वीरगञ्ज । पर्साका १४ वटा स्थानीय तहमध्ये हालसम्म सार्वजनिक मत परिणामअनुसार पुराना जनप्रतिनिधिबाट जनता असन्तुष्ट रहेको स्पष्ट भएको छ । पदमा रहँदा र अवसर पाएको बेलामा पनि नागरिकको मन जित्न नसकेका जनप्रतिनिधिलाई जनताले पुनः अवसर दिन नचाहेको पर्सा जिल्लाको मत परिणामले बताउँछ ।
पर्सामा सबैभन्दा पहिला मतपरिणाम सार्वजनिक भएको जिराभवानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा (एमाले)का रामप्रित महतो एकहजार २६१ मतको फराकिलो अन्तरले पराजित भए । गत निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका महादेव प्रसाद महतो थारूका छोरा अनोज चौधरीसँग रामप्रित पराजित भएका हुन् । अनोजले ४ हजार ५६० मत ल्याउँदा रामप्रित ३ हजार २९९ मतमै समेटिए ।
बिन्दवासिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) का श्रीलाल साह कानु एकहजार ४६० मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमोद तिवारीसँग पराजित भए । तिवारीले दुईहजार २३४ मत पाउँदा कानु ७७४ मतमै सीमित भए ।
गत निर्वाचनमा कानु नेपाली कांग्रेसका चन्द्रकिशोर प्रसाद बरैसँग ८ मतले विजयी भएका थिए ।
गत निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा उमेदवारी दिएका लक्ष्मणप्रसाद चौरसियाकी श्रीमती ज्योतिदेवी चौरसिया यसपटक एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
पर्सा जिल्लाको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान मेयर दिपनारायण रौनियार पनि दुई हजार ४३३ मतले हार बेहोरे । गत निर्वाचनमा नेपाली जनता दलबाट निर्वाचित भएका रौनियार अहिले नेपाली कांग्रेसबाट उमेदवार बनेका थिए । उनी एमालेका प्रधुमन प्रसाद चौहानसँग पराजित भएका हुन् । निर्वाचनअघि रौनियारले स्थानीय टेलिभिजनको कार्यक्रममा आफू एकहजारभन्दा बढी मतले विजयी हुने दाबीसमेत गरेका थिए ।
पर्सागढी नगरपालिकाका निवर्तमान मेयर लोकनारायण यादव पनि दुईहजार ८९१ मतको फराकिलो अन्तरले पराजित भए । गत निर्वाचनमा कांग्रेसबाट ६७ मतले विजयी भएका यादवलाई यसपटक उनकै प्रतिद्वन्द्वी एमालेका गोकर्ण पाठकले फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाठकले ६ हजार ६२४ मतका साथ पर्सागढीको प्रमुखमा निर्वाचित भएका छन् ।
पटेर्वासुगौली गाउँपालिका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले पनि लज्जास्पद हार बेहोरे । गत निर्वाचनमा ८२ मतले पराजित भएका कांग्रेसका दिनेश कुमार चौधरीले यसपटक एमालेका हरिनारायणलाई दुईहजार मतको फराकिलो मतले पराजित गरे । हरिनारायण ३ हजार ९४४ मतमै सीमित हुँदा दिनेशले पाँच हजार १४४ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का पदमलाल (पिएल) श्रेष्ठले जितेको ठोरी गाउँपालिकामा यसपटक एमालेका लालबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । पर्सा जिल्लामै माओवादी केन्द्रको सबैभन्दा बलियो पकड भएको मानिने ठोरीमा एमालेले जितेसँगै माओवादीको किल्ला भत्किएको छ । गत निर्वाचनमा पिएलसँग ४३४ मतान्तरले पराजित भएका दिनेशले यसपटक पिएललाई ७ सय २० मतले हराएका छन् ।
पकाहमैनपुर गाउँपालिकावासी पनि जसपाबाट निर्वाचित अध्यक्ष विजयकुमार चौरसियाको कामबाट सन्तुष्ट नरहेको मतपरिणामले बताउँछ । यसअघि १८१ मतले पराजित भएका कांग्रेसका सुरेश प्रसादलाई गाउँवासीले अवसर दिएका छन् । सुरेशले चारहजार ६८५ मत पाउँदा निवर्तमान अध्यक्ष चौरसियाले दुईहजार ५२९ मत प्राप्त गरे ।
धोबिनी गाउँपालिकामा भने निवर्तमान अध्यक्ष नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मीका दाई वशिष्ट नारायणप्रसाद कुर्मीलाई पार्टीलाई टिकट दियो । तर, वशिष्ट जसपाका मदनप्रसाद चौहानसँग २१ मतले पराजित भए । मदन गत निर्वाचनमा जसपाबाट अध्यक्षमा उमेदवारी दिएर दोस्रो स्थानमा रहेकी सुशिला देवीका श्रीमान हुन् ।
बहुदरमाई नगरपालिकाका निवर्तमान मेयर नेपाली कांग्रेसका नितेन्द्रप्रसाद साह पनि ४८८ मतले पराजित भएका छन् । गत निर्वाचनमा स्वतन्त्रबाट लडेर चौथो स्थानमा रहेका र अहिले जसपाबाट लडेर विजयी भएका सिंगासन साह तेलीसँग नितेन्द्र पराजित भएका हुन् । नितेन्द्र पाँचहजार ५१६ मतका साथ तेस्रो स्थानमा रहँदा ६ हजार ४ मत पाएर तेली निर्वाचित भएका हुन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँ मनसुरीले यसपटक आफ्ना भाइ महमद सलिम मनसुरीलाई एमालेबाट उमेदवार बनाए । गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जालिमले यसपटक एमालेबाट भाइ सलिमलाई उमेदवार बनाएपनि उनी अहिले तेस्रो स्थानमा छन् । गत निर्वाचनमा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादवले अहिलेसम्म भएको मत गणनामा अग्रता बनाएका छन् ।
सखुवा प्रसौनी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष जसपाका प्रदीपकुमार जैसवाल धेरै मतले पछाडि हुँदा उनी पनि दोहोरिने अवस्थामा देखिँदैनन् । गत निर्वाचनमा स्वतन्त्रबाट उमेदवारी दिएका जसवन्त यादव फराकिलो मतान्तरले जैसवालभन्दा अगाडि छन् । गत निर्वाचनमा स्वतन्त्रबाट उमेदवारी दिएर चौथो स्थानमा रहेका यशवन्त यसपटक एमालेबाट जितको नजिक छन् । यादवको जित सुनिश्चित छ भन्दा पनि फरक नपर्ला ।
कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष नथुनी कुशवाहले कोरोना संक्रमणका कारण ज्यान गुमाए । तत्कालीन संघीय समाजवादी फोरमबाट उपाध्यक्षमा निर्वाचित भएका राजेशकुमार चौरसियालाई जसपाले टिकट नदिएपछि एमालेबाट अध्यक्षमा लडेका थिए । एक हजार ३१७ मत पाएर चौरसिया तेस्रो स्थानमा रहे भने त्यहाँ जसपाबाट २१ वर्षीय वशिष्ट कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता गत निर्वाचनमा अध्यक्षमा दोस्रो स्थानमा रहेकी लालसा देवी कलवारका भतिजा हुन् ।
पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता भने पुनः दोहोरिने सम्भावना देखिन्छ । हालसम्म भएको मत गणनामा गुप्ताले नै अग्रता लिएको हुँदा उनलाई त्यहाँका जनताले पुनः अवसर दिन सक्ने सम्भावना देखिन्छ ।
वीरगञ्ज महानगरपालिकामा पनि निवर्तमान मेयर विजयकुमार सरावगी पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहभन्दा धेरै पछाडि छन् । ३२ वटा वडामध्ये १२ वटा वडाको गणना हुँदासम्म सरावगी झण्डै ९ हजारभन्दा बढी मतले पछाडि रहेको हुँदा उनी पनि पुनः दोहोरिने अवस्था देखिँदैन ।