स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी ठूला दलहरुभित्र मुखरित विद्रोहले तिनका नेताहरुको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि रहेको यथार्थ उजागर भएको छ । यसअघि स्थानीय निकाय भनिन्थ्यो । वर्तमान संविधान लागु भएपछि स्थानीय तह भनियो । थप महिमा मण्डित गर्न अहिले ‘स्थानीय सरकार’को विशेषण पनि दिइएको छ ।
निर्वाचनको मत परिणाम लगभग सार्वजनिक भइसकेको छ । बाँकी केही पालिकाको परिणामको संकेत देखिइसकेको छ ।
कथम् केही ठूलै भिन्नता आएबाहेक आधिकारिक घोषणा यसै साताभित्र हुने नै छ । वैशाख ३० मा भएको मतदानको पूरै परिणाम आउन दुई साता पर्खनु पर्यो । बाजुराको बूढीनन्दा गाउँपालिकामा भने मत गणना सुरु भएकै छैन । त्यहाँ विवाद छ ।
निर्वाचनको विजेता परिणाम कसले ठूलो पायो र को सानो भयो ? कसलाई फाइदा र बेफाइदा बेहोर्यो कसले ? यी सबै घोषित परिणामको आकडामा छन् । चुनावी चक्र यस्तै हुन्छ । कहिले को माथि, को तल । प्रजातन्त्र रहे, आवधिक निर्वाचन भइरहे पाँचै वर्ष त हो नि । अहिलेको स्थानीय तह चुनाव परिणाम त्यतिबेला फरक पर्नसक्छ ।
संख्यात्मक परिमाण भन्दापनि यसपटक आएको संकेत र सन्देश दल, तिनका नेता, कार्यकर्ता र संगठनलाई गम्भीर छ ।
सबैजस्तो चुनावमा स्वतन्त्र उम्मेदवार हुन्छन् । केहीले जित्छन्, अनौठो होइन । यसपटक पहिलेभन्दा धेरै उम्मेदवार स्वतन्त्रको नाममा उभिए र सबैले होइन, केहीले जिते पनि । विभिन्न पदमा गरी तीनसयभन्दा बढी स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जितेको समाचार आइरहेको छ ।
स्वतन्त्र उम्मेदवारको बढ्दो संख्या र जितले दिएको सन्देश दल र दलीय प्रणाली सञ्चालकहरुप्रति लक्षित छ । तिनको कार्यशैलीप्रति व्यक्त असन्तुष्टि स्वतन्त्रले प्रकट गरेका छन् । यस्तो संकेतप्रति दलका नेताहरुकोे ध्यान कति जाला ? भविष्यले बोध गराउला । स्वतन्त्र विजेताले कति काम गर्न सक्लान्, तिनलाई काम गर्न कति सहज होला ? तिनीहरुकै अनुभवले पछि बताउला ।
स्वतन्त्रभन्दा पनि गम्भीर मोड विद्रोहको हो । दलहरुभित्र यसपटक देखिएको आन्तरिक विद्रोहले दिएको सन्देश पनि नेताहरुकै कार्यशैली वा निर्णय प्रक्रियाप्रतिको विद्रोह हो । यतिमात्रै होइन, राजनीतिमा आफू वा व्यक्ति केन्द्रित सोच बढी भएको परिणाम पनि हो । आफू, आफ्नो वा तेरो, मेरो सोचले गरिने पन्पच्छेको प्रवृत्ति पन्पाउने नेताहरुकै अनुशीलन प्रेरणाले विद्रोह मौलाउँदै छ ।
नसच्चिए विद्रोह यतिमै रोकिने लक्षण छैन । यो प्रवृत्ति र विद्रोह स्थानीय तहको चुनावमा मात्रै सीमित हुने पनि होइन । अहिलेकै प्रवृत्ति पथमा हिँड्दा आगामी दिन अरु स्वतन्त्र र विद्रोही थपिने निश्चित छ । यो सल्किदो भुङ्ग्रोजस्तै हो । नेताहरुले तोड्दै आएको आआफ्ना दलको अनुशासन सम्बद्ध कार्यकर्ताले थप तोड्ने छन् । संकेत यही हो । नेताले नमान्ने विधान, अनुशासन कार्यकर्ताले सधैँ कति, किन मानिरहने ? नेताले कारबाही गर्दैजाने ? अन्ततः पार्टी रित्याउने ?
पद पाउने थामिएलान् । पदावधि समाप्तिको भोलिपल्टदेखि तिनैमध्ये धेरै विद्रोहको लागि स्वतन्त्र छन्, प्रेरित र प्रशिक्षित गरिएका छन् । यसपटक सबैभन्दा धेरै विद्रोही एमालेमा देखिएका छन् । ती धेरै प्रकट छैनन् गोप्य छन् । अर्थात् ‘अन्तर्घाती’ भनिने दर्जामा छन् ।
घोषित परिणामअनुसार प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पालिका प्रमुख र अध्यक्ष गरी २०५ स्थनमा जितेको छ । उप पदमा भने २३७ स्थान प्राप्त गरेको छ । दुई पदवीच ३२ सिटको अन्तर छ, किन ? आन्तरिक ‘भोटक्रस’को कारण । अर्थात् अन्तर्घात । यसको प्रमुख उदाहरण भरतपुर र पोखरा महानगरपालिकाको मत परिणाम हो ।
सत्य बिरलै स्वीकार गर्ने कम्युनिस्ट पथका नेता केपीशर्मा ओलीले यसपटक मुस्किलले नै सही सत्य स्वीकार गरेको सुनियो ।
उनले स्थानीय तह मत परिणामप्रति टिप्पणी गर्दै भने– आफ्नो पार्टीको हार ‘गठबन्धको कारणभन्दा आन्तरिक घातको परिणाम’ हो । सत्य यही हो, तर पूरा यतिमै हुँदैन ।
सरकारमा सम्मिलित दलीय गठबन्धन त कति ठाउँमा भएको थियो र ? ७५३ मध्ये मुस्किलले दुई सय स्थानमा मात्रै । गठबन्धन निर्देशन कति ठाउँमा पालना गरियो, कतिमा तोडियो वा आआफ्नै सुविधाअनुसार कति ठाउँमा अर्कै गठजोड पनि गरियो ।
सरकार सम्मिलित दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ३२७ स्थानमा प्रमुख जितिसकेको छ ।
सरसर्ती हेर्दा पालिकाहरूमा उपप्रमुख पदमा कांग्रेसका तीन सय प्रतिनिधि चुनिएका छन् । कांग्रेसको घट्दा एमालेको उपको पद संख्या बढेको छ । तर, प्रमुख वा उप जुनसुकै प्राप्त पद संख्या हेर्दा स्थानीय तहमा धेरै पदाधिकारी कांग्रेसकै हुने देखियो ।
एमाले ओरालो लाग्नुको कारण शर्मा ओलीले भनेजस्तै स्थानीय नेता, कार्यकर्ताको अन्तर्घातमात्रै भने होइन । एमाले अध्यक्ष ओली स्वयंले गरेको अन्तर्घातको परिणाम पनि अहिले एमालेले भोगेको हो । विजेतामध्येका अरुमा पनि धेरथोर घात, अन्तर्घात देखिए । एमालेको हात त थाप्लोमै पुग्यो । एमालेसँग गठबन्धन गर्नेहरुको त दुवै हात थाप्लोतिरै पुगे ।
एमाले अध्यक्ष ओलीले पूरा सत्य स्वीकार गर्न आफूले पार्टीभित्र वा पार्टीका नेताहरुलाई वा मनपरी टिकट बाँड्दा गरेको अन्तर्घातको समीक्षा गर्नुपर्छ । परिणामप्रति चित्त दुःखाइ गर्दा स्थापित प्रणालीमाथि बारम्बार खड्ग उज्याएको उनले सम्झिनुपर्छ । प्रतिपक्षी दलको नेता ओलीले संसद्को समय नौ महिना निरर्थक पार्ने कृत्यको परिणाम बुझ्नुपर्छ ।
अन्तर्घात एमालेमा बढी देखियो, सुनियो तर कांग्रेसमा पनि भयो । अरुमा नगण्य । कांग्रेसमा अन्तर्घातभन्दा विद्रोह बढी भयो ।
धेरैले पार्टी नै छोडे, धेरैलाई कारबाही गरी निष्कासित पारियो । गठबन्धनमा रहेकोले कांग्रेसका धेरै कार्यकर्ताले अरु चिन्हमा मत दिएनन् होला, रुख नै खोजे होलान् । त्यो अन्तर्घात होइन, गठबन्धनका कारण निष्ठा च्युत गर्न खोजिएको सोचको उपज विद्रोह हो ।
अन्त्यमा यसपटक स्वतन्त्र, अन्तर्घात, बागी, विद्रोह निकै भयो । यो चालु नेपाली राजनीति र तिनका नेतालाई भविष्यको संकेत पनि हो ? यस्तो संकेतलाई सम्बोधन गर्न दलका उपल्लो सिँढीमा आसीनहरुले भ्याउने छैनन् । जो मुखिया, तिनले बिगारेको तस्बिर सपार्ने जिम्मेवारी पाउने अबको पुस्ताले हो । तिनलाई युवा भनियोस् कि दायित्व बोध गर्ने नेतृत्व भनियोस् । आआफ्नै ‘मर्जी’।
दायित्व जहाँ संक्रमित हुँदैछ वा हुनेछ सम्बोधन पनि उसैलाई गर्नुपर्यो । अहिले निर्वाचित प्रतिनिधिलाई दलका युवा नेताहरुले प्रशिक्षित गरुन् । भ्रष्टाचार, पक्षपात र कसैप्रति अवाञ्छित मोलाहिजा नगरुन् । प्रशासन प्रक्रियामा सुशासन, पारदर्शी व्यवहार, स्वच्छ आर्थिक कार्य गरुन् । जनताको सच्चा सहयोगी बनून् । दलले यस्तै विषयमा प्रशिक्षित गरुन् । दायित्व ‘उदीयमान’ युवा नेतृत्वको हो ।
प्रशिक्षक वा युवा नेताहरु पनि यस्तै सही बाटो हिँडून् । यसविपरीत देखिने आआफ्ना प्रतिनिधिलाई कसुरअनुसार दण्डित गरुन्, दण्डित पारुन् । अलिकति आशा यही उदाउँदो पुस्तासँग छ । तबमात्र अन्तर्घात, बागी, विद्रोह नियन्त्रित होला । अन्यथा दलीय राजनीतिको लागि यही नै अग्राखमा पल्किएको र सल्किएको धमिरा सरह हो ।