site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा चुनौतीका चाङ, बिचौलियाले बेच्छन् प्लेट अड्याउने डन्डी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सबै किसिमका सवारीमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेट त्रुटिपूर्ण देखिएको छ । सर्वसाधारण नागरिकले नरुचाए पनि ‘जबरजस्ती’ जडान गर्नुपर्ने बाध्यकारी इम्बोस्ड नम्बरमा विभिन्न समस्याहरू देखिन थालेका छन् । 

इम्बोस्ड नम्बर प्लेट महँगो, सवारीको नम्बर प्लेट बराबरको साइज नमिल्ने, दुई पाङ्ग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट अड्याउने डन्डी पनि बिचौलियासँग महँगोमा किन्नुपर्ने, नम्बर प्लेटमा नेपालीकाे सट्टा अंग्रेजी भाषाकाे प्रयाेग, निश्चित समयावधिमा जडान नगरे जेल हाल्ने चेतावनी जस्ता चुनाैती छन् । 

यातायात व्यवस्था विभागले पुरानै त्रुटि रहेको भन्दै हटाइहाल्नुपर्ने नभएको जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीधनीका यी गुनासाहरू भने विभागले स्वीकार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागका महानिर्देशक नमराज घिमिरे अहिले विभिन्न किसिमका सवारी साधनहरू आउँदा इम्बोस्ड नम्बर प्लेटको साइज फिट (ठिक्क) नभएको बताउँछन् । “त्यतिबेला गहिरो अध्ययन नपुगेको हो । तर, कामै नलाग्ने गरी बिग्रिएको होइन । गहिरो अध्ययन गरेर त्यसलाई चलायमान गर्न सकिने गरी बनाइएको भए हुन्थ्यो,” उनले भने । 

इम्बोस्ड नम्बर प्लेट दुई पाङ्ग्रे सवारीमा अहिले प्रयोगमा भएका नम्बर प्लेट जसरी अडिँदैन । इम्बोस्ड नम्बर प्लेट साधारण नम्बर प्लेट जति पनि नटिक्ने सवारीधनीको गुनासो छ । 

Global Ime bank

दुई पाङ्ग्रे सवारीलाई थप समस्या 

अहिले डिजाइन गरिएको इम्बोस्ड नम्बर प्लेट दुई पाङ्ग्रे सवारी साधनमा जडान गर्न मिल्दैन । इम्बोस्ड नम्बर प्लेट अड्याउन छुट्टै डन्डी चाहिन्छ । उक्त डन्डी यातायात कार्यालयले उपलब्ध गराउँदैन, सवारीधनी आफैँले किन्नुपर्छ । 

यस्तो डन्डीको बिचौलियाहरूले चर्को मूल्य असुल्ने गरेका छन् । बिचौलियाहरूले एउटा दुई पाङ्ग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट अड्याउने डन्डीको ४०० देखि ५०० रुपैयाँसम्म असुल्ने गरेका छन् । 

सरकारले दुई पाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर)मा इम्बोस्ड नम्बर प्लेट जडान शूल्क २ हजार ५०० रुपैयाँ तोकेको छ । तर, बिचौलियासँग छुट्टै डन्डी किन्दा लाग्ने थप ५०० रुपैयाँसहित इम्बोस्ड नम्बर प्लेट जडान खर्च ३ हजार रुपैयाँ पुग्छ । 

यसरी जडान गरिएको नम्बर प्लेट केही महिनामै टुटफुट हुने गरेको सवारीधनीको गुनासो छ । यसले प्रत्यक्ष मारमा सवारीधनी परेका छन् । 

यसबारे विभागका महानिर्देशक घिमिरे भन्छन्, “मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट अड्याउन छुट्टै डन्डी चाहिन्छ । त्यो कसले कहाँ बेच्छन् हामीलाई थाहा छैन । यातायात कार्यालयहरूले उपलब्ध गराउँदैनन् । 

इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागको ताकेता, सांसदको विरोध

विभागले आगामी साउन १ सम्म सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, नगरे कारबाही हुने सूचना निकालेको थियो । जसको जनस्तरमा चर्को आलोचना र विरोध भयो । 

अहिले यातायात व्यवस्था विभागले काठमाडौंको गुर्जुधारा, एकान्तकुना र कास्कीको पोखरामा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था मिलाएको छ ।

उसाे त सरकारद्वारा तोकिएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नभए सवारी जफत गरी जेल हाल्ने सम्मको चेतावनी दिइएको छ । 

जसको विभिन्न राजनीतिक दलका सांसदहरूले विरोध जनाउँदै आएका छन् । बरु ‘जेल जान तयार रहेको तर इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने’ उनीहरूको अडान छ । संसदमा पनि यसबारे बहस चल्दै आएका छन् । 

इम्बोस्ड नम्बर प्लेट जडान लक्ष्य

विभागका महानिर्देशक घिमिरेका अनुसार देशभर ४८ लाख ८२ हजार सवारी साधन छन् । अहिलेसम्म करिब २४ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ । 

०७३ जेठ १७ मा भएको ठेक्का सम्झौता अनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नु पर्ने थियो । नम्बर प्लेटबारे लोमो विवादका कारण समयमै जडान हुन सकेन । 

इम्बोस्ड नम्बर प्लेटको ठेक्का निर्माण व्यवसायी बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनी ज्वाइन्ट भेन्चरले पाएको थियो । सरकारले ल्याएको यस नियम आम सर्वसाधारणको चाहना विपरीत छ । तर सरकारले जबरजस्ती ताकेता गरिरहेको छ ।  

इम्बोस्ड नम्बर प्लेट लिन के गर्ने ?
‘‘२०७८ मंसिदेखि दर्ता भएका सवारीधनीले आफ्नो सवारी दर्ता गर्दा इम्बोस्ड नम्बर प्लेट पनि आह्वान गर्नुपर्नेछ । यसका लागि सवारीधनीले यातायात व्यवस्था विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ,” विभागको महानिर्देशक घिमिरेले भने । 

आवेदनपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बर प्लेट जारी गर्छ । त्यसपछि सवारीधनीले कोड पाउँछन । सवारीधनीले उक्त कोड लिएर यातायात व्यवस्था कार्यालय गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्छन् । 

इम्बोस्ड नम्बर प्लेट आह्वानपछि विभागले उपलब्ध गराएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य सवारीधनी आफैले जडान गर्नुपर्छ ।  

अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा सुरु भएकै छैन । 

पुराना सवारीधनीले सवारी दर्ता प्रमाणपत्र दर्ता गराउन आउँदा वा नामसारी गराउन आउँदा इम्बोस्ड नम्बर प्लेट आह्वान गर्न सकिने व्यवस्था मिलाइनेछ । सो समयावधिका सवारीधनीले अगाडि नै जडान गर्न चाहेको खण्डमा पनि पाइनेछ । 

सवारीधनीले इम्बोस्ड नम्बर प्लेट दस्तुर बुझाएर अगाडि नै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ । इम्बोस्ड नम्बर प्लेट एक पटक जडान भइसकेपछि पुनः निकाल्न मिल्दैन । 

इम्बोस्ड नम्बर प्लेट जडान शुल्क

दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटरका लागि २ हजार ५००, तीन पाङ्ग्रे सवारीका लागि २ हजार ९००, चार पाङ्ग्रे्रेका ३ हजार २०० सय रुपैयाँ र ठूला सवारी साधनका लागि ३ हजार ६०० रुपैयाँ तोकिएको छ । 

सार्वजनिक सवारीमा पेहेँलो र निजी सवारीमा सेतो अक्षरले लेखिएको नम्बर प्लेट हुन्छ । 

इम्बोस्ड नम्बर प्लेट जडान नगरे के हुन्छ ?

विभागका अनुसार सवारी साधनको समयावधि हेरेर यातायात व्यवस्था ऐन २०५४ को दण्डसजायसम्बन्धी व्यवस्थामा दर्ताको प्रमाणपत्र उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले ६ महिनासम्म कैद वा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्न सक्ने कानुनी व्यवस्था उल्लेख छ ।

सोही कानुन बमोजिम तोकिएको समयावधिमा इम्बोस्ड नम्बर प्लेट जडान नभए सवारी जफत गरी जेल हाल्ने चेतावनी सरकारको छ । 

०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट जडानको उद्घाटन गरेका थिए । 

अंग्रेजी इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरी विवादित बनेको थियो । त्यसपछि लामो समय इम्बोस्ड नम्बर प्लेट जडान गर्नेे काम रोकिएको थियो । 

नम्बर प्लेटमा अहिले पनि अंग्रेजी अक्षर नै रहेको छ । यसको पनि चर्को विरोध भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC