वासिङटन । भारतले केही समय अगाडि मात्र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ भने अक्टोबरसम्म चिनीको विदेशी कारोबार पनि सीमित गराउने घोषणा गरेको छ । तर रुस युक्रेन युद्धपछि आकाशिएको खाद्यान्नको मूल्य नियन्त्रण गर्न निर्यात बन्द गर्ने यो पहिलो देश भने होइन ।
युक्रेन र रुस दुवै विश्वका ठूला खाद्यान्न उत्पादकमा पर्दछन् । यी दुईले मात्र विश्वभरको २९ प्रतिशत गहुँ उत्पादन गर्छन् । त्यसैले युद्धका बीच आपूर्तिमा अवरोध आउनुले अहिले विश्वव्यापी अभाव सिर्जना गराएको छ । भारतले गहुँ आयातमा रोक लगाउने निर्णय सुनाएदेखि यसको मूल्य ६ प्रतिशतले वृद्धि भइसकेको छ ।
अन्तर्राष्ट्रिय खाद्य नीति खोज संगठनले भनेको छ, “कोभिड १९ सम्बन्धित आपूर्ति अवरोधका कारण पहिले नै ठूलो स्तरको मूल्य वृद्धिले समस्यामा परेको विश्व खाद्य बजारको अवस्थालाई युक्रेन युद्धले थप संकटमा पारिदिएको छ ।”
यसमा २०२१ मै ८० प्रतिशतले वृद्धि भएको खेतीजन्य मलको निर्यातमा–चीन, किर्गिस्तान, रुस र युक्रेनले रोक लगाएपछि २०२२ को सुरुवातदेखि नै यसको भाउ थप ३० प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ । यसका कारण पनि खाद्यान्नको मूल्य आकाशिने क्रम नरोकिने भनिएको छ । त्यस्तै खडेरी, वातावरणीय प्रकोप, कोरोना अनि अहिले रुस युक्रेन युद्धको परिणाम स्वरूप यो संकट झन् गम्भीर बन्ने खतरा छ ।
यता खाद्यान्न निर्यातमा रोक लगाउने नीति एउटा देशले अपनाउन साथ अर्कोले पनि त्यसैलाई पछ्याउने चलनले पनि विश्व खाद्य बजारलाई चुनौती दिइरहेको छ । सबै मुलुक आफ्नो घरेलु मूल्य सुरक्षित राख्न चाहन्छन् । जसकारण अभावलाई रोक्न निर्यात बन्द गराइरहेका छन् ।
अहिले भारत बाहेक काजकिस्तान, किर्गिस्तान, इजिप्ट, सर्बिया, लेबानानले पनि गहुँ र अन्नको निर्यात बन्द गर्ने भएपछि यसको भाउ फेब्रुअरीदेखि मे महिनासम्म आइपुग्दा ६० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय विशेषगरी खाने तेल, मल र अन्नको भाउ आकाशिएको छ जुन अत्यावश्यक उपभोग्य वस्तुमा पर्दछन् ।
यसमा युक्रेनले मल, अन्न, तेल केही पनि निर्यात गर्न पाएको छैन भने यसअघि सरकारले सयौँ हजार टन अन्न उल्टै रुसले चोरेर लगेको आरोप लगाएको थियो । अफ्रिका र मध्यपूर्वको दैनिकी युक्रेनबाट निर्यात हुने खाद्यान्नले नै धानिरहेको थियो ।
त्यस्तै अर्जेन्टिनाले सोयाबिनको दाना र यसको तेल दुवैको निर्यातमा रोक लगाएको छ भने मासुको व्यापारमा पनि कडाइ अपनाइसकेको छ ।
अर्जेरियाले चाहिँ पास्ता, गहुँका उत्पादन, वनस्पति तेल र चिनीको बाहिरी व्यापार प्रतिबन्धित गरेको हो ।
इजिप्टले खाने तेल, मकै, गहुँ, मैदा, दाल, गेडागुडीको निर्यातमा रोक लगाएको छ ।
यसअघि इन्डोनेसियाले पाम तेलको निर्यात बन्द गर्ने घोषणा गरेपछि विश्वव्यापी चिन्ता व्यक्त गरिएको थियो । इन्डोनेसियाले मात्र विश्वको आधा भन्दा बढी पाम तेल उत्पादन गर्दछ । र सबै किसिमका खानेकुरामा पाम तेलको व्यापक प्रयोग हुने हुँदा यसबारे गम्भीर चिन्ता जनाइएको हो ।
यसैगरी इरानले चाहिँ आलु, भन्टा, टमाटर र प्याजको निर्यातमा रोक लगाएको छ ।
कोसोभोले गहुँ, मकै, मैदा, खाने तेल, नुन र चिनीको निर्यात बन्द गरेको छ ।
टर्कीले बिफ, खसीको मासु, बटर अनि खाने तेलको विदेशी कारोबार ठप्प पारेको छ ।
रुसले चिनी, सूर्यमुखीको बिउ, गहुँ, जौ, मकै लगायत अन्नको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
सर्बियाले चाहिँ गहुँ, मकै, मैदा अनि तेलको निर्यात बन्द गराएको छ ।
टुनिसियाले सबै फलफुल र तरकारीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
कुवेतले चाहिँ कुखुराको मासुजन्य उत्पादन, अन्न र वनस्पति तेलको निर्यात रोकेको छ ।
मलेसियाले पनि जुन १ देखि कुखुराको निर्यात बन्द गर्ने घोषणा गरेको छ । घरेलु बजारमा मासुको भाउ ह्वात्तै बढेपछि मूल्य नियन्त्रण गर्न यस्तो गरेको हो ।
भारतले चाहिँ गहुँ र चिनीको निर्यात बन्द गरेपनि खाने तेलको आयातलाई भने खुकुलो र सहज बनाइदिएको छ । चिनीको भाउ पनि पछिल्लो १२ महिनामा ३० प्रतिशतले वृद्धि भएको छ ।
यता आपूर्ति कठिन बन्दै गइरहेका बेला चीनले चाहिँ भारी मात्रामा गहुँ खरिद गरिरहेको खबर गरिएको छ जसले अभावको डरले भण्डारण गरी राखिरहेको हुन सक्ने अनुमान छ ।
त्यस्तै पकाउने तेलको मूल्य पनि नराम्ररी प्रभावित भएको छ । तर, काजकिस्तान, इजिप्ट, कोसोभो र टर्कीले खाने तेलको निर्यात बन्द गर्दा मलेसियाले चाहिँ निर्यात कर घटाउँदै पाम तेलको विश्वव्यापी अभाव समाधान गर्न मद्दत गर्ने बताएको छ ।
यसरी गहुँ, सूर्यमुखीको बिउ लगायतको भाउ बढ्दा कुखुरा, सुँगुर, गाई जस्ता जीवलाई खुवाउने आहारको मूल्य पनि वृद्धि भएको छ ।
भारत, थाइल्यान्ड र बेलायतमा अहिले नै कुखुराको मासुको मूल्य तीव्र रूपमा वृद्धि भइसकेको छ । त्यहाँ कुखुरा बिफ जत्तिकै महँगो भइसकेको बताइएको छ ।
यसरी पहिलोपटक कृषि उत्पादनको मूल्य वृद्धिले विश्वलाई यति ठूलो झट्का दिइरहेको विज्ञहरू बताउँछन् ।