मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिजलाई केही सर्तसहित आबुधबी दुबई जाने अनुमति दिइएको छ ।
मनी लाउन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी)को अनुसन्धानमा रहेका उनलाई दिल्ली अदालतले आबु धाबीमा हुँदै गरेको आईफा अवार्डमा सहभागी हुन विदेश जाने अनुमति दिएको हो ।
अभिनेत्री ज्याकलिनले आईफालगायत नेपाल र अर्को एउटा देशमा जान पाउँ भनी दिएको निवेदनमाथि सुनुवाई गर्दै शनिबार दिल्ली अदालतले उक्त अनुमति सुनाएको हो ।
शनिबार अतिरिक्त सत्र न्यायाधीश प्रवीण सिंहले उनको निवेदनलाई अनुमति दिँदै भने, “तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै, आवेदनलाई अनुमति दिइएको छ । आवेदकलाई २०२२ मे ३१ देखि २०२२ जुन ६ सम्म आबुधबी, यूएई यात्रा गर्न अनुमति दिइएको छ । दिइएको अवधिमा, यस मामलामा जारी गरिएको आवेदक विरुद्धको एलओसी निलम्बित हुनेछ ।”
अर्थात अभिनेत्री ज्याकलिनले ७ दिनका लागि मात्र लागु हुनेगरि स्वदेश छोडेर जाने अनुमति पाएकी हुन् । यो समायावधिपछि मुद्दाको छिनोफानो नभएसम्म पहिलेकै कानुन लागु हुने छ ।
यसका साथै ज्याकलिनलाई थप सर्तसहित विदेश भ्रमणको अनुमति दिइएको हो ।
सर्वप्रथम उनले यात्रा र कार्यक्रमको तालिका पेश गर्नुपर्नेछ, उनी जाने ठाउँहरु, बस्ने होटललगायत त्यहाँ हुँदा प्रयोग गर्ने फोन नम्बर उपलब्ध गराउनुपर्नेछ । । यसका साथै उनले भारु ५० लाख रुपैयाँको जमानत पेश गर्नुपर्नेछ र यदि उनी फिर्ता भइनन् भने उक्त रकम निलम्बन हुनेछ ।
कार्यक्रम सकिएर फर्किएपछि उनले अनुसन्धान एजेन्सीलाई उनको फिर्ताको जानकारी गराउनु पर्नेछ ।
अभिनेत्रीविरुद्ध सुकेश चन्द्रशेखरसँग मिलेर भारु २०० करोड हिनामिना गरेको आरोपमा ईडीले अनुसन्धान गरिरहेको छ ।