प्रदेश सरकारहरूले राजनीतिक स्वार्थका लागि मन्त्रालय फुटाएर मन्त्रीको सङ्ख्या बढाउन थालेदेखि नै मन्त्री पद उपहासको विषय बनेको थियो । पछिल्ला दिनमा त झन् अनैतिक र अमर्यादित सबै हर्कतमा समेत संलग्न भएर तिनले मुलुककै बेइज्जत गरेका छन् ।
संघीय अर्थमन्त्री जनार्दन शर्मामाथि गोपनीयता नै भङ्ग हुनेगरी अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको आरोप लागेको छ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरू हरिशरण आचार्य र राजीव गुरुङ ९दीपक मनाङे० नीति र कार्यक्रममा मतदान हुँदा मौन बसेको समाचार सार्वजनिक भएको छ ।
माथिका दुवै उदाहरण अनुचित, अमर्यादित र अराजनीतिक हुन् । कानुनतः दण्डनीय नभए पनि नैतिक दृष्टिबाट अनुचित कार्य हुन् । परन्तु, लुम्विनी प्रदेश सरकारकी राज्यमन्त्री विमला वलीले अर्काको घरमा पसेर वितण्डा मच्चाएर दण्डनीय फौजखारी अपराध नै गरेकी छन् ।
समग्रमा यी सबै क्रियाकलापले दिने सन्देश त एउटै हो ( अहिले मन्त्री पदको मर्यादा मन्त्री हुनेहरूकै कारण खस्केको छ । सम्भवतः असल र इज्जतदार मानिसहरू त अब मन्त्री बन्नै पनि हिचकिचाउँछन् ।
सत्ता जोगाउन जस्तोसुकै आचरण भएका व्यक्तिलाई पनि महत्त्व दिने गर्दा अहिलेको विकृति बढेको हो । चुनाव जित्नैका लागि बदनाम गुन्डालाई समर्थन गर्ने र मन्त्री बनाउने गरेर नेकपा ९एमाले०ले थालनी गरेको विकृति गठबन्धन सरकारका पालामा चरममा पुगेको देखिएको छ ।
संसदीय लोकतन्त्र र शासकीय मर्यादाको सम्मान राख्ने हो भने यस्ता मर्यादाहीन व्यक्तिहरूलाई नेपाल सरकारका प्रधानमन्त्री र गण्डकी तथा लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्रीहरू तत्काल पदबाट बर्खास्त गर्नुपर्थ्यो । तर, पदलोलुप प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले अहिलेसम्म ती मन्त्रीहरूलाई बर्खास्त गरेका छैनन् ।
नैतिकता र वैयक्तिक आचरणमै प्रश्न उठेका व्यक्तिमात्र होइन तिनलाई मन्त्री बनाएर देश र जनताकै उपहार गराउनेहरूलाई अहिलेको संसद्ले पनि सजाय दिने लक्षण छैन । यसैले अब तिनलाई तह लगाउने पालो जनताको हो ।
आउने केही महिनामा देशमा संघीय र प्रादेशिक संसद्का लागि निर्वाचन हुन्छ । यीमध्ये अधिकांश अनैतिक व्यक्तिहरू फेरि उमेदवार हुन सक्छन् । पदको मर्यादासम्म नराख्नेहरू र तिनका मतियार तथा संरक्षकलाई जनताले निर्वाचनमै पराजित गरेर सजाय दिनुपर्छ ।
निर्वाचनका बेला चुके जनतासँग पछुताउनु र भुक्तमान सहनुबाहेक अरू विकल्प हुँदैन । नेपालीको सम्झना शक्ति कमजोर हुन्छ भन्नेहरूलाई यसपटकको निर्वाचनबाट गलत सिद्ध गर्नुपर्छ । देशको माया जनताले नगरे अरू कसैले गर्दैनन् ।