लेखन भनेको पनि एउटा लत, एउटा आदत रहेछ । कुलत हुँदो हो त के छुट्दो हो र? लत वा आदत मात्र भएकाले होला लाग्छोड़ लाग्छोड़ हुने रहेछ । ‘टाढाको स्कुल’ शीर्षकको लेख लेखेपछि करिब करिब पूर्णविराम लागेजस्तो भएको थियो। बलै गरेर अल्पविराम ठहराउने उद्देश्यले यो लेख लेख्न सुरु गरेको छु । समाजलाई सिकाउन होइन आत्मसन्तुष्टिका लागि । समाजबाट त सिक्नु पर्छ भन्छु म । लेखन मेरो पेसा नभएर सोख हो। एउटा भोक, एउटा तिर्खा जस्तो ।
मार्च महिनाको अन्तिमतिर बेलायत गएँ । बहिनीले सोधी - दाजैको कलम किन भुत्ते भो अचेल ? 'नकरा, नकरा' भनेर टारेँ । विषय त्यहाँ पनि भेटिएका थिए। हिथ्रोदेखि चार्ल्टनसम्म रेलका झ्यालबाट देखिएको लन्डनले उसको वैभवलाई गिज्याइरहेको भान हुन्थ्यो। आँगन सफा,करेसा फोहोर राख्ने सभ्यता उनीहरूले हामीलाई सिकाए कि हामीले उनीहरुलाई सिकायौं, यो भन्न गाह्रो छ । तथापि लन्डनको करेसै करेसा कुद्ने रेलले बताउँछ - मनग्गे स्रोत नभएपछि करेसा फोहोर नै छोड्न बाध्य छ बेलायतसमेत । यसै विषयमा अनुभूतिसहितको एउटा लेख लेख्न सकिन्थ्यो, लेखिएन ।
त्यसभन्दा अघि नेपालका राजनीतिक दलका नेतृत्व परिवर्तनसम्बन्धी कुम्भमेला भए। ती कुम्भमेला भए कि कुम्भिपाक नरक? त्यसै विषयमा पनि लेख लेख्न सकिन्थ्यो होला खोइ किन हो जाँगर नै चलेन।
यतै क्यानाडातिर आँतमा केही गरौँ भन्ने राँको बोकेका भाइबहिनीहरूको सत्संग गर्न पाइयो । भाष्कर दाहाल भन्ने एक नौजवान इलामको चिया ल्याएर नेपाल चिनाउछु भनेर कस्सिएर लागेको छ । उसका आँखामा देखिएको सपनाको तेज बारे लेखेको भए पनि हुन्थ्यो, लेखिएन ।
हाम्रो विद्यार्थी कालका टीयुका नेता युवराज खाती दाइजत्तिकै स्वाभिमानी उनका छोरा स्ववीर खाती दैलोमै आएर गाडी धुने, सफा गर्ने कम्पनी चलाएर बसेको छ। ‘वासमान्डु’ नाम दिएको छ कम्पनीको उसले । त्यही भतिजका बारेमा समेत एउटा मीठो लेख लेख्न सकिन्थ्यो । लेखिएन।
अहिले एक से एक व्यवसायी निस्केका छन् टोरन्टो र आसपासमा - हेमन्त रेग्मीजी किच्नर सहरमा हेम्स हाका उघारेर बसेका छन् । ह्यामिल्टनमा अर्जुन कणेल बम्बै ग्रिलमा व्यस्त छन्। सुनन्द सुबेदी हुन् कि खेम भट्टराई खटेका छन् सफल व्यवसायी बन्न । जयराम गौतम, बेनुप भट्टराई, याम घिमिरे समय उबारेर पत्रकारिता गर्दै छन् । श्याम लामिछाने र रबिन मैनालीको श्रमजीवी पाखुरा बज्रेको ध्वनि सुनाइदिँदा के बिग्रन्थ्यो ? तिनैका बारेमा लेखेपनि नहुने थिएन । खोइ किन हो लेखिएन । जाँगर नआउँदा केही लाग्दैन ।
यसै बीच निदरलैंडस् पढ्दाको मेरो युगान्डाली साथीमार्फत एक नेपाली मित्र भेट भयो। नाम खुलासा गर्दिन । अनुमति लिएको छैन। उनको किस्सा अचम्मको छ। गोदावरीतिरका निम्न मध्यम परिवारका उनी पढ्न अमेरिका आए । उनको आफ्नै शब्दमा भन्दा पढेनन्, बिग्रिए । नेपालमा उनी जुन स्कुल पढे त्यहाँ नेपालका धनीमानीका केटाकेटी पढ्थे । तिनै उनका साथी भए अमेरिकामा समेत । उनीहरूलाई पढ्नु थिएन, क्यारियरको चिन्ता थिएन । त्यसै लहैलहैमा यी पनि बेपर्वाह भए । जब चेत खुल्यो शिक्षा बेगर नेपाल फर्किने आँट आएन । कलेज भर्ना भए। दक्षिण अमेरिकातिरकि एक युवतीको प्रेममा परे। विवाह गरे। दक्षिण अमेरिका गए। त्यहाँको गरिबी, हत्या, हिंसालाइ नजिकबाट अनुभव गरे । पत्नीलाई फकाएर नेपाल गए । नेपालमा रहन दक्षिण अमेरिकी रहनसहनले दिएन ।
दक्षिण अमेरिका फर्किए। त्यहाँ झन्डै कन्चटमा गोली पाएनन्। ओखतीका देखि बन्दुकका गोलीसम्म कहिले नाक, कहिले कान नजिकबाट गुज्रेको महसुस गरे। अनि हिँडे फेरि गुन्टा कसेर उत्तर अमेरिका । आए क्यानाडा । पछुतोमा त होइन अन्यमनस्क छन् उनि । भन्थे - तपाईँ त कमसेकम नेपालीमा कुरा गर्न पाउनु हुन्छ नि घरमा । मेरो त त्यो अवसरसमेत गुम्यो। मेरी छोरी न नेपाली रही, न ल्याटिना । रमाइलो त के भने यी मेरा समवयी गोदौरे मित्रको बारेमा नै एक आत्मसन्तुष्टि मिल्ने लेख लेख्न सकिन्थ्यो । खोइ, केले छेक्यो ? लेखिएन।
आज भने एउटा लेख लेख्ने गजबको जाँगर चलेको छ। यो कसरी भने एउटा घटनाले भित्रैदेखि छोएको छ । अक्सर सिनेमा हेर्दा रुन्छु म । सिनेमाले चाँडै छुन्छ मलाई । सबैलाई मैलाईजस्तो हुन्छ होला। सिनेमाले झैँ गरी छोयो यस घटनाले पनि । सामाजिक संजालमा परिचय भएका तर सशरीर भेट नभएका थुप्रैमध्ये एक अग्रज टोरोन्टो आइपुगेपछि हुर्हुरिएर भेट्न पुगेँ म सपरिवार । दाजुले भन्नु भो - अचेल तपाईंको कलम लोझायो। मैले आफ्नो स्वास्थ्य देखाएँ, आफुलाई व्यस्त देखाएँ तर ति भन्दा पर जाँगर नआएको कुरो बताइन। यो भेट र घटना दुवैले लेख फुराए ।
विक्रम सक्वत् २०२८ असारको जन्म हो मेरो । त्यसैले २०५९ वैसाखमा म बत्तीसौं वसन्तमा थिएँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको क्याम्पस प्रमुख बन्ने अफर आयो । जन्मले कोपुण्डोले, रगतले गोर्खाली, विद्याले वास्तुकलामा आचार्य गरेको झर्झराउँदो ठिटो काठमाडौंको शीतलबाट कुनै बेलाको औल झरेको थियो सपना, जोस र अभिभारा बोकेर । जहाँ अहिले हर्क साम्पाङ्गले चुनाव जिते । हो, पूर्वाञ्चल क्याम्पस धरानको क्याम्पस चिफ बनेर म धरान पुगेँ । भन्नेले त खुवाएर बन्यो पनि भने होलान्, मामाको सोर्सफोर्स लगाएर बनेको पनि भने होलान्। ती मिथ्या थिए। वास्तविकता भने अलग थियो ।
विद्यार्थीकालमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिएँ। जतिखेर अफर आयो त्यतिखेर भर्खरैजसो नेपाल प्राध्यापक संघ, पुल्चोक क्याम्पसको सचिवको कार्यकाल सफलतापूर्वक सकेको थिएँ। नवीनप्रकाश जंग शाह उपकुलपति हुनुहुन्थ्यो । म उहाँको टिमको नजरमा परेँ । त्यसभन्दा बेसी, मौका आउँदा केहि गरी देखाउने भोक थियो। सपना थियो भनौं न केही गरेर देखाउने । सकिन। आत्मग्लानि पनि छैन। जे सकेँ, त्यसले सिकेँ र अहिले लेख्ने आँट गर्दैछु। प्रिय अनुज हर्क साम्पाङ्गले यो लेख पढ़लान् नपढ़लान् त्यो अर्को कुरो, उनका अनुचर, सहयात्री वा स्नेहीहरूले पढेर उनको कानसम्म पारिदिए भने पनि त्यसले धरानको कुभलो गर्दैन।
नियतिले नेपाल छोड्न उक्सायो, हिडियो । न क्षोभ छ न ग्लानि । स्नेह त जन्मेको माटोको उल्कै हुने रहेछ । र आफूले छरेका सपनाका बीउहरू जुन माटामा छन् टाक्सिएका, त्यो माटोको बासना पनि घरीघरी कोक्याउन आउँदो रहेछ । धरान मलाई त्यही कोक्याउन आउने माटो हो । त्यहाँ एउटा सपनाको बीउ छरेका थियौँ हामीले । म त प्रतिनिधि पात्रमात्र हुँ। त्यहाँ केन्द्रिय खाद्य प्रविधि क्याम्पसका तत्कालीन सहायक डिनका सपनाका अंश थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपतिका सपना मिसिएका थिए । त्यसैमा तत्कालीन मेयरका उकेराहरू थिए । हाम्रो सपना थियो - धरानको आर्थिकसामाजिक पृष्ठभूमि र अनुशासित समाज, तत्कालीन अवस्थामा आफ्नो कीर्ति फैलाइसकेका शैक्षिक संस्थानहरूका कारण धरानलाई शिक्षाको सहर बनाउने । त्यसको सांकेतिक अर्थ थियो किनभने अन्यथा धरान बदनाम थियो । लाहुरेका बिग्रेका सन्तति, लागु पदार्थको अड्डाको रूपमा चिनिन्थ्यो। अश्लील चलचित्र बनाएको भनेर दुर्नाम थियो । त्यो बदनामीबाट उन्मुक्ति शिक्षाको सहर बनाएर दिनु थियो । के छैन र धरानसँग ? दक्षिण एसियाकै एक प्रभावशाली स्वास्थ्य शिक्षा संस्थान छैन कि ? नेपालको एकमात्र खाद्य प्रविधि क्याम्पस छैन कि ? नेपालको एकमात्र कृषि इन्जिनियर उत्पादन गर्ने क्याम्पस छैन कि ? संस्कृत शिक्षाको पूर्वेली दियो - पिण्डेश्वर क्याम्पस पो छैन कि ? र पनि किन पिछाडी परेको होला धरान ? यही लागेर हाम्रा सपना जन्मेका थिए। उतिखेरै बिहारदेखि होइन बंगलादेशदेखि विद्यार्थी आउने सहर थियो धरान । त्यसलाई व्यवस्थित गराइदिने र अभिभावकत्व लिइदिनु पर्ने दायित्वमात्र थियो नगरपालिकाको । मेयर त तयार थिए, देशको नियति तयार थिएन । देशको प्राथमिकतामा सहरको विकास थिएन । सपना माटोमा छोडेर कोही कता कोही कता पुगियो। अहिले सुन्दै छु - मेयर भाइ म धरानेलाई पानी पिलाउँछु भनेर कुदेका छन्। सराहनीय छन्। यद्यपि, क्यानाडाका विभिन्न स्थानीय सरकारमा करिब एक दशक काम गरेको अनुभव, कुनै बेला सहरी विकास र व्यवस्थापन पढेका विद्यार्थीका हैसियतले मैले उनलाई सुझाउनु पर्दा यति त भन्नै पर्छ - एक सफल मेयर कुशल व्यवस्थापक र कुशल योजनाविद् हुनै पर्छ । पानी पिलाउने कसम व्यवस्थापनमा गएर मैजारो हुन्छ । त्यसपछि के ? मलाई लाग्छ - मेरा निजी सपना गौण हुन् तर धरानेका सपना के हुन् ? सोधेर योजना बनाउनुपर्छ। धरानसँग शिक्षाको सहर हुने सम्पूर्ण पूर्वाधार छन् । हामीले विक्रमको २०६० तिर देखेको सपना एकबाजी सोधिहेर्नु नि धरानेसँग । उनका पनि त्यस्तै सपना पो छन् कि ? यताहुँदी व्यापक जनपरामर्श गरेर घटीमा १० वर्षे 'अफिसियल कम्युनिटी प्लान' बनाउँछन्। त्यसमा सहरी ढल, पानी, सडक, शिक्षा, स्वास्थका लागि चालिने तात्कालिक, अल्पकालीन र दीर्घकालीन लक्ष्य, योजना र नीति लिपिबद्ध गर्छन् । भरे हर्क आउन् कि बिर्ख १० वर्ष चल्ने त्यही नीति र योजनाका आधारमा हो। लक्ष्यमा पुग्यो सहर कि पुगेन ? धरानेले र उनका सन्ततिले मूल्यांकन गर्न चाहने बिन्दु त्यो पो होला त ? हर्क त अजम्मरी होइन । उसको कालखण्ड भने इतिहासको लागि अजम्मरी हो । धरानले आफ्नो पुँजी विश्वभर छरेको छ । पहिले घन्टाघर बनाउँदा समेटेकै हो । अहिले पनि समेट्दा हुन्छ । सोच्नुपर्ने के मात्रै हो भने पुँजीका पनि पाँच प्रकार हुन्छन् - मानव स्रोत, भौतिक, सामाजिक, आर्थिक र प्राकृतिक । कुन स्रोत कहिले परिचालन गर्ने भन्ने चाहिँ व्यवस्थापकको कुशलतामा निहित रहन्छ । हर्क भाइले उसै उसै आतेस लाग्दो उत्साह भरिदिएका छन् । जाऊँ कि क्या ? खन्याउँ कि क्या आफ्ना अनुभवजस्तो पारे यी लाहुरेका छोराले मजस्तो भगौडा ‘बाहुन लाहुरे’लाई पनि । यति उत्साह आफ्नै पैत्रिक नगरपालिकामा आफ्नै भाइ झैँ लाग्ने दीपक कणेलले जित्दासमेत आएको थिएन ।
सुन्दर वसन्त आएको छ नेपाली स्थानीय चुनावपछि, वा कमसेकम परबाट हेर्दा त्यस्तो देखिन्छ। दलहरूका दम्भ तोडिएका छन् । नयाँ मानकहरू बनेका छन्। तन्नेरी पुस्ता अघि आएको छ। आल्हाद त यति कि के भन्नु ?
शनै: शनै: स्थानीय सरकार निर्दलीय हुने क्रममा छन् । यो जायज छ । स्थानीय सरकार निर्दलीय नै हुनुपर्छ । स्थानीय सरकार सेवाग्राहीको सेवा गर्ने ‘सर्भिस इन्डस्ट्री’ हो । सेवा उत्पादन गर्ने कारखाना । यहाँतिर त त्यसैले स्थानीय जनतालाई नागरिक भनेर भन्दा ‘कस्टमर’ ( सेवाग्राही) भनेर सम्बोधन गरिन्छ । सेवा बेच्नेले किन खोज्नु पर्यो कुन पार्टीको भोटर हो भनेर ? पसलमा बसेको साहुजीले फलानालाई मात्र सेवा दिन्छु भन्छ र ? राम्रो सेवाको उत्पादन गर, बेच। अब स्थानीय सरकारले गर्नुपर्ने त्यही हो। उदाहरणार्थ , जन्म मृत्यु दर्ताजस्ता प्रमाण पत्र वा घरधनी पुर्जा 'क' नगरपालिकाले पाँच मिनेटमा दिन्छ भने किन 'ख' महानगरपालिकामा बस्छ मान्छे ? अथवा ख महानगरपालिकाले सातामा एक दिन दैलोमा नै आएर फोहोर उठाउछ भने किन महिनामा एबपटक फोहोर टिप्ने क महानगरपालिकामा कर तिरी तिरी बसिरहन्छ मान्छे ? अब सायद स्थानीय सरकारहरू त्यसरी सेवा दिएर कर उठाउने प्रतिस्पर्धामा लाग्नेछन् ।
विसं २०५९ वैशाख ४ गते म धरानमा पद बहाली गर्न पुग्दा एक चौकीदारले अर्को चौकीदारलाई मरणासन्न हुने गरि गोदेका रहेछन् । गोदाइ खाएका कर्मचारी ओछ्यानमा लडेका थिए। पहिलो टिप्पणी नै छानबिन समिति निर्माणमा थियो । निर्णय नै सदर वा बदर गर्ने थियो । अहिले बालेन शाहको जुत्तामा आफ्नो खुट्टा हालेर हेर्छु - पहिलो निर्णय नै अघिल्लोबाट सिर्जित समस्याको गर्नुपर्नेगरी जुधिरहेका छन्। मेरो हकमा कर्मचारी ओछ्यानमा थिए बालेनभाइको केसमा फोहोर सडकमा । पीडा एकै हुन्। जुट्नु छ, जुध्नु छ।
बालेन भाइका केही लोमहर्षक एजेन्डा छन्। पहिलो हो - पारदर्शिता । पारदर्शी हुनको लागि दिगम्बर हुनुपर्दैन । नगर सभा ( टाउन हल मीटिंग) लाइभ गर्दा हुन्छ, कार्यपालिकाको बैठक होइन । कार्यपालिकाको वैठकमा उपस्थित हुन नागरिकले नाम टिपाउने व्यवस्था हुने गर्छ यता पनि । अचेल सशरीर उपस्थित हुँदैनन् नागरिक । भर्च्युअल नै हो। तर, सो बैठकमा को उपस्थित थियो, को थिएन,त्यसको जानकारी नगरपालिकाको कानुन विभागलाई हुनुपर्छ। किनभने कार्यपालिका वैठकको निर्णयमा रिट नालिस लाग्छ। त्यो ऐनबमोजिमको बैठक हो । भावनाले पद्धति चिन्दैन, पद्धतिले भावनालाई झम्टिन्छ । कलाकार झैँ भावुक हुँदा जेलेन्सकी हुने खतरा हुने गर्छ । यो मननयोग्य बुँदा हो कि ?
त्यसैगरी अर्को- द्रूत सेवा। आकर्षक सुनिन्छ। तर, भुल्न नहुने पक्ष के हो भने द्रूतसेवासमेत नियममा आधारित हुनुपर्छ । नियम नभए बनाउनुपर्छ, अप्ठेरो भए सुधार्नुपर्छ तर मिच्न पाइँदैन। नेपालमा जसले जति धेरै नियम मिच्यो त्यति ठूलो मान्छे होइन्छ भन्ने चर्को भ्रम छ । सुशासनको पहिलो कडी राजादेखि रंकसम्म नियमबद्ध हुनु हो । प्रक्रिया मिच्दा/ मिचिँदा विरोध गर्ने वडध्यक्षहररू गलत छैनन्, बोली र शैलीमा प्रश्न गर्न पाइन्छ । यो पाँच वर्ष 'सार्वजनिक सभामा कसरी शिष्ट र सौम्य स्वरुपमा प्रस्तुत हुने ?' भन्ने बारेमा नै भए पनि एउटा पद्धति बसाल्न सके मुलुकलाई फाइदा नै होला ।
नेपालमा अहिले जनताका, विशेषगरी युवा पुस्ताका जीवन्त र दिगन्त सपना छन् । ती उपर टेकेर निर्वाचित मेयरलाई भगवान बनाउन उद्यत कोटी प्रमथगण छन् । तिनले आकाशमा लगेर ढुङ्गामा पछार्छन् । निकट विगतका बाबुराम काफी छन् नजिर हेतु । प्रमथगणका षड्यन्त्रसँग जोगिँदै त्यस्ता सपनालाई योजनाबद्ध ढङ्गले 'अफिशियल कम्युनिटी प्लान' मार्फत ढुंगामा कुद्नु (स्टोन इंग्रेभिङ्ग) गर्नु जरुरी छ । फोहोरलाई मोहोर त उहिल्यैको नारा हो । किन आजसम्म कार्यान्वयन हुनसकेन ? इच्छा शक्ति हो कि पुँजी हो बाधक ? स्रोतमा सड्ने र नसड्ने फोहोर छुट्याउन कसले रोक्यो ? घर बनाउँदा सेपटिक ट्यांक नबनाउने पापिष्टहरू मास्क र गमबुट लाएर बागमती किनारा झुम्मिएका होइनन् ? समस्या नाराको हो कि जनसहभागिताको ? देखिन्छ मेयर र उपमेयरको युवा जोडी हल बाँधेर सिसडोल धाएको धायै छन । फोहोर सडकमा सडेको सड्यै छ। सम्भवत: जानुपर्ने मतदाताको दैलोमा थियो। त्यहाँ सहयोगको याचना गर्नुपर्थ्यो। वडा अध्यक्ष र निर्वाचित जनप्रतिनिधिलाई व्यापक परिचालन गर्नुपर्ने थियो। बन्चरे डाँडा होस् कि सिसडोल त्यहाँ त मतदाता नै छैनन् उनका । फाल्न दिनुहोस्को याचना आफ्नो ठाउँमा ठिकै होला, केही समय फोहोर उत्सर्जन कम गर्न मद्दत माग्न त आफ्नै मतदाता कहाँ जानुपर्ने होइन र ? उद्देश्य राम्रो भए पनि पहिलो कदम तेर्सो टेकियो भने गन्तव्यमा ढिलो पुगिएला ।
फोहर व्यवस्थापनको बारेमा र एकाध स्थानीय सरकारका उपभोक्ता केन्द्रित अनुभव बाँडेर यो लेख तुर्छु । क्यानाडाका केही प्रान्तमा स्थानीय सरकारले पुन प्रशोधन (रिसाइकल) गर्न मिल्ने बोतल, क्यान, पेपर बाकस, कार्टुन बाकस उपभोक्तासँग किन्छ। ठाउँठाउँमा त्यस्ता संकलन केन्द्र राखिएको हुन्छ । युरोपमा पनि त्यस्तो प्रबन्ध छ । तपाईँले किनेका पेयका बोतल, क्यान , जुसका बाकस ती संकलन केन्द्रमा लैजानुहोस र पैसा लिएर फर्किनुहोस् । सामान्यतया हेर्दा यो स्थानीय सरकारले किनेजस्तो देखिन्छ तर त्यो होइन । हो के भने उक्त उपभोग्य वस्तुमा सुरुमै प्रदूषण कर लगाउँछ सरकारले । तपाईँले त्यो संकलित रकममध्ये स्थानीय सरकारले आफ्नो हिस्सा कट्टी गरेर बाँकी रहेको रकम फिर्ता पाउनुभएको हो । नियम छैन भने यो नियम बनाएर तत्काल लागु गरे हुन्छ । यसले सडकमा प्लास्टिकजन्य फोहोरको परिमाणमा व्यापक कटौती हुन्छ । स्थानीय सरकारले ' प्रदूषणकारीले नै त्यसको मूल्य चुकाउनुपर्छ ' भन्ने विश्वव्यापी मान्यताअनुरूप त्यस्तो कर लगाउन पाउनुपर्छ । त्यस्ता बोतल, बाकस, क्यान सडकमा नफाली संकलन केन्द्रमा लैजानेले आफ्नो पैसा फिर्ता पाउँछ । सहर बाजार तुलनात्मकरूपमा सफा देखिन्छ । यसरी संकलन केन्द्र बनाउँदा रोजगारीको समस्या समेत केही हदसम्म निरुपण हुन्छ । होइन, दिनहुँ सतही निरुपणका लागि भौंतारिने हो भने फोहर त उठ्दैन नै काठमाडौंका युवाको सपना घचक्क बस्छ उठ्नै नसक्नेगरी पाँच वर्षपछि ।
ट्राफिक समस्या वैश्विक हो । त्यसको पनि समाधान छ। सार्वजनिक यातायात स्थानीय सरकारको दायित्व हो । यता पहिले नै सम्पत्ति करमा त्यो हिस्सा जोडेर उठाउँछ स्थानीय सरकारले र प्रवाह गर्छ सेवा । कुनै बेला काठमाडौंजस्तै ट्राफिकको दीर्घरोगबाट ग्रसित ब्राजिलको कुरितिबा सहरले कसरी जीवन पायो ? त्यसको अध्ययन गरे हुन्छ । युट्युबमा स्वस्तिवाचन र दन्तबझानबाहेक यस्ता ज्ञानमूलक भिडियो पनि हुन्छन्। एकाध प्रमथगणलाई स्थानीय सरकारका नेतृत्वले भिडाए हुन्छ बेअर्थी भजन गाउन लगाउनु भन्दा । यस्ता ज्ञानमूलक संदेश हेर्नु, बुझ्नु, पाच्य छ भने यो अहितकारी हुँदैन !
माथि कतै उल्लेख गरेथेँ स्थानीय सरकार सेवाको कारखाना हो भनेर । त्यसकालागि नेदरल्यान्डसको टिल्बर्ग मोडेल अध्ययन गर्दा पनि हुन्छ । स्थानीय सरकारले के बेच्छ, के सहजीकरण गर्न सक्छ भन्ने दरिलो उदाहरण त्यहाँ छ । कसरी निजी सार्वजनिक (पब्लिक प्राइभेट) साझेदारी गर्न सकिन्छ भन्नेसमेत त्यो मोडेल अध्ययनबाट पत्तो लाग्छ। दोलखाको बुलिङमा अलुबखाडा पाकेर लटरम्म छन्, खाइदिने कोही छैन । जो छन् ती झार्न सक्दैनन्, जो झारदिन सक्थे, ती गाउँमा छैनन् भन्दै थिए एक फेस्बुके मित्र । स्थानीय सरकारले करमा छुट दिएर निजी क्षेत्रलाई किन डाक्दैन जाम, जेली, वाइन बनाउन? कि रुख चाहिँ कांग्रेसी परेर हो ? किन बजारसँग जोड्ने प्रबन्ध गर्दैन ? गाडी साहु कम्युनिस्ट परेर हो ? रमाइलो लाग्ला- अलिअघि मैले काम गरेको रुरल म्युनिसिपालिटीले मौरी प्रबर्धन योजनामा लगानी गरेको थियो । त्यसको कारण थियो, वैज्ञानिक मौरी पालनले चौबरसम्म फाइदा दिने रैछ र किसानहरू त्यसको लागी लबी गर्दा रहेछन्। यता मौरी प्रवर्धन गर्न हामी कस्सियौँ, पल्लोपट्टिको नगरपालिकाले पुष्पखेतीमा बजेट ओइऱ्यायो । दुवै पट्टि फाइदा भयो । काइदा भो की भएन त ?
सम्भवत: माटोको मायाले यो लेखायो । नेपाल गर्न सक्ने प्रशस्त ठाउँ भएको र निर्घात सामाजिक र प्राकृतिक पुँजी भएको देश हो । त्यो देशमा तुमुल ध्वनिका साथ् नयाँ रक्त संचार भयो पछिल्लो स्थानीय चुनावले । अत्यासै लाग्दो उत्साहले गद्गद् छौँ हामी यति पर पनि । साथ, सहयोग चाहेमा यताको भाषामा भन्दा 'जस्ट अ कल अवे !'
(ह्यामिल्टन, क्यानाडा)