बेलैमा विचार नगरे स्थानीय तहका जनप्रतिनिधिको बितेको कार्यकालजस्तै नयाँ कार्यकाल पनि प्राकृतिक सम्पदाको दोहनकै सेरोफेरोमा बित्नसक्छ । उपलब्ध प्राकृतिक स्रोतको सदुपयोग र दोहनका बीचको भेद हेक्का नराखे प्रतिनिधिबीच पनि द्वन्द्व बढ्ने जोखिम देखिन्छ ।
भौतिक पूर्वाधारमध्ये प्रायः सबैले मोटर चल्ने सडकलाई प्राथमिकता दिएजस्तै धेरैले आय स्रोतको विकासका लागि प्राकृतिक स्रोतको दोहनमा भर परेका हुन्छन् । यी दुवै काम भने वातावरणीय सन्तुलन मिलाएर गर्दामात्र दिगो र लाभदायी हुन्छन् ।
‘डोजरे विकास’का नाममा बदनाम सडक निर्माण साँच्चै नै गलत र अनावश्यक भने होइन । मोटर चल्ने सडक अरू सबै प्रकारका भौतिक सुविधाको पनि मूल बाटो हो । यसैले पहिलो प्राथमिकतामा पर्नु अस्वाभाविक होइन ।
यसैगरी नेपालका अधिकांश स्थानीय तहमा प्राकृतिक स्रोतको प्रचुरता छ । वन, नदी, जमिन, ढुङ्गाबालुवा र अरू प्रकारका खनिज पदार्थ जताततै पाइन्छ । यीमध्ये जमिन, पानी र वन केही हदसम्म व्यवस्थित भइसकेका स्रोत हुन् ।
यसैले स्थानीय तहका जनप्रतिनिधिको ध्यान ढुङ्गाबालुवामा धेरै गएको देखिन्छ । मोटर बाटो पुग्ने ठाउँमा भएका ढुङ्गाबालुवा नझिकिएको र नबेचिएको ठाउँ सायद कतै पनि भेटिन्न । यसैले स्थानीय तहले त्यसलाई आय स्रोत बनाउनु पनि अनुचित होइन ।
परन्तु, अहिले जसरी प्राविधिक र वातावरणीय पक्षलाई उपेक्षा गरेर गरिने बाटो बनाउने र खोला खन्ने काम भने अनुचित र प्रत्युत्पादक दुवै हुन पुगेको देखिएको छ । यसपटक निर्वाचित प्रतिनिधिले पनि विचार नपुर्याए निकट भविष्यमा अकल्पनीय सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ ।
आउनजान सजिलो होस् भनेर डाँडा खोस्रेर बनाइएका बाटाका कारण धेरै बस्ती नै जोखिममा परेका छन् । यस्तै केही रकमका लागि प्राकृतिकरूपमा बर्सेनि आउनेभन्दा बढी र गलत ठाउँमा ढुङ्गाबालुवा झिक्न दिँदा त्यसबाट धान्नै नसकिनै क्षति हुनसक्छ ।
यसैले स्थानीय तहका जनप्रतिनिधिले ढुङ्गाबालुवाबाट हुने आर्थिक लाभ र ‘डोजरे विकास’को रोमाञ्चकतामा फस्नुभन्दा पहिले नै प्राविधिक र वातावरणीय पक्षमा ध्यान दिऊन् । भौगोलिक र प्राकृतिक वातावरण संरक्षण गर्दा दीर्घकालीनरूपमा लाभ नै हुन्छ ।
प्राविधिक ज्ञान र प्रविधिको संयोजन गर्न सके पहिरो नजाने गरी मोटर बाटो बनाउन सकिन्छ । यसैगरी विकासका भौतिक संरचना तथा नदीनालाको प्राकृतिक संरचनामा असर नपर्ने गरी बर्सेनि थपिने जतिमात्रै ढुङ्गाबालुवा झिक्न दिँदा त्यसबाट हानि हुँदैन ।
धरान उपमहानगरपालिकामा खोलामा ढुङ्गाबालुवा झिक्न दिने कि नदिने विषयमा भएको विवाद अध्ययन गरेपछि निर्णय गर्नेगरी साम्य भएछ । अन्यत्र विवादै नगरी अध्ययन गरेर र उपयुक्त भएमात्र ढुङ्गाबालुवा झिक्ने निर्णय गरे बुद्धिमानी हुनेछ । आशा गरौँ, जनताका प्रतिनिधि बुद्धिमान छन् र भ्रष्ट हुनेछैनन् ।