नेपालमा घाम कुन बेला लाग्छ ? पानीको कुन बेला पर्छ ? कुनै ठेगाना हँुदैन । त्यस्तै नेपाली नेता पनि घामपानी जस्तै छन् ठेगाना नभएका । सिद्धान्त, विचार विहीन नेताहरू स्वार्थ पूरा गर्न के बोल्छन् ? कोसित घाँटी जोड्छन् कुनै भर छैन । कहिले घाम हुन्छन् त कहिले पानी ।
संविधान कार्यन्वयन पश्चात दोस्रो पटक भएको स्थानीय चुनाव राजनीतिक नेताहरूका लागि विगतको समीक्षा, आत्मालोचना र असल आगतको आह्वान गर्नेे राम्रो अवसर थियो । साथै स्थानीय चुनाव जनताका जीवनसँग जोडिएका विकास सिद्धान्तका विषयमा छलफल केन्द्रित हुनसकेको भए सार्थक हुन्थ्यो । दुर्भाग्य, स्थानीय चुनाव ठूला नेताको एकआपसमा रिसइबी साँध्ने थलोमात्र बन्यो । जनताका सपना यिनै ठूला नेताकोे ईष्र्या र कुण्ठाको जुधाइमा मिचिए । ठूला नेताको ‘मसल’ प्रदर्शनको बीचमा जनताका विकासका सवाल किचिए ।
यथार्थमा स्थानीय चुनावमा न विचार र सिद्धान्तका कुरा भए न विकास र समृद्धिका बहसै गरिए । एकले अर्कालाई कसरी लडाउने र कसरी सिध्याउने भन्ने ध्याउन्नमै नेताहरूले आफ्नो दिन बिताए । शान्ति, स्थायित्व र विकासका सबालमा बहस छलफल गरिएको कतै सुनिएन । जनताका समस्या समाधानका विषमा कसैले चासो नै राखेन ।
स्थानीय चुनावलाई लोकतान्त्रिक अभ्यासको जग मानिन्छ । तसर्थ, चुनावमा राजनीतिक दलहरूबीच हुने वैचारिक प्रतिस्पर्धा र अभ्यासलाई लोकतन्त्रको भविष्यसँग जोडेर हेरिन्छ ।
यसपटकको स्थानीय चुनावताका राजनीतिक दलका जिम्मेवार नेताहरुकोे दम्भ, अहंकार प्रदर्शन उत्कर्षमा पुगेको थियो ।
अमर्यादित अभिव्यक्ति दिएर लोकतान्त्रिक विधि र मर्यादाको नै हुर्मत लिने काम गरे । लोकतन्त्रको मर्मस्थलमा नै प्रहार गरे । लोकतन्त्रको गरिमालाई नै धुजाधुजा पारे ।
जति चर्का कुरा गरे पनि आफ्नो दललाई एक्लै चुनावी मैदानमा ओराल्ने साहस भने कुनै नेताले गर्न सकेनन् । चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत सामाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल सम्मिलित सरकारी गठबन्धन र नेकपा (एमाले)सहित दुई राष्ट्रिय प्रजातन्त्र पार्टी, परिवार दल, लोकतान्त्रिक सामाजवादी पार्टी, जनमत पार्टीलगायत हृदयेश त्रिपाठीको पार्टी सम्मिलित प्रतिपक्षीय गठबन्धन प्रतिस्पर्धामा उत्रिएका थिए ।
नेताहरुका विशुद्ध स्वार्थ र व्यक्तिगत महत्वकांक्षा पूरा गर्न बनेका कारण दुवै गठबन्धनको कुनै वैचारिक र नैतिक आधार थिएन । विचार र नैतिक आधारविना बनेका गठबन्धनहरुको राजनीतिक चरित्र, आदर्श हुने कुरा पनि भएन । आफ्नै भविष्यको चिन्ताले ग्रस्त सरकारी र प्रतिपक्षीय गठबन्धनका नेताका लागि जनताको जीवनसँग सरोकार राख्ने विकासको सबाल प्राथमिकताका विषय बन्ने कुरै थिएन र बनेन पनि ।
विचार, आदर्श र सबै नैतिक जिम्मेवारीबाट मुक्त गठबन्धनधारी नेताहरुको एकमात्र मकसद साम, दाम, दण्ड, भेद जे जे प्रयोग गरेर हुन्छ चुनाव जित्ने र नेपाली राजनीतिमा आफ्नो हैकम र दबदबा स्थापित गर्नेमात्र थियो ।
यस मकसदमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत राजनीति दलका नेताहरुले कति जित पाए ? यसको मूल्यांकन त भै रहला । तर, नैतिकताहीन नेताहरुको कारण नेपाली राजनीतिको विचार र नैतिकताले भने जित्न सकेन । नेपालको राजनीतिक निष्ठाले पनि हा¥यो ।
आफूलाई राजनेता भन्न मनपराउने नेपाली नेताहरुले ‘स्टेटम्यानसिप’ देखाउनै सकेनन् । बरु, उल्टैे नेताहरुले एक अर्काप्रति प्रदर्शन गरेका शत्रुतापूर्ण व्यवहारले उनीहरुको हैसियत र राजनीतिक संस्कारको कुरुप अनुहार सार्वजनिक गरिदियो ।
लोकतन्त्रमा आवधिक निर्वाचनलाई राजनीति दलहरुले जनमत पर्गेल्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने हो । विडम्बना, ठीक यसको उल्टो हामी कहाँ भने नेताहरुले यसलाई आफ्नो आक्रोश र इख पोख्ने थलो बनाए । एकले अर्कालाई गाली बेइज्जत गर्ने, जनतालाई धम्क्याउने अवसरको रुपमा लिए ।
स्थानीय निर्वाचनताका केही नेताहरुले जनताका अगाडि भाषण गर्दा व्यक्त गरेका केही विचार धेरै नै विवादास्पद बने । यस्ता विवादास्पद भनाइबाट नेताहरुको मनोदशा र प्रवृत्ति राम्रैसँग उजगार भयो । साथै, नेताहरुले देशलाई कुन राजनीतिक दिशातर्फ तानिरहेका छन् भन्ने पनि छनक राम्रैसँग पाइयो ।
हँसिया हतौंडाले नजिते देश दुर्घटनामा जान्छ भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी गठबन्धनले चितवनका आयोजना गरेको चुनावी सभामा दिएको धम्कीपूर्ण अभिव्यक्तिले उनको राजनीतिक उचाइ पटक्कै बढाएन ।
पाँच वर्षसम्म प्रमुख भएर भरतपुर महानगरपालिका हाँकिसकेकी छोरीलाई चुनावमा जितउन दाहालले किन जनतालाई यस्तो धम्की दिनुप¥यो ? चितवनमा छोरीले हार्दैमा आकाशै खस्ने के कुरा थियो ? रेणु दहालले पाँच वर्षसम्म भरतपुरमा विकासका लागि गरेको काम उनको जितको लागि पर्याप्त थिएनन् ? यस्ता अनुत्तरित प्रश्नहरु आज पनि उठिरहेकै छन् ।
माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा धेरै उमेदवार उठाएको थियो । अन्य क्षेत्रका उमेदवारले हार्दा देशमा दुर्घटना नहुने तर भरतपुरको मेयरमा माओवादी केन्द्रले हार्दा भने देशमा दुर्घटना हुने भनाइ कति उत्ररदायी हो ? यस्तो दबाब र धम्कीपूर्ण भनाइबाट नेपाली शिशु लोकतन्त्रको मानमर्दन भने राम्रैसँग भयो ।
काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रम माधव नेपालजस्तो ‘कुलंगार’को नाम लिएपछि तीनपटक पानीले मुख कुल्ला गर्छु भनेर पूर्वप्रधानमन्त्री केपी ओलीले बोलेका थिए ।
यसे भनाइले उनका कार्यकर्ताबाट राम्रै ताली पायो । तर, यसले उनको राजनीतिक कद भने पक्कै पनि बढाएन । धेरैले उनको भनाइलाई उनको राजनीतिक संस्कारसँग दाँजे । पचासौं वर्ष दुःखसुखको साथी रहिसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लक्षित यो कथन ओलीको कुण्ठा र छुद्रताको अभिव्यक्ति थियो ।
एमालेका कार्यकर्ताहरू ओलीलाई ‘राजनेता’ भन्दै आएकाछन् । तर, यस्ता दम्भी, अराजक र अराजनीतिक कुरा गरेर कुन नेता राजनेता कहाँ भएको छ र ? आफ्ना समकक्षका विपक्षी राजनीतिक नेताहरुलाई अशिष्ट बोलेर, गाली गरेर ओलीले कस्तो राजनीतिक संस्कार निर्माण गर्दै छन् ?
कांग्रेसलाई चुनाव जिताए प्रत्येक वडाबाट तीन जना युवालाई मलेसिया पठाइदिने तर चुनाव नजिताए बदलामा वडाको लागि राज्यकोषबाट आउने बजेटै रोक्का गरिदिने धम्की पधानमन्त्री पत्नी आरजु देउवा राणाले स्थानीय निर्वाचनताका डडेल्धुराका जनतालाई दिएकी थिइन् । वडाको बजेटै रोक्का गर्ने उनको दम्भ सुन्दा राट्रिय स्रोतमथि शक्तिकेन्द्रहरुले कसरी हस्तक्षेप गर्दा रहेछन् भन्ने पनि उदांगो भएको छ ।
यस्ता दुराशययुक्त भनाइ र धम्कीले आरजु देउवाको मात्र नभएर स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसको छविमा समेत धक्का पुगेको छ । साथै, यसले हाम्रो लोकतन्त्र र निर्वाचन प्रणालीको समेत उपहास गरेको छ ।
नेताहरु भनेका देशका अगुवा हुन् । तर, नेपालमा त अगुवाहरुले नै बाटो बिराउँदै गएका छन् । लोकतन्त्रका विधि र प्रणाली सुदृढीकरणको जिम्मा बोकेका नेताले नै यसरी बाटो बिराएपछि देश र जनताले के अपेक्षा गर्ने ?
राजनीति विचार, सिद्धान्तले चल्ने हो । तर, नेपालको सन्दर्भमा राजनीतिलाई नेताहरुले आफ्नो लहडबाजीमा चलाउने काम गरिरहेका छन् । नेताहरुको स्वार्थ नै नेपालको राजनीति भएको छ । स्वार्थ मिल्दा एउटै बेडमा पनि सुत्न नहिच्किचाउने तर स्वार्थ बाझिँदा भने नाम लिँदा नै मुखै कुल्ला गर्नुपर्ने अवस्थामा पुग्नु नेपाली राजनीतिको चरम दूर्भाग्य हो । यस्ता कुण्ठा, पूर्वाग्रह र ईष्र्याग्रस्त नेताहरुबाट अब हामी कस्तो लोकतान्त्रिक संस्कृति र विकासको अपेक्ष गर्न सक्छौँ ?