काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मकरूपमा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सोहीअनुरूप मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म मात्रै ५० अर्ब रुपैयाँ घाटा भएको बताए ।
इन्डियन आयल कर्पोरेसनलाई २२ अर्ब बक्यौता रहेको उल्लेख गर्दै कर्पोरेसनलाई तिर्नुपर्ने रकम बढ्दै जाने हुँदा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारे । उनले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जाको संकट निम्तिएको र पेट्रोलियम पदार्थको मूल्य बढेर आइरहेको बताए ।
मन्त्री बडूले सरकारले एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युत्को खपत बढाउन विद्युत् महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने नीति लिएको पनि बताए । उनले विद्युत् प्रयोग गर्ने उद्योगलाई विद्युत् महशुलमा छुट दिने सरकारको नीति रहेको पनि उल्लेख गरे ।