काठमाडौं । चलचित्र ‘चिसो मान्छे’लाई ‘वर्ड अफ माउथ’ले सहयोग गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शकको सकारात्मक प्रतिक्रिया आउँदा त्यसको असर हलमा देखिएको छ ।
चलचित्र निर्माण पक्ष तथा वितरकका अनुसार शुक्रबार बिहानको शो मा ५० देखि ५५ प्रतिशत अकुपेन्सी रहेको चलचित्रको दिउँसो र साँझको शोमा ८० दखि ९० प्रतिशत अकुपेन्सी पुगेको बताएको छ ।
“शनिबार त यसै पनि राम्रो अकुपेन्सी हुने नै भयो । चलचित्र हेर्ने दर्शकको राम्रो प्रतिक्रिया आएका कारण शनिबार अधिकांश हलमा ८५ देखि ९० प्रतिशत अकुपेन्सी थियो,” वितरक करण केसीले भने, “आइतबार ५५ देखि ६० प्रतिशत अकुपेन्सी रह्यो । यो भनेको राम्रो हो ।”
विकेन्डमा जस्तो आइतबार अकुपेन्सी नहुने र मंगलबारसम्म पुग्दा पुनः अकुपेन्सी बढ्दै जाने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । “आर्ट मुभी कमर्सियल चलचित्रजस्तो हाउसफुल हुँदैन । वर्ड अफ माउथको भरमा सवस्तारै चलचित्रमा दर्शक बढ्दै जाने हो ।”
अधिकांश समीक्षकको राम्रो प्रतिक्रिया आउनु र दर्शकको वर्ड अफ माउथ सकारात्मक हुनु चलचित्रको बलियो पक्ष भएको उनको भनाइ छ ।
“म आफैंलाई दर्शकले कतिको बुझ्नु हुन्छ भन्ने डरमा थिएँ । मैले डाइलग धेरै प्रयोग गरेको छैन । मेटाफोरिक सिनेमा बनाएको छु,” दीपेन्द्र भन्छन्, “मेटाफोरिक चलचित्र बुझेर दर्शकको राम्रो प्रतिक्रिया आउनु र दर्शकको उलेख्य चाप हलमा हुनु भनेको नेपालमा आर्ट मुभीका लागि वातावरण तयार हुँदै छ भन्ने हो । यो समग्र नेपाली चलचित्र उद्योगका लागि सकारात्मक पक्ष हो ।”
‘आमा’, ‘पशुपतिप्रसाद’ स्मरण गर्दै उनी आफ्ना चलचित्र ‘वर्ड अफ माउथ’कै भरमा चल्ने गरेको बताउँछन् ।
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘चिसो मान्छे’ देशभरका हलमा प्रदर्शनरत छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा मुख्य भूमिकामा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाललगायत कलाकार छन् ।