बजेटमै सर्वोच्च अदालतका निर्णयहरूको अवज्ञा गरेर सरकारले संवैधानिक मर्यादा उल्लङ्घन गरेको छ । अदालतले रोक लगाएका परियोजनाहरूमा उपयुक्त निर्णय नगर्दै बजेट विनियोजन गर्नु कार्यकारी अराजकता हो ।
आर्थिक वर्ष २०७९\८० को वार्षिक आयव्यय विवरण (बजेट)मा निजगढ विमानस्थलका लागि बजेट विनियोजन तथा ‘ढुङ्गागिटी’ निकासी गर्ने प्रावधान समावेश गरेर सरकारले कार्यकारी अराजकता देखायो । यी दुवै सर्वोच्च अदालतले स्थगित गरेका विषय हुन् ।
निजगढ विमानस्थल परियोजना नबनाउन सर्वोच्च अदालतले हालै सरकारलाई आदेश दिएको थियो । सरकारको त्यसमा चित्त नबुझेको भए उपचार खोज्नसक्थ्यो । तर, अर्को निर्णय नहुँदासम्म अदालतको निर्णय मान्नुपर्थ्यो ।
नागरिक स्तरबाट पनि विशेषगरी वातावरण विनाश र विस्थापनको चिन्ता प्रकट गर्दै निजगढमा विमानस्थल निर्माणको विरोध भएको थियो । सर्वोच्च अदालतले विमानस्थल बनाउन रोक लगाउने निर्णय गरेपछि त्यसविरुद्ध पनि टिप्पणीहरू भएका थिए ।
सरकारले विमानस्थल बनाउनै पर्ने ठानेको हो भने पनि सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अध्ययन गरी बाधा फुकाउने प्रक्रिया अपनाउनु पर्थ्यो । तर, सरकारले त बलमिचाहा बाटो अपनायो । ढुङ्गागिट्टी निकासीका सम्बन्धमा पनि त्यसरी नै बलमिच्याइँ गरियो ।
निजगढ विमानस्थल वा ढुङ्गागिटी निकासी यस वर्षको बजेटमा समावेश नहुँदा देशको अर्थतन्त्र वा शासन पद्धतिमा कुनै प्रतिकूल प्रभाव पर्ने देखिँदैन । यसैले संवैधानिक मर्यादा मिच्ने हेलचेक्रयाइँ नगरेको भए पनि खासै केही फरक पर्ने थिएन ।
हुनत, अर्थमन्त्रीको नियत नै विधिको शासनको अवज्ञा गर्ने नहोला । कर्मचारीतन्त्रले पुरानै बजेट सार्दा हेलचेक्य्राइँ गरेकाले दोहोरिएको हुनसक्छ । तैपनि जिम्मेवारी भने राजनीतिक नेतृत्वकै हुन्छ र कार्यकारीको भूमिका र नियतप्रति सन्देह उब्जिन्छ ।
विपक्षले यो विषय सम्भवतः सदनमा नउठाउला । अगिल्लो बजेटमा समावेश भएकै विषय भएकाले प्रमुख विपक्षी दलले निजगढ वा ढुङ्गागटी निकासीको विरोध गर्न हिचकिचाउन सक्छ । तर, सर्वोच्च अदालतको निर्णयको अवज्ञाको विषय उठाउनु विधिको शासनको पक्षमा हुनेछ । कार्यकारी अराजकता नियन्त्रणका लागि पनि सांसदहरूले यो विषय संसद्मा उठाउनु उचित हुन्छ ।
मन्त्रिपरिषद्ले जानाजान यसरी सर्वोच्च अदालतको अवज्ञा गरेको हो भने त्यसले अकल्पनीय अराजकता निम्त्याउन सक्छ । थाहा नपाएर यस्तो गम्भीर त्रुटि हुन पुगेको हो भने सरकार कार्यपालिकाको जिम्मेवारी वहन गर्न अक्षम देखिन्छ ।