गर्न सक्छन् । त्यसका लागि दीर्घकालीन योजना बनाइरहन पर्दैन । साथै, पालिकाहरूले धान्नै नसक्ने गरी खर्च पनि हुँदैन । मानवीय संवेदना र इमानदारी भए पुग्छ ।
बस र माइक्रोबसको नियमन
एउटै रुटमा बस र माइक्रो बस चलाएर यात्रुलाई थप सुविधा हुँदैन । फराकिला सडकमा बस चलाउने र साँगुरा सडकमा माइक्रो बस सञ्चालन गर्ने गरेर रुट व्यवस्थापन गर्न सकिन्छ । यस्तै ठूला बसमा व्यस्त समयमा यात्रुहरू उभिएर पनि यात्रा गर्न सक्छन् । तर, माइक्रो बसमा पनि उभिएर यात्रा गर्नुपर्दा निकै सास्ती हुन्छ । यसैले माइक्रोमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने नियम कडाइका साथ लागु गर्नुपर्छ । माइक्रो बसमा सिटमा मात्र यात्रु राख्दा खर्च नै नउठ्ने हो भने भाडा बढी लिए हुन्छ । बस र ट्याक्सीबीचको अन्तर माइक्रोले पूरा गर्नुपर्छ सुविधा र सुरक्षा दुवैमा ।
बस स्टपहरूको व्यवस्था
काठमाडौंको सार्वजनिक यातायातमा सबैभन्दा अव्यवस्थित र उपेक्षित विषय बस स्टपहरू नै होलान् । बढी भिड हुने स्टप र समयमा बालबालिका, बूढापाका, गर्भवती र सुत्केरी, अपाङ्गता भएका, बिरामीजस्ता बाहुबल नहुनेहरूले पाउने सास्ती देखेर र भोगेरमात्र बुझ्न सकिन्छ । अत्यन्त अमानवीय, मर्यादाहीन र कुरूप दृश्य देखिन्छ त्यतिबेला ।
कमजोरहरूलाई प्राथमिकता दिए हुन्थ्यो बस चड्न र ओर्लन । प्राथमकिता नदिए पनि पालोमा घचेटाघचेट नगरी चड्न दिए हुन्थ्यो । संसारका धेरै मुलुकमा लाममा लागेर बस चड्ने र ओर्लने गर्छन् । काठमाडौंमा भने बल हुनेले मात्र बस चड्न पाउने अघोषित नियम लागु भएको छ ।
पानी परेका बेला बस स्टपहरूमा बस चड्न र ओर्लन अर्को सास्ती हुन्छ । कतिपय ठाउँमा त ढल फुटेर निस्केको पानीमै टेकेर बस चड्नुपर्छ । यस्तै कति ठाउँमा रोपाइँ गर्न मिल्ने हिलोमा बस चड्न र ओर्लन पर्छ । त्यस्तोमा बलियाहरूकै बिजोग हुन्छ भने कमजोरहरूको अवस्था के होला ?
चड्ने र ओर्लने सास्ती यात्रुमा नागरिक चेतनाको अभावले पनि बढाउँछ । लाम लागेर चड्ने र ओर्लने बानीमात्र पार्न सके पनि यो समस्या केहीहदसम्म समाधान हुन्छ । महानगरपालिकाका प्रहरीले केही समय यो काम गरे हुन्थ्यो । सहयोग चाहिए स्वयंसेवीहरू परिचालन गर्न सकिएला नि । ट्राफिक प्रहरीले त परिचालन गरिरहेको देखिन्छ ।
यात्रुलाई सास्ती दिने बस स्टप
बस स्टपहरू यात्रुको सुविधा होइन ट्राफिक व्यवस्थापन सजिलो बनाउने दृष्टिबाट तोकिएका छन् । थापाथली चोकमा काठमाडौं सहर वा भक्तपुरतिर जाने यात्रुले कि माइतीघर पुग्नुपर्छ नभए कुपण्डोल जानुपर्छ । थापाथली स्टपमा धेरै यात्रु प्रसूति गृहबाट परीक्षण वा उपचार गराएर फर्कने गर्भवती र सुत्केरी आमाहरू हुनेगर्छन् ।
थापाथलीपछि अर्को स्टप सुनधारामा छ । सुन्धारापछि एकैपटक लैनचौरमा । ज्याठा वा असन जाने यात्रु कि सुन्धारामै ओर्नुपर्छ नभए लैनचौर पुगेर फर्कनुपर्छ । यो सुविधा हो कि सजाय ?
जेब्रा क्रसहरू कतिपय टाउँमा सडकमा उक्लिन नसक्ने ठाउँमा छन् । सडकमा धेरै ठाउँमा त जेब्राको धर्का नै मेटिइसकेका छन् । जेब्राका धर्का चहकिला बनाइराख्न धेरै खर्च, समय र जनशक्ति त लाग्दैन होला नि ! लैनचौरमा एम्बेसडर होटल अगाडिको जेब्रा भएकै ठाउँमा मङ्गालको बिर्को झिकेर धराप बनाइएको महिनौ भयो । कसैले बनाउँदैन ।
रुटका गाडी अन्त नपठाऊ
सार्वजनिक यातायातका धेरै गाडी बढी व्यस्त हुने समयमा विद्यार्थी ओसार्न जान्छन् । हतारमा विद्यार्थी बोक्ने ती चालकहरूले बालबालिकाको संवेदनशीलता नै बुझ्दैनन् । अर्कातिर व्यस्त समयमा रुटका गाडी अन्तै गएपछि भिड बढ्छ । यसले यात्रुहरूलाई थप असुविधा हुन्छ । रुटका गाडी अरू कामका लागि दिन बन्द गराएमात्र पनि केही सजिलो हुन्छ । कम्तीमा पनि विद्यालयका केटाकेटी ओसार्ने गाडी रुटमा राख्न नदिए हुन्थ्यो ।
ब्रुमरले व्यापारिक क्षेत्रका फराकिलासडकबाट धुलो सोहोर्ला तर धुलोले त आवासीय क्षेत्रका बूढापाका र बालबालिकालाई बढी सताएको छ । ठेकेदारलाई माटो खोतलेर खनेर जथाभावी छोड्न रोके धेरै समस्या समाधान हुनेछ । फेरि पनि ‘झिल्के विकास’कै सिको टिप्ने हो भने जनताका लागि महानगरपालिकामा फेरिएको नेतृत्व कागलाई बेल पाकेजस्तो मात्र हुनेछ ।
पैदल बाटाको असुविधा हटाउन त वडा कार्यालयकै सक्रियतामा पनि सकिन्थ्यो होला । बस स्टपहरूमा पानी जमेका ठाउँमा पुरिदिने हो भने पनि केही सजिलो त हुन्थ्यो नि !
गोङ्गबु बस स्टपमा हिलो ।
वायुसेवा निगम अगाडि आकाशे पुल नजिकै सामाखुसीतिर आउने बस स्टपमा ढलबाट निस्केको पानी ।
बस चड्न नसकेपछि फर्केकी सेतो छडी लिने यात्रु । चालकले अलि मिलाएर रोकेको भए यात्रुले सजिलै बस चड्न सक्थे।