काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ ।
ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने तय थियो ।
सलमान कार्यक्रमको अघिल्लो दिन आएर मन्त्री आलेसँग माउन्टेन फ्लाईटमा जाने समेत कार्यक्रम तय थियो ।
तर अन्तिम समयमा कार्यक्रम रोकिएको हो । यसबारे आयोजक टिमले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । कार्यक्रम केही समयका लागि स्थगित भएको हो वा हुँदै नहुने हो त्यो अन्योल नै छ ।
ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने यसबारेमा केही बताएका छैनन् । ‘दबंग टुर रिलोडेड’ नेपालमा दोस्रो पटक रोकिएको हो । यसअघि पनि टिकट सबै बिक्री भैसकेपछि अन्तिम समयमा कार्यक्रम रोकिएको थियो । यसपटक पनि आयोजकले टिकट बिक्री सुरु गरिसकेको थियो ।
सलमान लगायत टिमलाई नेपाल ल्याउन अपुग बजेटका कारण रोकिएको अनुमान गरिएको छ ।