बुटवल । दैनिकजसो बलात्कारका घटनाहरु आइरहेका छन् । यस्तैमा निकै दु:खद घटना घटेको छ, बाँकेमा। बाँके राप्ती सोनारीकी एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न पाँचजना र सहयोगीसहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का हुन् । उनीहरु १६ वर्षदेखि २५ बर्षसम्मका छन् ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले पीडित बालिकाको बयानका आधारमा पक्राउ परेकाहरुलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाए ।
यसरी भयो घटना
पीडित किशोरी र बैजनाथ ८ का एक १७ बर्षीय किशोरका बीचमा विगत एकवर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान हुनुका साथै माया प्रेम बसेको थियो ।
शनिबार दिउँसो उनै १७ वर्षीय किशोरको आफ्नो जन्मदिन मनाउन भनेर ती किशोरीलाई बाँके र बर्दिया जिल्लाको सीमानामा पर्ने मानखोला जंगल क्षेत्रमा आउन आग्रह गरे ।
राप्ती सोनारीबाट ती किशोरी सार्वजनिक बस चढेर प्रेमीको जन्मदिन मनाउन भनेर पुगिन् । तर, त्यहाँ ती किशोरका अरु साथीहरु पनि थिए ।
मानखोला पुगेकी ती किशोरीलाई शनिबार साँझपख प्रेमी र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे ।
बढैयाताल घुमाएर फेरि उनीहरु मानखोलाको फूलवारी आइपुगे । त्यहाँ घरेलु मदिरासहितको जन्मदिनको पार्टी चल्यो । उनीहरुले किशोरीलाई पनि मदिरा सेवन गर्न कर गरे । किशोरी मदिराले लठ्ठ परिन् ।
त्यसपछि एकपछि अर्को गर्दै त्यहाँ रहेका पाँचजनामध्य एक जना किशोरीका प्रेमी १७ वर्षीय, उनका साथीहरु विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले पालैपालो बलात्कार गरे । त्यो पीडा खेप्न नसकेर किशोरी अचेत भइन् । अचेत किशोरीलाई मोटर साइकलमा राखेर राति नै उनीहरुले बाँके बैजनाथ ८ पिपरीस्थित बिक्रान्त थारुको कटेरोमा पुर्याए । जहाँ उनको बंगुर फार्म छ । त्यहाँ पनि विक्रान्त र निराजले सामूहिक बलात्कार गरे ।
जब बिहान हुन थाल्यो अब फसिने भइयो भन्ने त्रास उनीहरुलाई परेको पाइएको प्रहरीले जनाएको छ । अर्धचेत अवस्थाकी ती किशोरीलाई मध्यराति नै घर पुर्याइदिने योजना बनाए ।
बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग भयो । बिक्रान्तको आग्रहमा एक जना चलाउने र अर्का एकजना ती किशोरीलाई पछाडिबाट समात्ने १६ र १७ वर्षका किशोरहरु मोटरसाइमा कुदे ।
जब उनीहरु अर्धचेत अवस्थाकी किशोरीलाई बीचमा राखेर नेपालगन्ज- गुलरिया सडक खण्डमा आइतबार बिहान ४ बजेतिर कुदी रहेका थिए । त्यति नै खेर उढरापुरमा प्रहरी चेकिङमा परे । किशोरीको अवस्था देखेर प्रहरीलाई आशंका भयो ।
सोधपुछका क्रममा उनीहरु समातिए । प्रहरीले तीनैजनालाई कार्यालयमा पुर्यायो । किशोरीको होस फिरेपछि उनले आँफुमाथि सामूहिक बलात्कार भएको भन्दै पीडा पोखिन् ।
पीडित किशोरीको बयानका आधारमा उनका १७ वर्षीय प्रेमीसहित मोटरसाइकल चलाएर सहयोगीको भूमिका खेल्ने तीनजना अण्डर ऐजकासहित सात जना पक्राउ परे ।