मुम्बई । बलिउड निर्माता-निर्देशक करण जौहरविरुद्ध चोरीको आरोप लागेको छ । पहिलो गीत अनि दोस्रो स्क्रिप्ट चोरीको आरोप लागेको हो । पाकिस्तानी गायक÷राजनीतिज्ञ अबरार उल हकले गीत चोरीको आरोप लगाएका हुन् ।
गायक अबरारका अनुसार करणको रिलिजको तयारीमा रहेको चलचित्र ‘जुगजुग जियो’ मा उनको गीत चोरी गरेको छ ।
गायक अबरारले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै करणलाई आफ्नो गीत नबेचेको तर पनि उनले ‘जुगजुग जियो’ मा आफ्नो गीत चोरेर प्रयोग गरेको दावा गरेका छन् । यति मात्रै नभएर उनले यसका लागि कानुनी बाटो रोज्नेसमेत उल्लेख गरेका छन् । चलचित्रको ‘नाच पंजाबन’ गीत आफ्नो भएको र करणले चोरेको आरोप गायकले लगाएका हुन् ।
“मैले मेरो गीत ‘नाच पंजाबन’ कुनै पनि भारतीय चलचित्रका लागि बेचेको छैन । मसँग यसबाट भएको नोक्सानी दावा गर्न अदालत जाने अधिकार छ । करण जौहर जस्तो निर्माताले गीत चोर्नु हुँदैनथ्यो । यो मेरो छैटौं गीत हो, जसको कपी गरिएको छ र यसको कपीको अनुमति म पटक्कै दिन्नँ” गायक अबरारले ट्विटरमा लेखेका छन् ।
त्यस्तै, ट्विटरमार्फत नै ‘विशाल ए सिंह’ नामक एक व्यक्तिले करणविरुद्ध सोही चलचित्रलाई लिएर स्क्रिप्ट चोरीको आरोप लगाएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, “मैले जनवरी २०२० मा स्क्रिप्ट राइटर्स असोसिएसन इन्डियासँग ‘बन्नी रानी’ शिर्षकमा एउटा कथा दर्ता गराएको थिएँ । मैले यो कथा २०२० फेब्रुअरीमा करण जौहरको धर्मा प्रोडक्सनलाई आधिकारिक मेल गरेको थिएँ ताकि धर्मासँग मिलेर यो चलचित्र सह–निर्माण गर्न सकुँ । उनले मलाई जवाफ पनि दिएको थियो । तर, अहिले आएर उनले मेरो कथा चोरे । मेरो कथामा उनले ‘जुगजुग जियो’ निर्माण बनाइदिनुभयो । करण जौहर, यो ठीक होइन ।”
यसबारे करणले अहिलेसम्म केही जवाफ दिएका छैनन् । वरुण धवन, अनिल कपूर, कियारा आडवाणी, नीतू कपुर र मनीष पालको मुख्य भूमिका रहेको उनको कमेडी ड्रामामा आधारित चलचित्र यही जुन २४ मा रिलिज हुँदै छ ।