site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
स्थानीय निर्वाचनको आंशिक समीक्षा

स्थानीय तहको मत परिणाम घोषित हुने क्रम जारी छ र पचास प्रतिशतभन्दा बढी तहको मत परिणाम सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक परिणामसँगै विभिन्न कोणबाट समीक्षासमेत सुरु भएको छ । 

गणनाको यही शैली कायम रहे बाक्लो जनघनत्व र लाखभन्दा माथि मतदाता रहेका ठूला नगरको परिणाम सुन्न अरु दुई चार दिन पर्खनुपर्ने देखिएको छ । यसैले समीक्षाको पूर्ण पाटो पनि बाँकी नै रहन्छ । तैपनि, दलहरुले त्यस्ता तहमा लिएको अग्रताको आधारमा केही अनुमानित विश्लेषण थालिएको छ । यद्यपि, अहिलेको अग्रताको तस्बिरमा केही फेरबदल हुने सम्भावनालाई पनि पन्छाउन सकिँदैन । 

स्थानीय तहको चुनाव सम्पन्न भयो । समीक्षाको सबैभन्दा गहन आधार यही हो । वर्तमान संविधानको क्रियाशीलतापछि स्थानीय तहमा भएको दोस्रो निर्वाचन पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले सम्पन्न गरेको छ । पहिलो निर्वाचन पनि कांग्रेस नेतृत्वकै सरकारले गराएको थियो । त्यतिबेला सबै तहको निर्वाचनमा कांग्रेसले  अनपेक्षित पराजय भोगेको हो । 

KFC Island Ad
NIC Asia

अहिले स्थानीय तहको मात्रै निर्वाचन भएको छ । अरु दुई तह प्रदेश र संघको चुनाव पनि सन्निकट छ । ती चुनावसमेत यही सरकारले गराउने प्रबल सम्भावना छ । अनेक व्यवधान र वैधानिक अप्ठ्यारा पार गरेर वर्तमान सरकारले आवधिक चुनावको प्रतिबद्धतालाई सकुशल पूरा गरेको छ । 

चुनावमा जनताको अभिमत अभिव्यक्त हुने हो, भयो । सरकारले संवैधानिक प्रतिबद्धता पनि यो चरणमा सम्पादित गर्यो । सतहत्तर जिल्लाका ७ सय ५३ स्थानीय पालिकाका ३५ हजारभन्दा बढी जनप्रतिनिधि एकै चरणमा चुनिने कार्यमा राज्यले आफ्नो क्षमतालाई पुनर्पुष्टि पनि गरेको छ । राज्य संयन्त्रअन्तर्गतकै निर्वाचन आयोगको सफलता पनि हो चुनाव । 

Royal Enfield Island Ad

संघीय लोकतान्त्रिक संविधान २०७२ मा घोषित र स्वीकृत भएपछि स्थानीय तहको एकै चरणमा चुनाव सम्पन्न गरिएको यो पहिलोपटक हो । विगत २०७४ मा भएको स्थानीय तह पहिलो निर्वाचन तीन चरणमा पूरा गरिएको थियो । यो संविधानभन्दा अगाडिका केही चुनावहरु एकै चरणमा पनि भएका हुन् । 

आवधिक निर्वाचनप्रतिको प्रतिबद्धता पूरा गर्ने वर्तमान मिलिजुली सरकार, सरकारी संयन्त्र र समग्रमा राज्य संयन्त्र सबै धन्यवाद र बधाईका पात्र हुन् । मतदाता नागरिकले निर्वाचनप्रति देखाएको जागरुकता र सहभागिता जति प्रशंसनीय छ त्यति नै नागरिक तहले चुनाव गराउने सरकारलाई धन्यवाद दिनैपर्छ । किनभने सरकार र प्रतिपक्षले प्रजातान्त्रिक अभ्यासको आधार आवधिक चुनावी प्रक्रियालाई पथभ्रष्ट (डिरेल) गरेनन् । 

राजनीतिक दल तिनका नेता, कार्यकर्तामा कमजोरी छन् र ती कतिपय सार्वजनिक नै छन् । तिनै कमजोरीको जगमा केही स्वतन्त्र र बागी, विद्रोही उम्मेदवारको उपस्थिति सशक्त भएको टिप्पणी गरिँदैछ । यसको अर्थ दल र तिनको नेतामा सबै कमजोरी मात्र छन्, तिनमा सबल र राम्रा पक्ष चाहिँ छँदैछैनन् भन्ने भने होइन । स्वतन्त्र वा बागी, विद्रोही उम्मेदवारमध्ये केहीले चुनाव जित्छन्, जितेका पनि छन् । यसपटक र यसअघि पनि । 

तैपनि, यस्ता उम्मेदवार वा विजेता समाधान होइनन् गम्भीर सन्देश हुन् । दलीय प्रणालीमा स्वघोषित स्वतन्त्रहरुले पूरै मुलुक जित्ने र विजेता यस्ता उम्मेदवारले मुलुकी व्यवस्थापन चल्ने होइन । चल्ने कल्पनासमेत गर्न सकिँदैन । यसैले यस्ता उम्मेदवार चेतावनी हुन्, राजनीतिक दलहरुलाई सुध्रिन सन्देश दिने प्रत्यक्ष माध्यम हुन् । 

अर्कोतर्फ स्वतन्त्र उम्मेदवार वा चुनावमा बागी, विद्रोही हुने कारण दल र नेताहरुमात्रै पनि होइनन् । र, नेपालमा मात्रै यस्तो भएको पनि होइन । यसो हुनुका विभिन्न कारक हुन्छन् र ती बुझिने नै हुन्छन् । उदाहरण लिऊँ काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र(बालेन) शाहको । 

शाहले जित्लान् वा हार्लान् तर उनले यहाँका उम्मेदवारबीच अहिलेसम्म पाएको सर्वाधिक लोकप्रिय मत दलहरुप्रतिको वितृष्णामात्रैको प्रतीक हो त ? लाग्छ, त्यसको केही अंश सत्य हो तर पूरा कारण योमात्रै होइन । कतै ती मतभित्र काठमाडौंमा (अन्यत्र पनि हुन्छ) बाहिरिया र भित्रिया मनोविज्ञानको प्रभाव पनि छ कि ? अन्य कारण पनि होलान् ती धेरै खोतल्ने काम छैन, बुझ्ने काम हो ।  स्वतन्त्रहरुले पहिलेभन्दा अहिले कति बाजी मार्छन् ? परिणामपछि तुलना हुने नै छ । यिनै दललाई ठोकठाक पारेर सुधारेर लानेबाहेक अर्को विकल्प यतिबेला हामीसँग छैन ।  

समीक्षाको अर्को पाटो मत परिणाम र दलहरुबीचको मेलमिलाप, लेनदेन वा गठबन्धन छ । गठबन्धनले दलीय धु्रवीकरण पनि बोध गराएको छ । दलीय प्रणालीमा दलगत ध्रुव र ध्रुवीकरण दुवै स्थिति बन्छन् । यस्ता ध्रुवहरु सैद्धान्तिक, व्यावहारिक वा परिस्थितिजन्य पनि बनाइन्छन् । 

यहाँ या स्थानीय तहको निर्वाचनमा दलहरुका आआफ्नै धु्रव र दलहरु सम्मिलित ध्रुवीकरण पनि भएको छ । अर्थात् मिश्रित, धु्रव र ध्रुवीकरण । अहिलेको चुनावमा कतै दलहरुबीच एक्लाएक्लै प्रतिस्पर्धा छ कतै गठबन्धन स्पर्धा भएको छ – ध्रुव पनि ध्रुवीकरण पनि । 

पाँच दल सम्मिलित सरकार छ जसलाई गठबन्धन भन्ने परिचयले प्रसिद्धि दिएको छ । यही गठबन्धन केही चुनावी मोर्चामा सँगसँगै छ । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि गठबन्धनमै ध्रुवीकृत देखियो । आंशिक वा पूर्ण दुई गठबन्धन देखिए ।

पहिलोलाई लोकतान्त्रिक वाम गठबन्धन भनिएको छ । त्यो ध्रुवीकरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा । यो गठबन्धन नै  सरकारमा पनि छ । 

अर्कोतर्फ प्रतिपक्षी धु्रवीकरण वा गठबन्धनमा एमाले, राप्रपा, लोसपा, राप्रपा (नेपाल), जनमत पार्टी र परिवार दललगायत सम्मिलित छन् । गठबन्धनको हिसाबले दलहरुबीच दुईवटा धु्रवीकरण देखिए । दलहरुको आआफ्नै ध्रुव पनि छँदैछन् । 

दुई ध्रुवीय आकारको राजनीतिक भविष्य कस्तो होला ? तर यस्ता ध्रुवीकरण फेरिन सक्छन्, विगतमा फेरिएका पनि छन् । त्यसैले अनिश्चित आकारको ध्रुवीकरणको भविष्य निश्चित भन्न सकिँदैन ।  

हाल बने बनाइएको ध्रुवीकरणमा सैद्धान्तिक आधार कम र व्यावहारिक सत्ताको आकर्षण बढी छ । तर, सरकारमा आसीन गठबन्धनले संवैधानिक प्रावधानलाई अघि बढाउने प्रतिबद्धता सार्वजनिक गरेको हो । यस्तो प्रतिबद्धताले अलिकति सैद्धान्तिक ‘फ्लेअर’ दिन्छ । संविधान लोकतन्त्र निर्देशित छ र त्यसलाई प्रक्रियागत ढाँचा दिन खोज्नुको बाटो लोकतन्त्रकै हुनजान्छ ।  यस्तो सैद्धान्तिक अंशमा गठबन्धको इमान कति हो भन्ने प्रश्न भने छँदैछ । 

अर्को, मत परिणाममा गठबन्धनको प्रभाव भन्ने हो । पहिलो सर्त कति स्थानीय निकायमा के कस्तो गठबन्धन उम्मेदवारी रह्यो भन्ने तथ्यांक प्रस्ट हुन आवश्यक छ । तिनमा कति हारे, कति जिते ? यो पनि निक्र्योल जरुरी छ । त्यसपछि गठबन्धनको प्रभाव परिणामको आकलन धेरै सही निस्केला । 

गठबन्धनको खास उपलब्धि भने माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको देखिन्छ । माओवादीको त भन्नै परेन, यही दलका नेताहरुले उपलब्धिको सगौरव घोषणा गरेकै छन् । रह्यो एकीकृत समाजवादीको गुनासो । यस दलका नेताले आफ्नो धरातलीय यथार्थ लुकाउन खोजेका छन् । 

एकीकृत समाजवादीसँग तीनओटा विकल्प थिए । पहिलो आफू एक्लै चुनावमा होमिने, दोस्रो माओवादीसँग मात्रै मिल्ने, तेस्रो विकल्प यही गठबन्धन रोज्ने । 

गठबन्धनबाहेक अरु दुई विकल्पमध्ये कुनै एक रोजेको भए यो दलको हैसियत एक, दुईमै खुम्चिने निश्चित नै हो । यो दल एमालेमा अहिल्यै विलय हुन जान्थेन होला ? पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा नेतृत्वको अवसर यही गठबन्धनको उपहार हो नेकपा एसलाई । यो पंक्ति लेख्दासम्म एसले नौ स्थानीय तह जितेको छ र एघारमा अगाडि छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले फाइदा दिएन भन्ने घुर्की त लगाए तर एक्लै चुनावमा गएको भए   हैसियत के हुन्थ्यो ? एमालेबाट विभाजित जहाँ डेढ दर्जन जति सांसद् होलान्, केन्द्रीय नेतृत्व एक दुईबाहेक छैनन् । संगठन निर्माण गर्नै नभ्याएको र जनाधार अत्यन्त फितलो रहेको यस दलले यथार्थमा गठबन्धनबाट सबैभन्दा धेरै प्राप्ति गरेको छ ।

यसबाट स्पष्ट हुन्छ    प्रदेश र संघको आगामी चुनावमा बढी हिस्सा खोज्न र आफूलाई ‘बाघ’ देखाउने हुँकारको ‘हिस्स’ हैसियतबाट अरुको ध्यान अन्यत्र मोड्न तिकडम तर्क नेपालले दिएका हुन् । 

गठबन्धनको क्षति त सबैभन्दा बढी नेपाली कांग्रेसले बेहोर्नु परेको छ । गठबन्धनलाई सिद्धान्तविपरीत मान्ने चर्को आवाज र चिरा कांग्रेसले नै बेहोर्नु पर्यो । स्थानीय तहमा केही सिट संख्या थपिएका होलान् । परिणाम सबै आएपछि प्रस्ट हुने नै छ । पुग नपुग एक तिहाइ स्थानीय तहमा गठबन्धन भएको हो । गठबन्धनले दिएको सिट संख्याभन्दा दोब्बर त नेपाली कांग्रेस एक्लैले जितेको छ । गठबन्धनले भरतपुर, पोखरा र हेटौँडामा देखाएको रौनक किन काठमाडौँमा देखिएन ? 

कांग्रेसभित्रै बागी, विद्रोही धेरै देखिए । कार्यकर्ता भाँडिए । कांग्रेसको इतिहास निर्माणका हिस्सा कैयन् नेता, कार्यकर्ता पार्टीबाटै निष्कासित गरिए । भरतपुरका जगन्नाथ पौडेल र कृष्णलाल सापकोटालगायत पुराना नेता, कार्यकर्ता आफ्नै पार्टीको चुनाव चिन्ह रुखमा मत दिन पाऊँ भन्दा निष्कासनमा परे, पारिए । जगन्नाथ पौडेलले खिचेको मत प्रतिक्रियात्मकरुपमा सूर्यतिर घोप्टिने अधिक सम्भावना थियो । यसपटक कुनै हालतमा ‘हँसिया हथौडा’मा मत दिन नचाहने कांग्रेस मत पौडेलले तानिदिए । परिणाम रेणु दाहालको सम्भावित जितलाई सहज बाटो बनेको हुनुपर्छ ।  

रह्यो एमालेको कुरा । अहिले पनि ऊ दोस्रो स्थानमा छ । यसअघिका उसका सबै नकारात्मक कृत्यको परिणाम हो यो ।

नकारात्मक कामको सकारात्मक फल खोज्नु अर्को मुख्र्याइँ हो । थप धाँधली र सत्ता बल मिच्याइको अनर्गल हल्ला मचाउने धुत्र्याइँ गर्दैछ एमाले । उसले जितेको ठाउँमा स्वच्छ निर्वाचन, अरुले जितेकोमा धाँधली देख्ने एमाले विचित्र चरित्र संसद्प्रति गरेको अन्यायमै खुलेको हो ।   

त्यत्रो भारिभरकम बहसमतको सरकार टिकाउन नसकेको एमालेका अहिलेका अध्यक्ष केपी शर्मा ओलीले सबैको अस्तित्वलाई तिरस्कृत गरेकै हुन् । विधि, विधान, नागरिक र प्रेस स्वतन्त्रता थिचेकै हुन् । संवैधानिक निकायलाई जकेट्दै एकीकृत मनपरी गर्न खोजेकै हुन् ।

बित्थामा दुई दुईपटक संसद् विघटन गरिदिएकै हुन् र पुनस्र्थापित संसद्लाई बेअर्थ नौ महिना बन्दी बनाए । लामो समय निस्फल पारेर संसद् खुलाएको नकच्चरो प्रदर्शन अहिले एमाले गर्दैछ । देशको क्षमता, नागरिकको अधिकार संसद्को हुर्मत लिएकै त हो । यस्ता कुकृत्य गर्दा पनि एमालेले स्थानीय तहमा जुन प्रकारको जित पायो त्यो अनौठो हो र हामी मतदाताको समीक्षा क्षमताको लाछी प्रदर्शन पनि हो । 

सबै परिणाम घोषणापछि स्थानीय तह प्रतिनिधिको कस्तो चित्र र कार्यदिनमा देखिने चरित्र चित्रण आगामी दिनका समीक्षात्मक विषय हुन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro