स्थानीय तहको चुनाव सकिएको छ । बजेटमाथि छलफल भइरहेको छ । यसैले दलका नेताहरू अर्को निर्वाचनको तयारीमा लागे पनि सरकार निर्वाचनको मिति घोषणा नहुँदा गरिसक्नुपर्ने काममा व्यस्त हुनुपर्ने हो ।
केही समयका लागि ‘सस्तो र छुचो’ राजनीति थाती राखे देश र जनताको भलो नै हुन्थ्यो । तर, अस्थिरताका पुजारीलाई भने कुनै न कुनै बहानामा किचलो गर्न मन लागिहाल्यो ।
बजेटमा छलफल हुँदाहुँदै अप्रत्याशितरूपमा नेकपा ९एकीकृत समाजवादी०बाट सरकारमा पठाइएका मन्त्रीहरू फर्काइने हल्ला चलाइयो । पार्टीकै सम्मानित नेताले सञ्चार माध्यमलाई सूचना दिए । बहालवाला मन्त्रीहरूलाई भने सूचनासम्म पनि थिएन रे !
सार्वजनिक भएको समाचारअनुसार एकीकृत समाजवादीका अध्यक्षको मन्त्री फेर्ने सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकार नगरेपछि हाललाई फेरबदल रोकिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तत्काल मन्त्री नफेर्न सहमत भएका छन् ।
सरकारले साताको दुई दिन बिदा दिने निर्णय पनि यसरी नै हचुवामै लागु गरेर फिर्ता पनि लिइसकेको छ । न निर्णय गर्दा कुनै अध्ययन गरियो न फिर्ता लिनुपर्ने कारण नै जनतालाई बताइयो ।
राज्यका हर्ताकर्ता विशेषगरी सत्ता गठबन्धनमा सामेल दलका नेताहरू उमेरले त सबै परिपक्व नै छन् । त्यसमा एकीकृत समाजवादीमा त पूर्वप्रधानमन्त्रीहरू नै दुई जना छन् । तर, निर्णय भने यस्तो !
माथिका दुवै घटना देशको दुर्भाग्यको उदाहरण हुन् । बजेटमा छलफल चलिरहेकै बेला मन्त्री हेरफेर गर्ने सनक यथार्थमा सर्वसत्तावादी सनक हो । राजाको सक्रिय नेतृत्व भएको पञ्चायती शासनमा पनि यस्तै हुनेगर्थ्यो ।
एकीकृत समाजवादीका अध्यक्षको वाहियात निर्णयले गठबन्धनका सबै दलहरूभित्र खलबःली मच्चिएको छ । यो खलबली सरकारका लागि अन्ततः प्रत्युत्पादक हुनसक्छ । यसैले प्रधानमन्त्री देउवा गठबन्धनका मठाधीशहरूलाई रिझाउनभन्दा संसदीय मर्यादा रक्षा गर्न दृढ हुनुपर्छ ।
पार्टीले फिर्ता बोलाएको भनेर प्रचार गरिएका मन्त्रीहरूको मनोबल यसै खस्किन्छ । कर्मचारीतन्त्रले त टेर्नै छाड्छ । अब जति नै ढाकछोप गर्न खोजे पनि सरकार सञ्चालन सहज हुँदैन । यसैले बजेट पारित हुनेबित्तिकै संसदीय निर्वाचनको मिति घोषणा गर्नु उचित हुनेछ ।
संसद् नरहेपछि गठबन्धनका नाममा ‘पाटनका छ प्रधान’ बन्ने सपना देख्ने ठालुहरूको पनि भाउ सकिनेछ । गठबन्धनकै भरमा चुनाव जितिने दिन सकिएको नेताहरूले हेक्का नराखे पनि जनताले बुझिसकेका छन् । देशलाई नै बन्धक बनाइराख्ने अस्थिरताका पुजारीलाई हौस्याउने काम नहोस् !