काठमाडौं । मलिन अनुहार लिएर घुम्टो ओडेकी एक अधबैँसे महिलालाई नेपथ्यबाट कसैले सोधको सुनिन्छ– के होला नाम ?
जवाफ : सूर्यबहादुर रोकाया
'मृतक हो कि बेपत्ता हो ?'
तर्सिएकी महिलाको आवाज सुनिन्छ– हँ ?
आँखाबाट आँसु बगाएकी उनी हलचन नगरी उभिइरहन्छिन् ।
त्यसपछि ‘फेडइन’ हुँदै गरेको धुनसँगै धमिलो दृश्यमा देखिन्छन्, प्रकाश अर्थात् चलचित्र ‘प्रकाश’का मुख्य पात्र प्रदीप खड्का ।
दृश्य उज्यालो हुँदै जाँदा सानो उपत्यकाको ओरालोमा देखिन्छ, लास बोकेर घाटतर्फ जाँदै गरेका केही मान्छे ।
त्यसपछि सुरुकै दृश्यमा देखिएकी महिला र मधुरो उज्यालोमा देखिएका युवक ताला लागेको कुनै एक सरकारी कार्यालयमा बसेको देखिन्छ । सायद उनीहरू कार्यालय खुल्ने प्रतीक्षामा छन् ।
‘खोइ के भन्ने ? बाउ आउने आसमा बसेको छु, बाउ पनि बाँचेको छ जस्तो लागेन’ नेपथ्यमा बोलेको सुनिन्छ ।
‘दुःख गरीगरीकन पनि पैसा खुवाउनुपर्ने भए हुनु छैन मलाई मास्टरसास्टर’ अबेर राति मझेरीमा बसेको प्रकाशले थोरै आक्रोश र धेरै दुःखमिश्रित पीडा पोख्छ ।
‘मेरो खेत...’ ऊ वाक्य पूरा गर्न सक्दैन । आँखामा आँखा जुधाउन पनि सक्दैन । अगाडि भन्छ– मेरो मिहिनेत खेर गयो ।
उस्तै थोरैथोरै अँध्यारोमा खिचिएको दृश्यमा प्रकाश पुल तरिरहेको छ । त्यही बेला उसैगरी नेपथ्यमा उसको आवाज सुनिन्छ– बाउ यसैका लागि लडे । बाउको सपनामा टेक्दिनँ अब ।
पृष्ठभूमिको आवाजमा गीत ओभरल्याप हुन्छ । ऐनामा उनै अधबैँसे महिलाको अनुहार उस्तै मलिन देखिन्छ । त्यसपछि देखिन्छ अध्यारो चिर्न नसक्ने राँको झन्डैझन्डै पुल्ठोजस्तो । अनि, स्क्रिनमा देखिन्छ– चलचित्र प्रकाशको प्रदर्शन मिति ।
यो हो आज सार्वजनिक गरिएको चलचित्र ‘प्रकाश’को टिजर । टिजरले चलचित्रको मुख्य पात्रले शिक्षक बन्न गरेको संघर्ष प्रष्ट्याएको छ । हराएको पुरुष प्रकाशको बुवा भएको संकेत गरेको छ । तर, प्रष्ट छैन । टिजर दर्शकमा कौतूहल सिर्जना गर्न सफल छ ।
शिक्षक बन्न प्रकाशले खेत बेचेर घुस खुवाएको संकेत टिजरले गरेको छ । मिहिनेत व्यक्ति स्वयंले गर्नुपर्ने तर जागिर लगाइदिन्छु भन्दै घुस खाने प्रवृत्तिलाई देखाउन खोजेको छ ।
आफ्नो श्रीमान्को शिक्षक हुने धोको र संघर्ष पूरा नभएपछि छोरामार्फत श्रीमान्को सपना पूरा गर्न खोज्दै गरेकी महिलाको कथा निर्देशकले भन्न खोजेको टिजरले छनक दिएको छ ।
चलचित्र कस्तो बन्छ थाहा छैन, तर टिजरले दर्शकमा अपेक्षा बढाइदिएको छ । सिनेमा दृश्य भाषा हो । टिजरले निर्देशक सिनेमामा भरपुर दृश्यमा खेल्ने देखिएको छ । टिजरमा प्रयोग भएका संवादअनुसारको रङ र दृश्यमा निर्देशक चनाखो देखिएका छन् । लवज र भाषामा सजग देखिएको टिजरमा प्रयोग भएका दृश्यलाई विम्बका रूपमा बुझ्न सकिन्छ ।
प्रायः अँध्यारा दृश्य, आरालो यात्रा, अँध्यारो चिर्न नसक्ने राँको, बन्द सरकारी कार्यालयले धेरै संकेत गर्छ । फुरुंग उडेका दृश्यले उज्यालो नेभेटिएको जिन्दगी संकेत गर्छ । प्रयोग भएको ध्वनि र गीतले त्यसलाई पुष्टि गर्छ ।
अक्सर यसअघिका चलचित्रमा ठिकठाक मात्र लाग्ने प्रदीप क्यारेक्टरमा ‘ढलेका’ छन् । नबोलेरै दीया मास्केले धेरै कुरा भनेकी छन् । टिजरले प्रदीपको फ्यान फलोइङ बढाउला । युवापुस्तामा मात्रै सीमित रहेका उनलाई त्यो साँघुरो परिधिबाट बाहिर निकाल्नेछ ।
तर, चलचित्र टिजरले मात्रै निर्धारण गर्दैन । पछिल्लो समय नेपाली सिनेमामेकर खेप्दै आएको एउटा आरोप छ– टिजर र ट्रेलर राम्रा बनाउने नेपाली निर्देशक चलचित्र किन राम्रा बनाउँदैनन् ? यसमा निर्देशक दिनेश राउत सजग नै छन् होला । टिजरले मात्रै चलचित्र चल्दैन । यसका लागि चलचित्र नै बलियो हुनुपर्छ । अन्यथा, टिजरबाट बटुलेको तारिफ गालीमा परिणत हुनेछ ।