सन् २०२२ लाग्दा नलाग्दै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढ्न थालेकोे छ । सन् २०२२ को अप्रिल महिनामा ५८ हजार ३४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही महिनामा २२ हजार ४५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ को अप्रिल महिनामा एक लाख ९ हजार २९९ जनाले नेपाल भ्रमण गरेको तथ्यांक छ ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक हेर्दा यो वर्षको चार महिनामा एक लाख पुग्छ । यसरी नेपाल आउने विदेशी पर्यटकको बढ्ने क्रम जारी रहे पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको गुणस्तरका बारेमा भने अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
हालसम्म नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये उच्च आयका, मध्यम आयका, निम्न मध्यम आयकाको वार्षिक संख्या कति छ ? हामीसँग अलग अलग तथ्यांक छैन । हुनत पर्यटन क्षेत्र विश्वभर खराब स्थितिबाट गुज्रेर ठीकठीकैको अवस्थामा फर्कँदै गरेको छ ।
सन् २०१९ को अन्त्यमा चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएको ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) का कारण सन् २०२० र सन् २०२१ भर नै विश्वमा पर्यटकीय गतिविधि र पर्यटन व्यवसाय लगभग शून्य अवस्थामा थियो । फलतः सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा पनि लगभग ८१ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा एक लाख ३० हजार ८५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ मा दुई लाख ५१ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाली पर्यटन र पर्यटनमा गुणस्तरको चर्चा गर्दा छिमेकी भुटानसँग दाँज्नु उपयुक्त हुन्छ । त्यसैले यो लेखमा भुटान र नेपालको पर्यटन नीतिको धेरथोर चर्चा गर्ने जमर्को गरिएको छ । भुटान जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तैपनि, भुटानबाट हामीले विदेशी पर्यटन प्रवद्र्धनका सन्दर्भमा महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ ।
विगत लामो समयदेखि भुटानले गुणस्तरीय खर्चिलो पर्यटक भित्र्याउने नीति लिएको छ । भुटानको पर्यटन नीति नै खर्चिलो विदेशी पर्यटकमात्रै भित्र्याउने देखिन्छ । यसको भुटानले तुलनात्मक लाभ पनि बढी पाएको छ । त्यसैले नेपालले पनि पर्यटनसम्बन्धी नीति, नियम, ऐन, कानुन, कार्यविधिहरु बनाउँदो भुटानबाट धेरै सिक्न सक्छ ।
भुटान र नेपालको पर्यटनसम्बन्धी नीति, नियम, ऐन, कानुन, कार्यविधिहरुमा आकाशजमीनको फरक देखिन्छ । भुटानले आफ्नो देशमा विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो त्यसलाई प्रवेशाज्ञा दिँदैन । भुटानको ध्यान आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्या थोरै भए पनि गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्ने) होस्, भन्नेतर्फ गएको देखिन्छ ।
भुटानको पर्यटनसम्बन्धी सरकारी निकाय ‘टुरिज्म काउन्सिल अफ भुटान’ (टीसीबी) ले प्रकाशित गरेको भुटानको पर्यटन नीति तथा कार्यक्रममा कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै कम्तीमा प्रतिव्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नैपर्ने प्रावधान छ ।
भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, दृश्यावलोकन, जंगल सफारी, सांस्कृतिक अवलोकन, साइक्लिङ, पंक्षी अवलोकन आदिका लागि ‘अफ सिजन’ र ‘पिक सिजन’ गरेर दुई याममा विभाजन गरिएको छ । सोअनुसार विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । भुटान सरकारले तोकेको खर्चको सीमाअनुसार ‘अफ सिजन’ (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा भुटान घुम्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने ‘पिक सिजन’ (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) मा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । कुनै पनि विदेशी पर्यटक भुटानमा रहँदा तीन तारे होटलमा बस्नुपर्छ । चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टीसीबीले उल्लेख गरेको छ । साथै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजनाको समूह हुनैपर्ने नियम छ ।
भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट सिजनअनुसार लिने दैनिक दुईसय वा दुईसय पचास अमेरिकी डलरमध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि ट्रेकिङ÷ट्राभल अपरेटरहरुबाट सिधै कटौती गर्छ । त्यसरी छुट्याइएको रकम भुटानी जनताका लागि निःशुल्क शिक्षा, स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकास आदिका लागि भवन निर्माण आदिमा खर्च हुन्छ ।
त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । केही उदाहरणहरु हेरौँ — पाँच वर्षभन्दा कम उमेरका बालबालिका पर्यटक भए भिसा चार्ज ४० अमेरिकी डलरमात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च निःशुल्क हुन्छ । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी पर्यटक भए दैनिक शुल्कमा ५० प्रतिशत छुट दिन्छ । विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको पर्यटक भए दैनिक महसुलमा २५ प्रतिशत छुट दिन्छ ।
यस्तै, एघार जनाको समूह पर्यटक भए डेली प्याकेजमा एकजना पर्यटकलाई ५० प्रतिशत छुट दिन्छ भने १६ जनाभन्दा माथिको पर्यटक समूह भए एकजनालाई शत प्रतिशत छुट दिन्छ । कुनै पर्यटकले भुटानमा आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टी दस्तुरमा ५० प्रतिशत र १४ रातभन्दा बढी बिताएमा शत प्रतिशत रोयल्टी दस्तुर छुट दिन्छ ।
यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आप्mनो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवा र सुविधाहरु पनि दिएको देखिन्छ ।
भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये लगभग ६० (५८.७६) प्रतिशत ट्राभल÷टुर सञ्चालकमार्फत पहिले नै बुक गरेर आउँछन् । त्यस्तै भुटान आएका विदेशी पर्यटकमध्ये ८३.८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको बसाइ अवधि भने कम अर्थात् प्रतिपर्यटक ६.३५ दिन मात्रै हुन्छ । नेपाल वा अन्य देशमा जस्तो भुटानमा विदेशी पर्यटकहरु बिना गाइड आफूखुसी हिँंड्न/डुल्न पाउँदैनन् । तथ्यांक हेर्दा भुटान जाने २५–३० प्रतिशत विदेशी पर्यटक नेपालको बाटो भएर जाने गरेका छन् ।