site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बिथोलिएको राजनीति गिजोलिएको समाजसँग

राजनीति बिथोलिएको छ । समाज गिजोलिएको छ । दुवै गन्तव्यहीन देखिन्छन् तर पनि अपेक्षा यही बिथोलिएको राजनीति र गिजोलिएको समाजसँगै गर्नुपर्ने बाध्यता छ । अर्को उपाय नै के छ र ? 

स्थिति सुध्रिएला भन्दाभन्दै धेरै वर्ष बिते । सुधार्ने नारा दिनेहरुकै साथ हिँड्दाहिँड्दै यतिका वर्ष बिते । सिद्धान्तले टाँसिएको चेत सहजै फाल्न सकिँदैन । यस्तै चेतमा कैयौं पुस्ताले सुन्दर सपना देखे । आफ्नै उमेर पनि ओरालो लाग्यो । 

आफ्नो जे भए नि सन्ततिको उज्यालोका लागि तिनले मरिमेटी गरे । तर, स्थिति सुध्रिनुभन्दा बढी उध्रिएको छ । मरेर थाहा पाउने कुनै ठाउँमा बासिन्दा हुन्छन् भने त्यस्ता नेपालीले आफ्नो सपना र कुर्बानीको यो हबिगतलाई कसरी बुझ्दा हुन् ?

KFC Island Ad
NIC Asia

विषय प्रवेश गरौँ । नेपाल दुर्गन्धित छ । राजनीति दुर्गन्धित छ वातावरण त्यस्तै । नदी, नाला र खोला नेपालीका लागि पवित्र जल प्रवाह होइनन् ढल प्रवाहको माध्यम बनाइएका छन् । संघीय राजधानी काठमाडौं त विश्वकै प्रदूषित ठाउँमध्येमा परिचित छ नै । 

के प्रदेश स्वच्छ छन् त ? ती पनि त काठमाडौंकै अनुयायी अनुज न हुन् । कमबेसीमात्र हो । प्रदेशहरु त आर्थिक प्रदूषणका कारण हुने चिन्ता देखिँदैछ । यिनको औचित्य दोस्रोपटक चुनावको सम्मुख पुगेर पनि स्थापित भएको छैन । प्रदेशहरुले आफ्नो औचित्य स्थापित गर्न नसकेको टिप्पणी अन्यथा पनि होइन ।

Royal Enfield Island Ad

राजनीतिक, आर्थिक, सामाजिक प्रदूषणलाई यो हिमाली मुलुकले थेक्छ कसोरी, कहिलेसम्म ? हिमालको स्वेतशुभ्र हिउँको चित्ताकर्षक खण्ड धेरै भयो कालो पहाडको विकृत नग्नतामा अधिक हिस्सा देखिन थालेको । प्रकृतिमाथिको बलात्कारको कुनै हदम्याद छैन, छेकबारको त कुरै छोडौँ जहाँ आर्थिक प्रदूषणै अनियन्त्रित छ । यसैले प्रकृतिलाई बलात्कार गर्न यहाँ गोप्य स्वतन्त्रता सहज छ । 

संक्षिप्तमा भन्नुपर्दा समग्रमा यहाँ राजनीति संरक्षित विकृति छ, प्रदूषण छ । राजनीतिका वाणी सुनौँ त कति प्रदूषित बोल्छन् नेपाली नेता ? कम्युनिस्ट एमालेका केपीशर्मा ओली हुन् कि माओका अनुयायी पुष्पकमल दाहाल । यिनका बोलीमा दम्भ, अहंकार र अरुलाई हेप्ने प्रदूषित सोच घनीभूत सुनिन्छ ।

एमाले नेता ओली त उखान, टुक्का र अरुलाई मर्मभेदी घोचपेच गर्न प्रसिद्ध छन्, विश्व प्रसिद्ध पनि होलान् । यिनको प्रसिद्धिको चर्चा समय बर्बादी हो र पनि यी नेपाली राजनीतिको उपल्लो दर्जामा आसिन छन् । गर्दिनभन्दा पनि स्थानमानले कोट्याउनैपर्ने । 
माओवादी दाहालको अस्ति भर्खरको अहंकार सबैले सुनेकै हो । पहिलो संविधान सभा निर्वाचनबाट ठूलो पार्टीको हैसियतमा प्रधानमन्त्री बनेका दाहालको अहंकार यति उचालियो कि उनले खुलामञ्चबाट सबैलाई बाउन्ने देखे । अन्ततः थेचारिए । 

दम्भ र अवसरवादले उनी यति स्खलित भए कि सबै पुराना शीर्ष साथीले साथ छोडे । तैपनि उनको दम्भ र अवसरवादी प्रवृत्ति नेपाली राजनीतिमा जिउँदै छ । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा एकसयभन्दा बढी ठाउँमा जितेका के थिए, भरतपुरमा छोरी पनि जितिन्, दाहालको दम्भ पुरानै शैलीमा कुर्लिहाल्यो । के यो शैली उनलाई सुहाउँछ ? 

दाहाल आफूलाई हत्या, हिंसा अन्त्य गर्ने र शान्ति स्थापना गर्नेमध्ये एकमात्र जीवित शीर्ष नेता भन्न रुचाउँछन् । स्थानीय तहको चुनावपछि बोले नेपाली राजनीतिको साँचो जनताले माओवादीलाई दिए । अरुले टिप्पणी गरे माओवादी फेरि जुटपत्तीको तुरुप वा जोकर भएछ । जता मिलाए पनि जुट बन्ने । 

उनी कहिले भन्छन् एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई पनि ठेगान लगाइदिन्छु । दाहालको यस्तो दम्भ कांग्रेसकै बुई चढेर आएको होइन र ? हत्या, हिंसा छोडेदेखि नै यिनले कांग्रेसकै बुई चढेका त हुन् नि । गुड्डी हाँकेर एमालेमा विलय भएर नेकपा बनाए । त्यहाँ बसीखानु भएन फर्किए कांग्रेसकै छातामुनि । 

एमाले पनि आफनै कृत्यले जे आयो त्यो परिणाम भोग्दैछ । दाहालको सराप लागेको हो र ? अनि दाहाललाई कसले खुइल्याएको थियो र बिजोग भएको हो ? आफ्नै कृत्यले होइन र ? नेपाली कांग्रेस जहाँ छ त्यो पनि उसकै कर्मले हो । दाहालले मैले बनाएँ भन्नुपर्दैन, बनाउन पनि पर्दैन सके आफैँलाई बनाए भयो । किन दसतिर भौँतारिने ? 

यी त मुखाले कम्युनिस्ट नेताका कुरा भए । त्यही देखासिकी धेरै कार्यकर्ताले गर्न सक्छन् । यद्यपि, कांग्रेसका माथिल्ला नेताहरु अरु नेतालाई मुखाले र दुच्छर घोचपेच गर्न पहिलेदेखि नै जोगिने गरेका छन् । उत्तर दिँदा पनि संयमित शब्द प्रयोग गर्छन् । सायद, सबैलाई सँगै हिडाउने जिम्मेबारी बोधले होला ।  

दम्भी र धम्कीको बोली सुन्दा अहिलेको गठबन्धन भोलि कुन गठजोडमा पुग्छ भन्न सकिँदैन । कर्णप्रिय नारा तय गर्यो सर पर्ने गठजोड बनायो । सिद्धान्तको आधार छैन, नैतिकताको धरातल छैन । यसै प्रवृत्तिले बिथोलेको छ नेपाली राजनीति र समाजलाई । 

दाहालले थपेछन्– ‘हामी संसद्मा छौँ तर संसद्वादी होइनौँ’ । ‘चित पनि मेरै पट पनि मेरै’ भनेजस्तो दोधारे, अवसरवाद । यिनले कुनै दिन हामी लोकतन्त्र भन्छौँ तर लोकतन्त्रवादी होइन भनेमा आश्चर्य मान्ने कुरै भएन । बेठेगान सिद्धान्त, बेठेगान बोली । 

यी कुरा भए बोलीमा प्रदूषण, विचारमा प्रदूषण र व्यवहारमा प्रदूषण । यही प्रदूषणले राजनीति बिथोलिएको हो, अनिश्चित भएको । समाज गिजोलिएको कारण पनि यही नै हो । धर्म, जात, क्षेत्र सबै नाममा समाज गिजोलिएको छ । यिनको पनि त मर्यादा होला, देशका सामु सम्मान राख्नुपर्ला  । 

राजनीतिजन्य प्रदूषण प्रकृति पनि डस्दै छ । प्रकृतिको अनियन्त्रित दोहन संरक्षित भएको कारण अरु होइन, यही हो । राजनीति निस्पृह छ, समाज बेपर्वाह । यही कारण त काठमाडौंका सबै नदीनाला फोहर, ढल र प्रदूषित भएका छन् । 

व्यथा यतिमै सीमित छैन । मेचीदेखि महाकालीसम्म यही व्यथा बढ्दै छ । नदी किनारका बस्तीको ढल निकास नदी । सहरका फोहर प्रवाह गर्ने किनारा नदी । तर राजनीति न बोल्छ न देख्छ । 

नारायणी नदीको किनारमा भरपुर चितवनको फोहर थुपारिएको छ । त्रिशूली, बूढीगण्डकी किनारका बस्तीको ढल नदी बनाइएका छन् । मस्र्याङदी, मादी, सेती सबैको दशा यही हो । मेची, महाकाली, कर्णाली र सबै नदीको हालत यस्तै छ । ठूला नदीमा प्रदूषण देखिन बेला लागेको मात्रै हो । स्वच्छता नबचाए यिनको हालत पनि वाग्मतीकै होला । भावी पुस्ताले भोग्ला । 

साना खोलाखोल्सीमा फालिएको बस्तीको फोहर र बगाइएको ढल अन्ततः मिसिने ठूला नदीमै हो । कति प्रदूषित हुँदैछ नेपाल ? बोलीमा प्रदूषण, व्यवहारमा दुर्गन्ध । तैपनि यही बिथोलिएको राजनीति र गिजोलिएको समाजसँग माग गर्नुपर्ने बाध्यता छ –मुलुकलाई सबै प्रदूषणबाट जोगाऊ, नदीहरुको स्वच्छता बचाऊ । सन्ततिको जीवन प्रदूषणमुक्त बनाऊ ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro