काठमाडौं । काठमाडौंको लैनचौरबाट एक व्यक्तिको साथमा रहेको ३५ लाख रुपैयाँ लुटेर फरार दुईजना पक्राउ परेका छन् । यहि जेठ आठ गते लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट अपरिचित केहि ब्यक्तिहरुको समूहले कास्कीका एकजनाको साथमा रहेको सो रकम लुटेका थिए ।
सोही आरोपमा नुवाकोट घर भई बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौं मालीगाउँ बस्दै आएका ३४ वर्षीय सालिक राम नेपाली छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न फरार ब्यक्तिहरुको पहिचान खुली सकेकोले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।