स्थानीय तहको चुनाव सम्पन्न भएर नतिजा पनि आइसकेको छ । नेपाली कांग्रेस सबभन्दा बढी स्थानमा विजयी भएको छ ।
खासगरी कांग्रेसको परम्परागत गढको रुपमा परिचित मधेसमा पनि मधेस केन्द्रित दलहरूसँग कडा प्रतिस्पर्धा भए पनि सन्तोषजनक परिणाम ल्याउन सफल भएको छ । कांग्रेसकाे प्रतिस्पर्धा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग बढी थियो । ठाउँठाउँमा नेकपा (एमाले) सित पनि प्रतिस्पर्धा भएको थियो । तर सबै दललाई पछि पार्दै कांग्रेस अगाडि बढेको छ ।
यति हुँदाहुँदै पनि मधेसमा कांग्रेसको पहिलेकाे वर्चस्व घटेको छ । यसका अनेक कारणहरू छन् । कांग्रेसले योग्य, सक्षम र जनाधार भएको उम्मेदवारलाई टिकट नदिएर पहुँच र व्यक्तिगत सम्बन्धको आधारमा केन्द्रीय नेतृत्वद्वारा टिकट वितरण गर्नु प्रमुख कारण थियो भने अर्कोतिर टिकट न पाएर कतिपय कांग्रेसका कार्यकर्ता स्वतन्त्र भएर वा अर्को पार्टीबाट रातारात टिक लिएर लडे । कांग्रेसका पुराना योग्य र जुझारु नेता कार्यकर्ता विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिए र चुनाव पनि जिते ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा कांग्रेसले सक्रिय र जुझारु नेता मनोज साहलाई टिकट दिएरपछि उनले स्वतन्त्र उम्मेदवारी दिए र सर्वाधिक मतले विजयी भए । काठमाडाैं, धरान, धनगढीलगायत सहरमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भए ।
स्पष्ट छ केन्द्रीय नेतृत्वले विवेक र समझदारी पुर््याउन सकेन । फलस्वरूप कांग्रेस जित्ने ठाउँमा पनि विद्रोही उम्मेदवारले गर्दा हार्न पुग्यो । बेलैमा गम्भीरतापूर्वक ध्यान नदिँदा यस्तो स्थिति पैदा हुन गयो । यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । मधेसमा स्थानीय कांग्रेसका पदाधिकारीहरूबीचकाे गुटबन्दीले गर्दा पनि कांग्रेस अपेक्षित परिणाम ल्याउन नसकेको हाे ।
पालिकाको वडावडामा कांग्रेसका जिल्ला पदाधिकारीहरू संगठित प्रचारप्रसारमा नजानु तथा भित्रैभित्रै अन्तर्घात गर्नु र उम्मेदवारको मनोबललाई हतोत्साहित गर्नु र मतदातालाई सम्झाउन नसक्नु पनि हारका कारण हुन् । पहिलाे स्थानीय चुनावमा कांग्रेसलाई मतदान गर्ने मतदाता मधेस केन्द्रित दल जसपा, लोसपा र एमालेलाई मत दिन पुगे । मधेस आन्दोलनताका एमाले नेताको मधेस विरोधि कथन र क्रियाकलाप हुँदा पनि मधेसमा एमालेको मत वृद्धि हुनुमा कांग्रेसका नेता र कार्यकर्ताको अकर्मण्यता नै कारण हो ।
मधेसका गाउँ देहातका जनता एमालेको मधेस विरोधी क्रियाकलाप बारे अनभिज्ञ हुन स्वाभाविकै हो । एमालेको दुइतिहाइ बहुमतीय सरकारले तीन वर्षसम्म एकलौटी सरकार संचालन गरे तर संविधान संशोधन गरी मधेसका माग सम्बोधन गरेनन् ।
नयाँ संविधान घोषणा पश्चात मधेस केन्द्रित दलले करीब ५ महिना ठूलो आन्दोलन गरे र कतिपय मधेसी युवाले सहादत पनि दिए । तैपनि एमाले नेतृत्वको सरकारले वास्ता गरेन । उल्टै एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस र मधेसीप्रति तुच्छ शब्द प्रयोग गरी व्यङ्ग्यात्मक कटाक्ष गर्दै रहे ।
संविधान संशोधनको नाम उच्चारण गर्न नसक्ने ओलीले आवश्यकता र समयअनुसार संविधान संधोधन हुने भनी रट लगाई रहे ।
कांग्रेसले संसद्मा संविधान संशोधनको प्रस्ताव राख्दा एमालेले ठाडै अस्वीकार गरेकाे थियाे । संविधानको घोषणापछि तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वको सरकारले संविधानका केही प्रावधान संशोधन गरेकाे थियाे । तर त्यो अपर्याप्त थियो । त्यसले मधेस केन्द्रित दलहरूको चित्त बुझेन ।
मधेस सधैँ कांग्रेसको उर्बरभूमि रहँदै आएको छ । तर विगत दशकदेखि मधेसवादी दलहरूको सक्रियताले गर्दा केही ह्रास चाहिँ आएको छ । तर निराशाजनक भइसकेकाे छैन । कांग्रेसले अब मधेसमा संगठन विस्तारमा जोड दिनुपर्छ । मधेसका गाउँ देहातमा सामान्य जनता मधेसवादीहरूको बहकाउमा पर्ने गरेका छन् तिनलाई कांग्रेसका स्थानीय नेता कार्यकर्ताले कुरा बुझाएर आफूतिर तान्ने प्रयास गर्दैछन् ।
स्थानीय चुनावमा बढेकाे मधेसवादीदलको ग्राफलाई आगामी चुनावमा रोक्ने रणनीति बनाएर कांग्रेस बढी मधेसमैत्री बन्नुपर्छ । यसका लागि दीर्घकालिन सोच बनाई नीति र कार्यक्रम ल्याउनुपर्छ । यसमा ढिलासुस्ती गर्नु हुँदैन । संविधान संशोधन गरी मधेसको माग बेलैमा सम्बोधन गर्नुपर्छ ।
सत्ता गठबन्धनले कांग्रेसभन्दा माओवादीलाई फाइदा पुगेको छ । एमालेबाट अलग भएकाे माओवादी केन्द्र सत्ता गठबन्धनबाट बढी लाभान्वित भएको छ । एकीकृत समाजवादी पनि अस्तित्व कायम राख्न सफल भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीलाई मात्र हैन छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख बनाउनसमेत सफल भए । पाँच दलको सत्ता गठबन्धनले कांग्रेस इतर दललाई बढी फाइदा पुगेको छ । कांग्रेसले गठबन्धन न बनाउँदा पनि एक्लै बहुमत ल्याउने सक्न हैसियत थियो । तर, नेतृत्वको आत्मविश्वासको कमीले गर्दा गठबन्धन गर्न पुग्यो । कांग्रेसका बहुसंख्यक कार्यकर्ताले विरोध गरूदा पनि गठबन्धन गरियो ।
पाँच दलीय गठबन्धनले महानगरपालिका उपमहानगरपालिकामा भाग बण्डा गरी कार्यकर्ता तथा मतदाताको वैचारिक मान्यतामाथि खेलबाड गरे । रुखमा जीवनभर मत दिनेहरू अन्य छापमा मत खसाल्न बाध्य भए । यसरी कांग्रेस कार्यकर्ता र मतदाता पीडाले घाइते भयो । कांग्रेसलाई कांग्रेसकै कार्यकर्ताले ठाउँठाउँमा अन्तर्घात गरे । कांग्रेसमा अन्तर्घातको पुरानै रोग हो । पार्टीभित्रको गुटबन्दीले तल्लो तहसम्म असर परेको छ । स्थानीय तहको नगरपालिका र गाउँपालिकामा कांग्रेसका कार्यकर्ता नै आफू अनुकूलका उम्मेदवार न देखिएपछि रुख छापको बदला छाता, हसिया हथौडामा मत हालेको पनि देखियो ।
मधेस प्रदेशको आठ वटै जिल्लामा कांग्रेस सबभन्दा बढी सिट जित्न सफल भएको छ । अधिकांश ठाउँमा जसपा, लोसपा तथा एमालेसित प्रतिस्पर्धा भएको थियो । कांग्रेसका धेरै कार्यकर्ता टिकट नपाएर जसपा. लोसपा र राप्रपाबाट टिकट लिई जितेका छन् । यसरी कांग्रेसभित्रको अन्ततर्घात, टिकट वितरणमा धाँधलीलगायत हुँदा पनि कांग्रेसले अपेक्षाकृत राम्रो सिट जित्न सफल भएको छ । कांग्रेसले आफूभित्रका विकृति र विसंगति हटाउन सके अगामी प्रदेश र संघीय चुनावमा निश्चय नै सबभन्दा ठूलो पार्टी बन्नेछ ।
यसका लागि कांग्रेसले अहिलेदेखि नै समीक्षा गरी अगाडी बढ्नुपर्छ । गाउँगाउँमा संगठन विस्तार गरी कार्यकर्तालाई परिचालन गर्नुपर्छ । प्रशिक्षणलगायत कार्यशाला गोष्ठी, विचार गोष्ठीमा जोड दिनुपर्छ ।