जनकपुरधाम । अस्तव्यस्त प्रादेशिक अस्पताल जनकपुर । शुक्रबार साँझ, घामका किरण मधुरो हुँदैछन् । अस्पताल परिसरमा मानिसको ओहोर–दोहोर बाक्लो छ । सबै व्यस्त देखिन्छन् । बर्न वार्ड जाने प्यासेज (बरन्डा) सुनसान छ ।
बर्न वार्डमा बिरामी र स्वास्थ्यकर्मी मात्र छैनन्, ढोकामा सुरक्षाकर्मी पनि खटिएका छन् । भित्र एप्रोन लगाएकी स्वास्थ्यकर्मी बिरामी स्याहार्न व्यस्त छिन् । त्यही छेउको बेड नम्बर १३५ मा छटपटिँदै छिन्, सिन्धुली गोलान्चोरकी रिता (नाम परिवर्तन) । र, त्यो छटपटीको कारण हो, प्रेमीले दिएको पीडा ।
उनको हातखुट्टामा र पेटमा प्लास्टर गरिएको छ । कोल्टे फेर्न सक्ने अवस्था पनि छैन ।
रिता धनुषा महेन्द्रनगरका अरूण साहले करेन्ट लगाइदिएको बताउँछिन् । “अरूणसँगै आठ महिनादेखि बस्दै थिएँ । हामी दुवैजना एक अर्कालाई माया गर्थ्याैं,” भावुक हुँदै रिताले भनिन्, “विवाह गर्न दबाब दिँदा अरूणले मलाई करेन्ट लगाएर मार्ने प्रयास गरेको हो ।” उनीहरू जनकपुर थापा चोकस्थित कोठा भाडा लिएर बस्दै आएका थिए ।
कोठामा मात्रै नराखेर आफूलाई विवाह गरी घर लैजान भनेपछि अरूणले करेन्ट लगाएको रिताको भनाइ छ । “यहाँ बस्दा खर्च धेरै हुन्थ्यो । त्यही भएर मैले अब घर परिवारसँग बसौँ भनेकी थिएँ,” उनले मलिन स्वरमा आफ्नो कुरा सुनाइन्, “केही दिनदेखि अरूण मसँग बसिरहेको थिएन । एक सातापछि कोठामा आउँथ्यो । मलाई एक्लै बस्न गाह्रो हुन थालेपछि घर जान भनेकी थिएँ ।”
उनको उपचारमा संलग्न डा. आश्विन यादवले रिताको हात र खुट्टाको औँला काट्नुपर्ने बताउँछन् । उनकाअनुसार रिताको शरीरको ३० प्रतिशत भाग जलेको छ । उनको शरीर निकै कमजोर भएको छ । हातखुट्टा र पेटमा बढी असर पुगेको छ ।
'जोहरी दिने कोही भएन'
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत करिब एक महिनादेखि रिताको उपचार भइरहेको बताउँछन् । उनकाअनुसार पहिलो साता रिता बोल्न सकिनन् । दस दिनपछि आफैँ करेन्ट लागेको उद्धार गर्ने प्रहरीलाई बताएकी थिइन् ।
“सुरुमा त आफैँ करेन्ट लागेको कुरा गरेकी थिइन्,” डीएपी बस्नेतले भने, “एक सातादेखि प्रेमीले करेन्ट लगाएको भन्दै आएकी छन् ।”
रिताको परिवार फोन सम्पर्कमा आएपनि जाहेरी दिन आएकाे छैन । माइती नेपालले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेर निवेदन दिएको छ । यद्यपि, जाहेरी दर्ता भएको छैन ।
कुनै व्यक्ति जाहेरी दिन नआएपछि ढिलाइ भएको डीएसपी बस्नेतले बताए । “सरकारी वकिलसँग परार्मश गर्दैछौँ । घरपरिवारसँग सम्पर्क भएपनि उनीहरूले चासो देखाएका छैनन्,” उनले भने, “कुनै संस्थाले नेतृत्व गर्नेगरी आइतबारसम्म जाहेरी दर्ता गर्छौं ।”
कसरी भयो चिनाजान ?
रिता दुई वर्षयघि काम गर्न खुर्कोट पुगेकी थिइन् । त्यहाँ उनले धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका युवक अरूण साहसँग चिनजान गरिन् । अरूण काठमाडौंबाट घर फर्किँदै थिए ।
उनीसँग खाजा खाने बेला समान्य चिनजान भएको रिता बताउँछिन् । “त्यतिबेला हामी फेसबुकमा मात्रै जोडियौँ,” उनले अरूणसँग नजिकिएकोबारे भनिन्, “फेसबुकबाट हामी नियमित बोल्न थाल्यौँ । त्यसपछि फोनमा कुराकानी हुन थाल्यो ।” दिनहुँको कुराकानीले नजिक भएको रिता सुनाउँछिन् ।
करिब एक वर्ष फोनमा नियमित कुराकानी गरेपछि एक–अर्कालाई प्रेम गर्न थाले । विसं २०७८ कात्तिक पहिलो साता अरूणसँग भागी विवाह गरेको रिता बताउँछिन् । “म घरबाट भागेर आएँ । दुवैजना जनकपुरको थापा चोकमा कोठा लिएर बस्न थाल्यौँ,” उनले सम्बन्धको पहेली खोलिन्, “हाम्रो दैनिकी राम्रै चलिरहेको थियो । हामी खुसी पनि थियौँ ।”
पैसा अभाव भएपछि रिताले पनि काम गर्ने गरेकी थिइन् । उनले होटेल सिटी पार्कमा पनि काम गरेकी थिइन् । रिताले महिनाको दस हजार कमाउँदै थिइन् । तर, अरूणले आफ्नो घर परिवारको बारेमा कुनै जानकारी नगराउने गरेको रिताको गुनासो छ ।