सुन्धारास्थित हरिभवन (बागदरबार)को प्रबलीकरण (रेट्रोफिट) गर्ने सराहनीय घोषणा नीतिगत प्रस्थानबिन्दु पनि बन्न सक्यो भने काठमाडौं महानगरपालिकाबाट देशले नै प्रेरणा लिनसक्छ । फलस्वरूप, कमिसनको मोहमा अँगालिएको झिल्के विकासले बिगारेको नीति संस्कृति र जनताका पक्षमा फर्कनेछ ।
त्यसो त काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा अरू पनि थुप्रै राम्रा र कर्णप्रिय नीति तथा कार्यक्रम घोषणा गरिएका छन् । बाघदरबारको प्रबलीकरण यसअघिको झिल्के विकास मोह टुटेको सङ्केत हो भने यसको दीर्घकालीन प्रभाव पर्नेछ ।
रानीपोखरीलाई ‘पौडी पोखरी’ बनाउने महानगरपालिकाको तत्कालीन नेतृत्वको चाहना जनदबाबका कारण पूरा भएन । महानगरपालिकाका पूर्वपदाधिकारीले त्यसको सबै तुस बागदरबारमाथि पोख्दै र भत्काएर छाड्ने जिद्दी गरेका थिए ।
बाघदरबार भत्काउने प्रयास पुरातत्त्व विभागको असहमति र अदालतको आदेशका कारण असफल भएको थियो । अब सम्भवतः बाघदरबारको प्रबलीकरण गरी जीर्णोद्धार गरिनेछ र एउटा ऐतिहासिक भवन जोगिनेछ । प्रबलीकरणतर्फको प्रस्थानले अन्ततः काठमाडौं नै प्रबल हुनेछ ।
भूकम्पलगत्तै प्रबलीकरण थालिएको भए सम्भवतः अहिलेसम्म बाघदरबार प्रयोगमा आइसक्ने थियो । सिंहदरबार पनि ‘झिल्के विकास’का अनुयायीहरूले भत्काउन खोजेका थिए । मूलतः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक जना पदाधिकारीका कारण सिंहदरबार जोगिएको हो ।
प्रबलीकरण हुनसक्ने ऐतिहासिक संरचना भत्काउने वा रानीपोखरीजस्तो पुरातात्विक महत्त्वका सांस्कृतिक सम्पदाको मौलिक स्वरूप नष्ट गर्ने चाहनाको मूल कारण त्यसपछि गरिने निर्माणबाट प्राप्त हुनसक्ने कमिसन नै हो । यद्यपि, ध्वंशपछि मात्र निर्माण हुनसक्छ भन्ने दीक्षा पनि त्यसको कारक हुनसक्छ ।
कारण जेहोस् कमिसनको मोहमा ऐतिहासिक, पुरातात्त्विक सम्पदा मास्ने प्रयत्न गलत थियो । काठमाडौंजस्तो सांस्कृतिक महत्त्वको नगरको त अस्तित्वसँगै जोडिएको विषय हो । नयाँ निर्माण पनि गर्नुपर्ला तर रोज्नै पर्ने हो भने काठमाडौंको पुरानै स्वरूपको संरक्षणले प्राथमिकता पाउनुपर्छ ।
बाघदरवार प्रबलीकरणको निर्णयले गरेको सकारात्मक सङ्केतबाट कुनै लोभ वा त्रासमा परेर महानगरपालिकाका पदाधिकारी विचलित नहोऊन् । काठमाडौंको विकास अब दिगो र मानवीय पनि हुने दिशामा यो प्रस्थानबिन्दु बनोस् ।
देशको बौद्धिक जागरणको ऐतिहासिक प्रतीक त्रिचन्द्र कलेजको जिर्णोद्धार पनि उत्तिकै आवश्यक र महत्त्वपूर्ण छ । विद्यार्थीहरूले त्रिचन्द्रको पुनःनिर्माणको माग गरेर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल सरकारले भने त्यसको उपेक्षा गरिरहेको छ ।
त्रिचन्द्र कलेजको भवन रहेको जमिनमा गाडिएको ‘भूमाफियाको आँखा’ सरकारी उपेक्षाको मूल कारण हो भन्ने सहजै बुझिन्छ । यसैगरी त्रिचन्द्र कलेजलाई सुरक्षाको बहाना बनाएर त्यहाँबाट हटाउने मनसुवा शासकहरू धेरै पहिलेदेखि राखेका थिए ।
ठूला राजनीतिक दलका नेता तथा कार्यकर्ताका लागि सुरक्षा निकाय वा भूमाफियाको स्वार्थ र चलखेलभन्दा माथि उठ्न निकै मुस्किल हुन्छ । यसैले महानगरपालिकाले यसमा पनि हस्तक्षेप गरेर त्रिचन्द्र कलेज बचाउन अगुवाइ गर्नु वाञ्छनीय देखिन्छ ।
महानगरपालिकासँग त्रिचन्द्र कलेजको जिर्णोद्धारका लागि क्षमता नभए संसारभर पुगेका त्नेपाली विशेषगरी त्रिचन्द्र कलेजका विद्यार्थीले आर्थिक र भौतिक स्रोत जुटाउन सक्नेछन् । के बाघदरबार जोगाएजस्तै काठमाडौ महानगरपालिका त्रिचन्द्र कलेजको उद्धारमा पनि अगाडि सर्ला ?