जूनको आँगनमा
(मुक्तकसंग्रह : चूडामणि नेपाल ‘अकिञ्चन’)
शकुनीका ती जाली पासामा, दुर्योधनका हुङ्कार बढ्दै जान्छन्
गान्धारी, विदुर निरीह हुन्छन्, धृतराष्ट्रका अहंकार बढ्दै जान्छन्
खै कृष्णहरू ? द्रौपदीको चिरहरण भएको भएकै छ अझै यहाँ
मुखमा पट्टी बाँधेर बस पाण्डवहरू, अझ बलात्कार बढ्दै जान्छन् ।
कवि चूडामणि नेपाल ‘अकिञ्चन’को मुक्तकसंग्रह ‘जूनको आँगनमा’मा संगृहीत मुक्तकहरूमध्येको एउटा मुक्तक हो यो, जसले यति बेलाको समयलाई मिथसँग जोडेर प्रस्तुत गरेको छ । यस कृतिमा यस्तै यस्तै २७० वटा चतुश्पदीय मुक्तकहरू समावेश छ ।
कृतिको भूमिकामा साहित्यकार विवश पोखरेल लेख्छन्, ‘...मुक्तकसंग्रह ‘जूनको आँगनमा’ पनि यी कविले जीवन, समय र प्रकृतिका अनेकता प्रस्तुत गरेका छन् । जहाँ हाम्रै भोगाइका छाया र जीवनयात्राका पदचापहरू छन् । स्रष्टाले विषसँगै शब्द, भाव, विचार र अनुभूतिसँग खेल्न र तरंगित हुन सकेन भने मुक्तक मुक्तक हुन सक्दैन । शिल्पशैलीको चातुर्य पनि लेखनमा अपरिहार्य छ ।...।’
काँध बोकाएर अरूलाई, ठूला हुनेहरू छन्
राजनीति घोकाएर अरूलाई, ठूला हुनेहरू छन्
आकारमा जबरजस्ती अरूले ठूलो मान्दिनु पर्ने
सिङ ठोकाएर अरूलाई, ठूला हुनेहरू छन् ।
पुस्तकको प्रकाशकीयमा साहित्यकार दधिराज सुवेदी लेख्छन्, ‘कवि अकिञ्चनका काव्यशिल्पभित्र जीवन र जगत्, मानव र प्रकृत्ति, देशप्रेम र राष्ट्रियता, व्यंग्य–विद्रोह र पीडा, यौनको मनमोहकता र मादकता, आशा र निराशा, संगति र विसंगति, प्रेम र घृणा, रस र अलंकार, शब्द र सौन्दर्य, जनताका पीडा, सीमा र समस्या, मुटु र माटो, देश र परदेश, सम्पन्नता र विपन्नता, संस्कृति र संस्कार र भूगोल अनि देश, काल, परिस्थिति आदि सम्पूर्ण तत्वहरूको गहनका साथ अध्ययन गर्न पाइन्छ ।’
प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रकाशनमा ल्याएको ११२+४ पृष्ठको पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
० ० ०
आध्यात्म दर्शन
डा. पवित्रबहादुर खड्का
धर्म, संस्कृतिका पुस्तकहरू पनि निरन्तर प्रकाशित हुँदै आइरहेको छ । साहित्य र गैरसाहित्यसँगै धार्मिक ग्रन्थका पाठकहरू पनि छन् । जसको रोजाइमा यस्ता आध्यात्मिक चिन्तनका पुस्तक पर्ने गर्छ ।
हालसालै प्रकाशनमा आएको आध्यात्मिक ग्रन्थ हो, डा. पवित्रबहादुर खड्काको ‘आध्यात्मिक दर्शन’ । यस पुस्तकले आध्यात्मिक दर्शनका विभिन्न पाटाहरू समेटेको छ । थुप्रै विषयहरू समावेश भएको यस पुस्तकमा धर्म, स्वधर्म, आश्रम व्यवस्था, ईश्वर, मन, आत्मा, उपासना, शास्त्र, ज्ञानसहित मोक्ष र मृत्यु समेत गरी २९ वटा अध्यायमा अनगिन्ती विषय प्रस्तुत गरिएको छ ।
पुस्तकको प्राक्कथनमा लेखक उल्लेख गर्छन्, ‘म न संस्कृत भाषाको विद्वान् हुँ न हिन्दी, न नेपाली न कुनै आधुनिक भाषाको । यसबाहेक आध्यात्मिक विषयमा मेरो विशेष अनुभव पनि छैन । यस्तो स्थितिमा यस्तो गहन विषयमा लेख्न सुरु गर्नु मजस्तो अल्पज्ञको अनाधिकार चेष्टा हो । तथापि, आफ्नो आध्यात्मिक विचारलाई दृढ बनाउनका निमित्त पनि यो पुस्तक लेखेर प्रकाशित गर्ने धृष्टता गरेँ । यति गहन विषयको लेखन विनागुरुकृपा सम्भव छैन ।...।’
रत्न पुस्तक भण्डारले रत्न श्रेण्य ग्रन्थअन्तर्गत प्रकाशनमा ल्याएको ६६८+४ पृष्ठको यस ग्रन्थको मूल्य ७९५– रुपैयाँ राखिएको छ ।
० ० ०
खोलापारिकी आमा
(कवितासंग्रह : दिलीप श्रेष्ठ)
केही महिनाअघि प्रकाशनमा आएको दिलीप श्रेष्ठको काव्यकृति हो, ‘खोलापारिकी आमा’ । कविता लेखनमा निकैअघिदेखि सक्रिय श्रेष्ठको यसअघि पनि दुईवटा कृति ‘रेल चढेपछि’ र ‘जिन्दगीको यात्रा कहाँ रोकुँ’ प्रकाशनमा आइसकेको छ ।
यस कृतिको भूमिकामा साहित्यकार राजेन्द्र सुवेदीले लेखेका छन्, ‘...यस कविताकृतिका माध्यमबाट प्रकट भएका संवेदनागत स्थिति आजको नेपालको सामाजिक, संस्कृति, शासनशैली र संरचनात्मक संवेदना समेत सार्वजनिक भएको स्थितिमा कविलाई बधाईका साथ शुभकामना प्रकट गर्न पनि आवश्यक छ ।...।’
कवि दिलीप श्रेष्ठ लेख्छन्, ‘अतः कविता कवि विशेषको व्यक्तिगतजस्तो लागे पनि सिंगै समाजको विम्ब भएकोले कविताको भाव कविको हुँदाहुँदै पनि जिम्मेवारी कविले भन्दा समाजले लिएको हुनुपर्छ भन्ने मेरो धारणा हो ।...।’
२८ वटा कविता रहेको यस कृतिको शीर्ष कविता ‘खोलापारिकी आमा’ले भन्छ–
...तिनै आमाहरू मध्ये
एउटी अभागी आमा
एक दिन त्यही पुरानो तुइनसँग
स्कुल गएको छोरा माग्दै
छाती पिटीरहेको देखेँ....।
कृपा श्रेष्ठले प्रकाशनमा ल्याएको ११०+४ पृष्ठको कृतिको मूल्य १५०– रुपैयाँ राखिएको छ ।